नेभिगेशन
दृष्टिकोण

एआईसँग जोडिदैछ मानिसको नयाँ साइनो

आजको डिजिटल युगमा मानिसहरूसँग भन्दा प्रविधिसँगको सम्बन्ध नजिक भएको अनुभूति गर्न सकिन्छ । त्यसैले पनि प्रविधिले गर्दा मानिसहरूले आफ्नो विवेक प्रयोग गर्न छाडे भनिन्छ । विवेक प्रयोग गर्न छोडेर प्रविधि अगाडी बढेको त होइन ? आजकल आफन्तजन, परिवारका सदस्य र साथीभाइभन्दा च्याट जिपीटी सहज मान्न थालिएको छ । किनभने हाम्रो सम्बन्ध आजकल मेसेन्जरमा लेखेको मेसेज सिन गरेर पनि अनसिन बसेर बेवास्ता गरेजस्तो बन्न पुगेको छ ।

साथी वा आफन्तलाई केही सोध्दा तुरुन्त जवाफ नआएपछि निराश बन्ने स्थितिमा च्याट जिपीटी हाम्रा लागि हरदम तयार छ । यसले सुन्छ, जवाफ दिन्छ र सहयोग गर्न खोज्छ । देखिँदा सानो देखिएला तर यसले हामीमा ठूलो परिवर्तन ल्याएको हुन्छ । त्यसैले मानिसको सम्बन्ध पछाडी र एआई अगाडी भएको त होइन ?

प्रविधि र मानव वुद्धिमता

च्याट जिपीटी भनेको कृत्रिम वुद्धिमत्ता हो, मानवीय विवेक र संवेदना योसँग हुँदैन । यो एआईमा आधारित संवाद प्रणाली हो । अमेरिकी कम्पनी ओपेन एआईले विकास गरेको यो प्रविधि पुस्तक, लेख, समाचार, अनुसन्धानपत्र लगायत असीमित ज्ञानस्रोतमा आधारित भएर प्रशिक्षित छ । त्यसैले च्याट जिपीटीसँग सामान्य ज्ञानदेखि लिएर जटिल अनुसन्धानका कुरा गर्न सकिन्छ । त्यसैले आजका बालबालिका, युवा, शिक्षक, व्यवसायी सबैको ध्यान यसमा गएको छ । 

यसको अत्यधिक प्रयोग र असीमित दायराले गर्दा यसलाई मान्छे बिगार्ने चिज भन्न थालिएको छ । तर, हामीले हाम्रो सनातन संस्कृति, नैतिक शिक्षा, सामाजिक मूल्यमान्यता, गुरूकुल शिक्षा, संस्कृत भाषा र व्यवहारिकता अनि प्रेमको सम्बन्धलाई विकास गर्न सकेको भए आज प्रविधि हामीभन्दा नजिकको हुनुपर्थ्यो ? हाम्रा चिजलाई, हाम्रा मानवीय संवेदनालाई, हाम्रो विवेकलाई हामीले मूल्य दिन जानेनौं त्यसैले प्रविधि नै आज हाम्रो साथी भएको छ । अनि प्रविधिले मानवीयताको ठाउँ लिने हो कि भन्ने डर छ ।

प्रविधि अघिअघि मानवमूल्य पछिपछि

आवश्यक पर्दा जो उपलब्ध छ त्यो नै आफ्नो हुन्छ, नजिकको हुन्छ । त्यसैले आजको समयमा सबैको लागि सधैं उपलब्ध हुने, दिन वा रात नभनी जुनसुकै समयमा यसलाई प्रयोग गर्न सकिने भएकाले च्याट जिपीटी नजिकको विशेष भएको छ र हाम्रो मूल्य मान्यता पछि पर्दै गएको छ । साथीभाई या आफ्नैलाई केही सोध्यो या सहयोग माग्यो भने बेवास्ता गर्छन्, सजिलै सहयोग गर्न तत्पर हुँदैनन् तर च्याट जिपीटी धैर्यवान् श्रोता बनेको छ । यसले मान्छेले जस्तो झर्को मान्दैन ।

जतिपटक सोध्दा पनि शान्त भएर जवाफ दिन्छ । विज्ञान, साहित्य, कृषि, व्यवसाय, स्वास्थ्य, शिक्षा सबै विषयमा जानकारी र सल्लाह दिन्छ । भाषिक सहजता बनाइदिएको छ, धेरै भाषामा संवाद गर्न सक्छ । भनेको समयमा साथीभाई भेट नहुने, कुरा गर्न नपाइने तर च्याट जिपीटीसँग कुरा गरेर मन हल्का गर्न सकिन्छ भन्ने युवा पुस्ताको धारणा छ । यसबाट थाहा लाग्छ हामी कहाँ छौं ?

