नेभिगेशन
दृष्टिकोण

भलिबल खेलबाट खेलाडीको आश

नेपालमा हालैका वर्षमा खेलकुदमा व्यावसायिकता मौलाउँदै गएपछि सम्बन्धित खेलका खेलाडीमा केही हदसम्म भए पनि राहतको महसुस हुन थालेको छ । नेपालमा खेलेर बाँच्न सकिने अवस्था नभएपछि वैदेशिक रोजगारका लागि विभिन्न खेलका प्रतिभाशाली खेलाडी विदेशिनेक्रम बढिरहेका अवस्थामा निजी क्षेत्रको सक्रियतामा खेलकुदका प्रतियोगिता हुन थालेपछि त्यसले सकारात्मक वातावरण सिर्जना गरेको छ । क्रिकेट, फुटबल, बास्केटबल, कबड्डी तथा भलिबलजस्ता खेलका खेलाडीले फ्रेन्चाइज लिगका कारण नेपालमै खेलेबापत पारिश्रमिक पाउनु व्यावसायिक अभ्यासको सुखद संकेत मानिएको छ ।     
यसैक्रममा नेपालमा विगत कैयौं वर्षदेखि हिमालदेखि तराईसम्म लोकप्रिय मानिएको भलिबल अब खेलमा मात्र सीमित नभएर युवालाई भविष्यको सम्भावनाको ढोका खोल्ने स्थितिमा पुगेको छ । मनोरञ्जनका साथै खेलाडीबीच आपसी प्रतिस्पर्धामा रुमलिरहेको भलिबल प्रतिभावान खेलाडीको जीवन गुजारा गर्ने माध्यम बन्नसक्ने सम्भावना बढेको छ ।     
निजी क्षेत्रको केडिया समूह तथा नेपाल भलिबल संघको सहकार्यमा आयोजित एनभीएल प्रतियोगितामा नेपाली खेलाडी विदेशी खेलाडीसँगै पारिश्रमिक लिएर विभिन्न छ वटा फ्रेन्चाइज टिममा अनुबन्धित भएका छन् । नेपाल भलिबल लिग देशको व्यावसायिक फ्रेन्चाइजमा आधारित पहिलो पुरुष भलिबल प्रतियोगिता हो । 
बाढी पीडितप्रति समर्पित     
भलिबल खेल अत्यन्त लोकप्रिय भएको रसुवा, नुवाकोट जिल्ला अहिले बाढी पहिरोले क्षतिग्रस्त भएको छ । विगतमा नियमित रूपमा अन्य खेलका साथै भलिबल प्रतियोगिता आयोजना हुँदै आएको रसुवामा बर्सेनि आयोजना हुने ‘रेडपाण्डा’ भलिबल प्रतियोगिताले नयाँ प्रतिभा जन्माउन योगदान गरेको छ । नुवाकोटमा राष्ट्रियस्तरका भलिबल प्रतियोगिता आयोजना हुनुका साथै राष्ट्रिय टिममा त्यहाँका खेलाडीको प्रतिनिधित्व भइसकेको छ ।     
रसुवा र नुवाकोटमा नेपाल भलिबल संघको जिल्ला शाखा क्रियाशील रहेका छन् । अब ती जिल्लामा जनजीवन सामान्य भई फेरि कहिले खेलकुद प्रतियोगिता सञ्चालन हुने हो कुनै टुंगो छैन । बाढी, पहिरोको क्षतिबाट मुलुक नै शोकाकुल अवस्थामा भएको बेला आयोजना हुन लागेको एनभीएल भलिबल प्रतियोगिता बाढीपीडितका लागि समर्पित गरिने भएको छ । प्रतियोगिताको पहिलो दिन टिकट बिक्रीबाट संकलन हुने रकम बाढीपीडितका लागि प्रदान गरिने लक्ष्य राखिएको छ ।     
टिमको संरचना     
नेपालका विभिन्न प्रदेशको प्रतिनिधित्व गरेका छ वटा टिम सगरमाथा स्मासर्स, मधेस वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज तथा खप्तड फाल्कन्सले यो प्रतियोगितामा सहभागिता जनाउँदै छन् । प्रत्येक टिममा मुलुकको प्रतिनिधित्व गरेका एक खेलाडीलाई मार्की खेलाडीका रूपमा चयन गरिएको छ । यसैगरी टिममा सात जना स्वदेशी खेलाडीलाई अनुबन्ध गर्नुपर्ने नियम रहेको छ । प्रत्येक टिमले ‘क’स्तरका चार जना खेलाडी आफ्नो टिममा राख्न पाउने छन् । यस्तै तीन जना विदेशी खेलाडीलाई टिममा समावेश गर्न पाइनेछ । 
