नेभिगेशन
अर्थतन्त्र

जीवन बिमामा ३३ प्रतिशतको वृद्धि

नयाँ व्यवसायभन्दा नवीकरण पाँच गुणा बढी, एक महिनामै २६ अर्ब २२ करोड बिमाशुल्क संकलन

काठमाडौं । जीवन बिमा व्यवसायमा नयाँ आर्थिक वर्षको सुरुवात उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही महिनामा १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको थियो । एक वर्षमै बिमाशुल्क संकलन ३३.४४ प्रतिशतले बढेको हो ।
बिमा प्राधिकरणका अनुसार साउनमा १४ जीवन बिमा कम्पनीले ३ लाख ८५ हजार ९ सय २१ वटा बिमालेख जारी गरेका छन् । गत वर्षको साउनमा यस्तो संख्या २ लाख ८४ हजार १ सय ७६ थियो । अर्थात् नयाँ बिमालेख जारी गर्ने क्रम पनि ३५.८० प्रतिशतले बढेको छ ।
कम्पनीहरूले साउनमा उठाएको कुल बिमाशुल्कमध्ये नयाँ व्यवसायबाट आएको रकमभन्दा पुराना बिमालेखको नवीकरणबाट आएको रकम झन्डै पाँच गुणा बढी छ । १४ कम्पनीले प्रथम बिमाशुल्कबाट ४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ उठाउँदा नवीकरण बिमाशुल्कबाट २१ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ संकलन गरेका छन् ।
यसले जीवन बिमा कम्पनीहरूको आम्दानीको ठूलो आधार नयाँ ग्राहक थप्नुभन्दा पुराना ग्राहकलाई बिमालेखमा टिकाइराख्नु बनेको देखिएको छ । कुल बिमाशुल्कमा नवीकरणको हिस्सा करिब ८३ प्रतिशत र प्रथम बिमाशुल्कको हिस्सा १७ प्रतिशत मात्रै छ ।
समग्र जीवन बिमा व्यवसायमा लघु जीवन बिमा कम्पनी र वैदेशिक रोजगार म्यादी जीवन बिमा पुललाई समेत जोड्दा साउनमा २६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । कुल बिमालेख संख्या ७ लाख ४१ हजार ५ सय २१ पुगेको छ भने कुल बिमांक रकम २६ खर्ब ७ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
नेपाल लाइफको दबदबा कायमै
जीवन बिमा बजारमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीले साउनमा ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । १४ जीवन बिमा कम्पनीले उठाएको कुल बिमाशुल्कमध्ये नेपाल लाइफको हिस्सा करिब २६ प्रतिशत छ ।
नेपाल लाइफले गत वर्षको साउनमा ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ बिमाशुल्क उठाएको थियो । यस वर्ष कम्पनीको व्यवसाय १२.९३ प्रतिशतले बढेको छ । साउनमा कम्पनीले ३४ हजार २ सय ४५ वटा बिमालेख जारी गरेको छ भने बिमांक रकम १० खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । प्राधिकरणको तथ्यांकमा नेपाल लाइफको प्रथम बिमाशुल्क १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ र नवीकरण बिमाशुल्क ५ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
दोस्रो स्थानमा राष्ट्रिय जीवन बिमा कम्पनी छ । कम्पनीले ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । गत वर्षको साउनमा ४३ करोड रुपैयाँको हाराहारीमा मात्रै सो कम्पनीले बिमा शुल्क संकलन गरेको थियो । यसको वृद्धिदर ८२० प्रतिशतभन्दा माथि पुगेको छ । 
नेसनल लाइफ इन्स्योरेन्स २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ बिमाशुल्कसहित तेस्रो स्थानमा छ । कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा २०.६५ प्रतिशतले बढेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ संकलन गर्दै चौथो स्थान हासिल गरेको छ । कम्पनीको वृद्धिदर १३.११ प्रतिशत छ । एलआईसी नेपालले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ बिमाशुल्क उठाएको छ । कम्पनीको वृद्धिदर ४.९८ प्रतिशत छ ।