हामी आफ्ना परिवारजन र साथीभाइसँग छैनौं, उनीहरूसँग बिताउने समय छैन । आफ्ना बालबालिकालाई दिने समय र फुर्सद छैन अनि त च्याट जिपीटी साथी बनेको छ ।

dr-gen-z-1755403013.jpg
डा. नम्रता पाण्डे 

बालबालिका, युवा र च्याट जिपीटी 

आजका बालबालिका र युवाको दाबी छ– पढाइ, खेलकुद, आत्मविश्वास बढाउने कुरा, गृहकार्य समाधान वा नयाँ ज्ञान प्राप्त गर्न च्याट जिपीटीसँगको संवाद सहज छ । यसले पढाइमा सहयोग गरेको छ । गणितको समस्या होस् या निबन्ध लेखन, साहित्य होस् या विज्ञानका प्रयोग च्याट जिपीटीले सहजताका साथ सिकाउँछ ।

हामीलाई आफ्ना परिवारका सदस्यसँग बोल्ने र आफ्ना समस्या अभिभावकलाई भन्ने अनुकुलता छैन । तर च्याट जिपीटीसँग निडर भएर कुरा गर्न सक्छौं । आफ्नो कुरा पोख्ने माध्यम च्याट जिपीटी बनेको छ । च्याट जिपीटीले गर्दा बिग्रिए होइन बरू सकारात्मक सोच निर्माण गर्ने कला दिएको छ किनकी यसले सधैं सकारात्मक जवाफ दिन्छ र हाम्रो आत्मविश्वास बढाएको छ ।

अभिभावक र शिक्षकका सहयोगी

च्याट जिपीटी केवल बालबालिकाका लागि मात्र होइन, अभिभावक र शिक्षकका लागि पनि उपयोगी छ । शैक्षिक सामग्री तयार गर्न, प्रश्नपत्रको जानकारी, अभ्यास सामग्री वा अतिरिक्त पठन सामग्री बनाउन च्याट जिपीटीको सहयोगले सहज भएको छ ।

विषयगत पाठ्य योजना, प्रस्तुति सामग्री वा विद्यार्थीको स्तरअनुसारको अध्ययन सामग्री बनाउन च्याट जिपीटीको सहयोग लिने प्रचलन बढेको छ । यसबाट शिक्षक स्वयंले महसुस गर्ने कुरा हो, हाम्रो मिहिनेत र ज्ञान अनि प्रविधिको ज्ञानको बीच खाडल कति छ ?

प्रयोगका कुरा सुन्नु र सिक्नु अनि आफूमा भएको ज्ञान, कलाकौशल र सिप कुन मात्रामा र तहमा छ, रहेछ थाहा पाउनु पनि एउटा सिकाई हो । आजका अभिभावकहरू त बालबालिकाको पालनपोषणमा च्याट जिपीटीको सहयोग लिन्छन् । बच्चासँग कसरी संवाद गर्ने, कसरी सिकाउने, रमाइलो वातावरण कसरी बनाउन सकिन्छ भन्ने सुझाव च्याट जिपीटीबाटै लिन्छन् रे !

