काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मानवीय क्षतिका साथ सडक, पुल र जलविद्युत् आयोजनाका संरचना ध्वस्त मात्र पारेन, यसले नेपालको पुँजीबजारमा पनि ठूलो धक्का दिएको छ ।
बाढीको प्रत्यक्ष क्षति केही आयोजनामा केन्द्रित भए पनि त्यसको प्रभाव भने सेयर बजारमा व्यापक रूपमा देखिएको छ । बाढीपछि जलविद्युत् कम्पनीका लगानीकर्तामा बढेको अनिश्चितता र जोखिमको मनोविज्ञानले सम्बन्धित कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट ल्याएको छ ।
नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार बाढीबाट प्रत्यक्ष प्रभावित सात जलविद्युत् कम्पनीको सेयर मूल्य बाढी आएको दिनदेखि सोमबारसम्म औसतमा २०.९१ प्रतिशतले घटेको छ । तीमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ३०.१६ प्रतिशतले घटेको छ । रसुवागढी हाइड्रोपावरको सेयर मूल्य २९.४९, त्रिशूली जलविद्युतको २९.२० र चिलिमे हाइड्रोपावरको २२.२९ प्रतिशतले घटेको छ ।
त्यसैगरी माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य १६.२३, सान्जेन जलविद्युत्को १०.९५ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ८.०८ प्रतिशतले घटेको छ ।
बाढीले आयोजनाको संरचनामा पु¥याएको क्षति लगानीकर्ताको मनोविज्ञानमा समेत गहिरो प्रभाव पारेको छ । आयोजना पुनः सञ्चालन हुन लाग्ने समय, पुनर्निर्माणको लागत, बिमा दाबीको रकम, बिमा भुक्तानीको समय र उत्पादन बन्द हुँदा कम्पनीको आम्दानीमा पर्ने प्रभाव आकलन गर्दै लगानीकर्ताहरू क्षतिग्रस्त आयोजनाका सेयर बिक्री गर्न लालायित भएका छन् ।
बाढी आएको दिन नै बजारमा ठूलो गिरावट
भदौ १० गते भोटेकोशी नदीमा बाढी आएको खबर सार्वजनिक भएपछि सेयर बजारमा तत्कालै ठूलो दबाब देखिएको थियो । उक्त दिन नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा झरेको थियो ।
जलविद्युत् उपसमूहमा त्यसको असर अझ तीव्र देखिएको थियो । एकैदिन जलविद्युत् समूहको सूचक १ सय ४ अंकभन्दा बढीले घटेको थियो । निर्जीवन बिमा समूहमा समेत करिब ४ सय ९० अंकसम्मको गिरावट देखिएको थियो ।
बाढीबाट भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी करिब ७ सय ४८ मेगावाट क्षमताका आयोजना प्रभावित भएको प्रारम्भिक अनुमान सार्वजनिक भएपछि लगानीकर्ताको चिन्ता थप बढेको थियो ।
प्रारम्भिक क्षतिको विवरणसँगै आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय र पुनर्निर्माण खर्चबारे विभिन्न अनुमान सार्वजनिक हुन थालेपछि बजारमा अनिश्चितता थपिएको थियो ।
जलविद्युत् जोखिमसँगै बिमा कम्पनी पनि दबाबमा
जलविद्युत् आयोजनाको संरचनामा क्षति हुँदा त्यसको आर्थिक भार बिमा कम्पनीसम्म पुग्ने भएपछि निर्जीवन बिमा कम्पनीका सेयरमा समेत उल्लेख्य दबाब देखिएको छ ।
बिमा कम्पनीले जलविद्युत् आयोजना, प्रसारण लाइन, निर्माणाधीन संरचना र अन्य पूर्वाधारमा बिमा सुरक्षा प्रदान गर्ने भएकाले यसको प्रभाव देखिएको लगानीकर्ताहरू बताउँछन् ।
