नेभिगेशन
अर्थतन्त्र

राहत कोषमा ११.९५ अर्ब संकलन

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढी र पहिरोले पु¥याएको क्षतिपछि देश तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा  ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र २ वटा डलर खातामा २ करोड ११ लाख ०८ हजार ४७१ अमेरिकी डलर मौज्दात छ । डलरलाई रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको हो ।
यो विपद्अघिको  २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो । मंगलबार एकै दिन ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 
हालसम्ममा राहत तथा उद्धार कार्यका लागि सरकारले भदौ १६ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपैयाँ मात्रै निकासा गरेको छ । बाढी प्रभावित स्थानीय तहहरूमा आवश्यकताका आधारमा परिचालन उक्त रकम परिचालन भइरहेको प्राधिकरणले जनाएको छ । सरकारले बाढीबाट भएको ठूलो क्षतिलाई मध्यनजर गर्दै तत्काल उद्धार र राहतका लागि कुल २० अर्ब रुपैयाँको बजेट व्यवस्थापन गरेको छ ।
अर्थमन्त्रालयका अनुसार पहिलो चरण र थप गरी बाढी प्रभावित ३ जिल्लाका १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ । जसअनुसार विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ र तारकेश्वर गाउँपालिकाका लागि ५०÷५० लाख तथा जिल्लाका लागि छुट्टै एक करोड रुपैयाँ दिइएको छ । 
यसैंगरी भोटेकोशी बाढीबाट मुख्य प्रभावित रसुवाका लागि तत्काल एक करोड रुपैयाँ उपलब्ध गराइएको छ भने धादिङमा राहत तथा उद्धारका लागि तत्काल ५० लाख रुपैयाँ पठाइएको छ ।
केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रमा विस्थापितको पुनस्र्थापना र पूर्वाधार विकासको योजना अघि सारिसकेको छैन । आपतकालीन उद्धारको काम मात्रै गरिरहेको छ । विपद्सँग सामना गर्न वातावरणीय हानि नोक्सानीवापत राष्ट्रसंघमै क्षतिपूर्ति दाबी गर्ने सरकारी तयारी भइरहँदा प्रभावित क्षेत्रमा अघि बढाइने योजना सार्वजनिक हुन बाँकी छ । भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई राज्यले उपयोग गर्न सक्ने अनुभव रहेकाले गृहकार्य गरिनुपर्ने देखिएको छ ।
कुन बैंकमा कति मौज्दात ? 
अर्थ मन्त्रालयका अनुसार  राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी अर्थात ३ अर्ब ४८ करोड ६४ लाख ३४ हजार ७ सय २७ रुपैयाँ जम्मा भएको छ ।  यसैंगरी एभरेष्ट बैंकमा २ अर्ब २६ करोड ४५ लाख ९३ हजार ४ सय २९ रुपैयाँ जम्मा छ । त्यस्तै नबिल बैंकमा ६६ करोड २६ लाख ९४ हजार १७३ मौज्दात छ । 
ग्लोबल आइएमई बैंकको खातामा भने ५९ करोड ९६ लाख २० हजार ४५० रुपैयाँ जम्मा भएको छ । हिमालयन बैंकको विपद् व्यवस्थापन कोष खातामा ५६ करोड ३१ लाख ७ हजार ८०५ रुपैयाँ रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा रहेको खातामा ४१ करोड ६१ लाख ६२ हजार ६०८ छ । त्यस्तै नेपाल बैंकमा २७ करोड ५१ लाख ८० हजार ५०७ रुपैयाँ जम्मा छ । कृषि विकास बैंकमा २५ करोड ५८ लाख ४६ हजार २८८ रुपैयाँ र लक्ष्मी सनराइज बैंकमा २४ करोड २६ लाख २९ हजार ६५५ रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
विदेशी दाता, गैरआवासीय नेपाली संघ र अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त हुने डलर खातातर्फ  हिमालयन बैंकमा १ करोड २० लाख ८२ हजार २१ अमेरिकी डलर र लक्ष्मी सनराइज बैंकको डलर खातामा ९० लाख २६ हजार ४५० अमेरिकी डलर जम्मा भएको छ ।
अर्थ मन्त्रालयका अनुसार विपद्को सुरुवाती चरणमा नागरिक तवरबाट, दोस्रो हप्तामा संस्थागत र व्यावसायिक घरानाहरूबाट ठूला रकमहरू जम्मा भएको छ । 
एनभिडियाको ऐतिहासिक एक करोड डलर सहयोग 
विपद्को समयमा सबैभन्दा ध्यानाकर्षण गराउने र ऐतिहासिक सहयोग अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाबाट प्राप्त भएको छ । भदौ मा एनभिडियाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको डलर खातामा एक करोड अमेरिकी डलर जम्मा गरेको हो ।
विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स र चिप निर्माता कम्पनीले  प्राकृतिक विपद्मा देखाएको यो संवेदनशीलताले नेपालको राहत प्रयासलाई अन्तर्राष्ट्रियकरण गरिदिएको छ । यसले विश्वव्यापी प्रविधि कम्पनीहरूलाई पनि नेपालप्रति ध्यान आकर्षित गर्न सहयोग पु¥याएको छ ।
कुन दिन कति सहयोग
बाढीले ठूलो क्षति पु¥याएपछि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने क्रम तीव्र भयो । विपद्अघि कोषमा करिब २ अर्ब ८ करोड २४ लाख बराबरको मौज्दात थियो ।
भदौ ११ देखि २३ गतेसम्मको अवधिमा ठूलो मात्रामा नयाँ रकम जम्मा भएपछि कोषको कुल मौज्दात करिब १२ अर्ब रुपैयाँ पुगेको हो ।
भदौ ११ गते पहिलो दिन नै १ अर्ब १६ करोड २८ लाख रुपैयाँ जम्मा भएको थियो । भदौ १२ मा अझ बढेर १ अर्ब २६ करोड ५ लाख रुपैयाँ पुग्यो ।
त्यसपछि भदौ १३ मा  ६८ करोड २३ लाख, भदौ १४ मा ५ करोड ८१ लाख, भदौ १५ मा ६३ करोड २३ लाख, भदौ १६ मा ४८ करोड ७३ लाख र भदौ १७ मा ९२ करोड १३ लाख संकलन भएको मन्त्रालयले जनाएको छ । 
भदौ १८ मा पुनः  १ अर्ब १९ करोड ८१ लाख रुपैयाँ, भदौ १९ मा ५७ करोड ३७ लाख, भदौ २० मा ७ करोड ९० लाख, भदौ २१ मा ५ करोड ९३ लाख, भदौ २२ मा ३० करोड २० लाख र भदौ २३ मा ३० करोड ६२ लाख थपिएको छ । 
खर्च प्रक्रियामा जटिलता 
कोषमा जम्मा भएको रकम प्रधानमन्त्री कार्यालयबाट निर्णय भई मन्त्रालय हुँदै प्राधिकरण र त्यसपछि स्थानीय तहसम्म रकम पुग्न लामो र झन्झटिलो कानुनी प्रक्रिया पार गर्नुपर्ने अवस्था छ । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त गरेको एक अर्ब रुपैयाँ पनि तल्लो तहसम्म पूर्ण रूपमा वितरण र परिचालन गर्न नसकेको गुनासो स्थानीय तहहरुले गरेका छन् । संघ, प्रदेश सरकार र स्थानीय तहबीच स्रोतको बाँडफाँड र वास्तविक पीडित पहिचानमा प्रभावकारी समन्वय हुन नसक्दा रकम निकासामा ढिलाइ भएको पनि बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्