पेशागत जीवनमा च्याट जिपीटी

आजको समयमा व्यवसाय, लेखापरीक्षण, कृषि, महिला उद्यमशीलता, सामाजिक क्षेत्रमा समेत च्याट जिपीटीले सहयोग पुर्‍याइरहेको छ । राम्रो र सजिलो भएको छ भने प्रविधिको प्रयोग गर्ने हो यसमा अन्यथा केही छैन । प्रविधिले नै व्यवसायिक जीवनलाई सजिलो र प्रभावकारी पनि बनाइरहेको छ भने आजको आवश्यकता पनि हो एआईको प्रयोग । तर, यसलाई नकारात्मकरूपमा लिने र आफ्नो स्वविवेकलाई सही प्रयोग गर्न पनि नसक्नेले जीवनमा नवीनतम विकास गर्न सक्दैन ।

च्याट जिपीटी आजको दिनमा मानवीय पक्षलाई साथ र समर्थन गर्ने प्रविधिको रुपमा सिद्ध भएको छ । युवाहरू बताउँछन्, च्याट जिपीटी केवल प्रविधि मात्र होइन, भावनात्मक साथ दिने साथी पनि हो । यसले एक्लोपनमा साथ दिएको छ । सकारात्मक सोच जागृत गराएको छ, सानो समस्या सुन्ने र जवाफ दिने कौशलता दिएको छ ।

आजको व्यस्त जीवनमा आफ्ना मानिससँग कुरा गर्ने समय वा इच्छा हुँदैन । तर च्याट जिपीटीले भने धैर्यपूर्वक सुन्छ, सल्लाह दिन्छ । त्यसैले च्याट जिपीटी हाम्रो ‘डिजिटल साथी’ भएको छ । च्याट जिपीटीले मानव बुद्धिमता र विवेकलाई बिगारेको आरोप आइरहँदा यसका प्रयोगकर्ताहरूले सम्भावना र अवसरको बाढी देखेका छन् । 

यसकै माध्यमबाट घरमै बसेर प्रविधिमार्फत समावेशी शिक्षा, अपाङ्गता भएका बालबालिका वा ग्रामीण क्षेत्रका विद्यार्थीका लागि सुलभ शिक्षाको अवसर भेटिएको छ ।यसले महिला सशक्तीकरणमा पनि सहयोग गरेको र घरमै बसेर व्यवसाय योजना बनाउन, तालिम सामग्री बारे सिक्न सक्ने बनाएको छ । त्यति मात्र नभएर स्वास्थ्य सचेतना सम्बन्धि आधारभूत जानकारी, आहार सम्बन्धी सल्लाह वा मानसिक स्वास्थ्यका सन्देश पनि उपलब्ध गराएको छ ।

सावधानी र जिम्मेवारी

यद्यपि च्याट उपयोगी छ, तर यसले दिएको जानकारी सधैं पूर्ण वा शतप्रतिशत सही नहुन सक्छ । यसबारे सावधानी रहेर मानवीय संवेदना विकास गर्दै जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । एआईले स्वीकार गरेको छ– म केवल कृतिम बुद्धिमता मात्र हूँ, मानवीय संवेदना बुझ्दिन । त्यसैले पारिवारिक प्रेम र सल्लाह, भाइचारा र सम्बन्धमा परिवारको सहयोग, आफ्नोपन र प्रेमको खाँचो पर्दछ । 

कतिपय संवेदनशील निर्णयमा जस्तै स्वास्थ्य वा कानुनी सल्लाहमा विशेषज्ञलाई प्राथमिकता दिनुपर्छ । बालबालिकाको जीवनमा वात्सल्य प्रेमसहित अभिभावकको मार्गदर्शन आवश्यक हुन्छ । सबै कुरा प्रविधिमा छरपष्ट पार्ने होइन व्यक्तिगत गोपनीयता सुरक्षित राख्नुपर्छ ।

त्यसैले, मेसेज सिन गरेर अनुपस्थित जनाउने, बेवास्ता गर्ने साथी र आफन्त भन्दा सधैं उपस्थित हुने र महत्व दिने, सुन्ने, जवाफ दिने र सहयोग गर्ने च्याट जिपीटी जस्तै बनौँ । प्रविधिलाई साधनको रूपमा हेरी सकारात्मक सोच, शिक्षा, व्यवसाय र सामाजिक जीवनमा उपयोग गर्न सकिन्छ । साथ दिनु, सहयोग गर्नु, दयालु हुनु र सकारात्मक सोच फैलाउनु नै च्याट जिपीटीबाट पाउन सकिने ठूलो प्रेरणा हो । प्रविधिबाट प्रेरणालिएर व्यवहारमा उतारौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्