त्यसपछि सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख, एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख, सिटिजन लाइफले ९६ करोड १ लाख र आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।
सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख, प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख, मेटलाइफले ६० करोड २८ लाख र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ संकलन गरेका छन् । प्राधिकरणका अनुसार १४ वटै जीवन बिमा कम्पनीको साउनको कुल बिमाशुल्क अघिल्लो वर्षको तुलनामा बढेको छ ।
नयाँ व्यवसायमा पनि नेपाल लाइफ अगाडि
नयाँ ग्राहक र नयाँ बिमालेखमार्फत आउने प्रथम बिमाशुल्कमा पनि नेपाल लाइफ नै अगाडि छ । कम्पनीले साउनमा १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेको छ ।
नयाँ व्यवसायमा नेसनल लाइफ ५३ करोड २२ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ । सूर्यज्योति लाइफले ३२ करोड २८ लाख, हिमालयन लाइफले ३० करोड ५३ लाख र सिटिजन लाइफले २९ करोड ७६ लाख रुपैयाँ प्रथम बिमाशुल्क उठाएका छन् ।
आईएमई लाइफले २५ करोड ४९ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले २४ करोड ८९ लाख, एलआईसी नेपालले २३ करोड ५२ लाख, रिलायबल नेपाल लाइफले १९ करोड १ लाख र एसियन लाइफले १८ करोड ९४ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेका छन् । प्रभु महालक्ष्मी लाइफले १८ करोड ४२ लाख, मेटलाइफले १४ करोड २७ लाख, सानिमा रिलायन्स लाइफले १४ करोड ९ लाख र सन नेपाल लाइफले १० करोड ७४ लाख रुपैयाँ प्रथम बिमाशुल्क उठाएका छन् ।
आधा कारोबार बागमतीमै
साउनमा समग्र जीवन बिमा व्यवसायबाट संकलित २६ अर्ब ६२ करोड २० लाख रुपैयाँमध्ये बागमती प्रदेशबाट मात्रै १३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ उठेको छ । यो कुल कारोबारको ४९.२५ प्रतिशत हो । अर्थात् देशभरको जीवन बिमा कारोबारको करिब आधा हिस्सा एउटै प्रदेशमा केन्द्रित छ । बागमतीमा २ लाख ४४ हजार ४ सय ६२ वटा बिमालेख जारी भएका छन् ।
बागमतीपछि लुम्बिनी प्रदेशमा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँ, कोशी प्रदेशमा ३ अर्ब ८ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ । गण्डकीबाट २ अर्ब ५३ करोड ८१ लाख, मधेशबाट २ अर्ब १२ करोड ३२ लाख, सुदूरपश्चिमबाट १ अर्ब ३७ करोड ५८ लाख र कर्णालीबाट ७४ करोड ५३ लाख रुपैयाँ बिमाशुल्क उठेको छ ।
कर्णाली प्रदेशको हिस्सा कुल बिमाशुल्कमा ३ प्रतिशतभन्दा कम छ 
सावधिक बिमामा बढी आकर्षण
साउनमा सावधिक जीवन बिमाबाट मात्रै १३ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । यसअन्तर्गत ४४ हजार ६ सय ९२ वटा बिमालेख जारी भएका छन् ।
अग्रिम भुक्तानी सावधिक जीवन बिमाबाट ४ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ, बालबच्चासम्बन्धी सावधिक बिमाबाट ३ अर्ब ५५ करोड ६ लाख र रूपान्तरित सावधिक जीवन बिमाबाट २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ ।
सावधिक जीवन बिमा एक यस्तो जीवन बिमा योजना हो, जसले बीमित व्यक्तिको निश्चित अवधिसम्म आर्थिक सुरक्षा प्रदान गर्नुका साथै उक्त अवधि पूरा भएपछि एकमुष्ट रकम उपलब्ध गराउँछ ।
एकल बिमाशुल्क जीवन बिमाबाट ७१ करोड ५२ लाख र आजीवन जीवन बिमाबाट ५२ करोड ३० लाख रुपैयाँ संकलन भएको तथ्यांकमा उल्लेख छ ।
वैदेशिक रोजगार म्यादी जीवन बिमाबाट २९ करोड ४९ लाख रुपैयाँ र लघु जीवन बिमाबाट २५ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ । म्यादी जीवन बिमाबाट १२ अर्ब ८० लाख रुपैयाँ तथा अन्य जीवन बिमाबाट ३२ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्