सेयर लगानीकर्ता संघ नेपालका ताराप्रसाद फुलेल बाढीबाट यस्ता संरचनामा ठूलो क्षति हुँदा बिमा दाबी बढ्ने र दाबी बढेपछि बिमा कम्पनीको सम्भावित दायित्व पनि बढ्ने हुँदा यस्तो प्रभाव देखिएको बताउँछन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा क्षति २६ अर्ब रुपैयाँभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्राधिकरणमा हालसम्म ५८३ वटा बाढीसम्बन्धी दाबी २५ अर्ब ८७ करोड रुपैयाँ बराबरको परेको विवरण सार्वजनिक भएको छ ।
समग्र नेप्सेमा भने सीमित प्रभाव
बाढीपछि जलविद्युत् कम्पनीमा ठूलो गिरावट आए पनि समग्र सेयर बजारमा आएको गिरावट तुलनात्मक रूपमा सीमित छ । बाढी आउनु अघि अर्थात भदौ ९ मा नेप्से परिसूचक २५९४.२७ विन्दुमा थियो । भदौ २२ अर्थात सोमबारसम्म आइपुग्दा परिसूचक २५६०.८४ विन्दुमा झरेको छ । यस अवधिमा नेप्से १.२८ प्रतिशतले घटेको हो ।
यस अवधिमा निर्जीवन बिमा समूह ८.२६ प्रतिशतले घटेको छ । जलविद्युत् समूह ४.११, अन्य समूह ४.३१, म्युचुअल फन्ड ३.६२, जीवन बिमा २.२२, वित्त १.४८, होटल तथा पर्यटन १.०७ र लघुवित्त ०.५५ प्रतिशतले घटेका छन् । विकास बैंकमा पनि ०.३३ प्रतिशतको गिरावट आएको छ ।
अर्कोतर्फ उत्पादन तथा प्रशोधन समूह ३.२५, बैंकिङ समूह ०.६९ र व्यापार उपसमूह ०.६४ प्रतिशतले बढेका छन् । यसले बाढीको प्रभाव सबै क्षेत्रलाई समान रूपमा नपरेको देखाएको छ ।
पुनर्निर्माणबाट उत्पादनमूलक क्षेत्रमा आशा
बाढीबाट ठूलो भौतिक क्षति भएपछि पुनर्निर्माणको काम बढ्ने अपेक्षाले केही उत्पादनमूलक कम्पनीको सेयरमा सकारात्मक प्रभाव परेको छ ।
सिमेन्ट, स्टिल, निर्माण सामग्री र अन्य पूर्वाधारसँग सम्बन्धित उद्योगले पुनर्निर्माणबाट माग बढ्ने अपेक्षा गरिएको छ । यही कारण उत्पादन तथा प्रशोधन समूहमा सकारात्मक गतिविधि देखिएको हो । २०७२ सालको विनाशकारी भूकम्पपछिको समयमा पुननिर्माणले द्रुत रुप लिंदा आर्थिक वृद्धि भएका कारण अहिले उत्पादन तथा प्रशोधन क्षेत्रको सेयरमा सकारात्मक वृद्धि भएको हुनुपर्ने बुझाइ बजार लगानीकर्ता विकास अधिकारी बताउँछन् ।
तर पुनर्निर्माणको वास्तविक गति र सरकारी तथा निजी क्षेत्रबाट हुने खर्चको आकार स्पष्ट भएपछि मात्र यसको दीर्घकालीन प्रभाव मूल्यांकन गर्न सकिने उनको भनाइ छ ।
चार दिनदेखि बजार सुधारको बाटोमा
बाढीपछिको तत्कालीन दबाबपछि सेयर बजारमा पछिल्ला चार कारोबार दिनदेखि सुधार देखिएको छ ।
सोमबार नेप्से परिसूचक १८.०७ अंक अर्थात् ०.७१ प्रतिशतले बढेर २५६०.८४ विन्दुमा बन्द भएको छ । कुल ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
३५२ कम्पनीका ९२ लाख ९८ हजार कित्ता सेयर ५० हजार ८४४ पटक कारोबार भएका छन् । कारोबार भएका कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ ।
निर्जीवन बिमा समूह २ प्रतिशतभन्दा बढीले बढेको छ । जलविद्युत् समूह पनि ०.५१ प्रतिशतले बढेर ३५१४.७५ विन्दुमा पुगेको छ । बजारमा देखिएको सुधारले बाढीपछिको तत्कालीन त्रास केही कम भएको संकेत गरेको छ ।