लाखौं पारिश्रमिक     
एनभीएल भलिबलमा निजी क्षेत्रले ठूलो लगानी गरेका छन् । प्रतियोगिताको आयोजनादेखि लिएर सहभागी छ वटा टिमका लागि निजी क्षेत्रका व्यापारिक समुदायबाट आवश्यक लगानी गरिएको छ । नेपाली भलिबल खेलाडीलाई एनभीएल भलिबलमा लाखौं पारिश्रमिक लाखौं पारिश्रमिक दिने प्रतिबद्धता व्यक्त गर्दै अनुबन्धित गरिएको छ । उनीहरुलाई अक्सनमार्फत खेलाडीको स्तरअनुसार विभिन्न श्रेणी विभाजन गरी पारिश्रमिक निर्धारण गरिएको हो ।     
प्रत्येक टिममा महŒवपूर्ण खेलाडीका रूपमा चयन गरिएका मार्की खेलाडीलाई आकर्षक पारिश्रमिक दिइएको अपेक्षा गरिए पनि रकम भने घोषणा गरिएको छैन । खेलाडीको अक्सनमा ‘क’ श्रेणीका खेलाडीलाई एक लाख २० हजारसम्म तथा ‘ख’ श्रेणीका खेलाडीलाई ७० हजारसम्म निर्धारण गरिएको थियो ।
विदेशी खेलाडीको आकर्षण     
एनभीएल लिगको आकर्षण विदेशी खेलाडीको सहभागिता पनि हो । नेपाली दर्शकले विभिन्न मुलुकका खेलाडीलाई नेपाली खेलाडीका साथ टिममा देख्न पाउने छन् । यसबाट नेपाली खेलाडीले विदेशी खेलाडीसँग व्यक्तिगत रूपमा सम्पर्क हुने अवसर मिल्नुका साथै सीप सिक्ने मौका पाउने छन् । राम्रो प्रदर्शन गर्ने नेपालीका लागि भोलि विदेशी लिगमा सहभागिताको ढोका खुल्न सक्नेछ ।     
प्रतियोगिताको सहभागी अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका तीन जना खेलाडीलाई भिœयाएको छ । कर्णाली शिवराज टिमले पोल्याण्ड र बेलारुसका खेलाडीलाई आफ्नो टिममा समावेश गरेको छ भने मधेस वारियर्सले भारतीय खेलाडी एवं काठमाडौं रेडस तथा सगरमाथा स्म्यार्सले पाकिस्तानी खेलाडीलाई अनुबन्धित गरेका छन् । खप्तड फाल्कन्स टिमले अफ्रिकी राष्ट्र बेनिनबाट खेलाडी भिœयाएको छ भने ब्राजिल तथा रसियाका खेलाडी ल्याइने बताइएको छ ।     
दर्शकको उपस्थिति     
नेपालमा भलिबल खेलप्रति विगतदेखि नै दर्शकको अभिरुचि अत्यधिक रहेको छ । नेपालका विभिन्न जिल्लामा आयोजना भएका भलिबल प्रतियोगितामा हजारौं दर्शकको उपस्थिति हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा हालसम्म भलिबल खेलका लागि मात्र छुट्टै खेल स्थल नभएकाले सीमित दर्शक क्षमता भएको काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता हुने गरेका छन् ।    
बढ्दो फ्रेन्चाइज लिग     
नेपालमा विभिन्न खेलका व्यावसायिक फ्रेन्चाइज लिग प्रतियोगिता आयोजना गर्ने क्रम बढ्दै गएको छ । निजी क्षेत्रको सक्रियतामा सम्बन्धित खेल संघको सहकार्यमा यस्ता प्रतियोगिता क्रमिक रूपमा आयोजना हँुदै आइरहेका छन् । नेपालमा फ्रेन्चाइज लिगको सुरुआत क्रिकेटबाट भएको थियो । एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताले नेपालमा व्यावसायिक फ्रेन्चाइज लिगको प्रारम्भ गरेको थियो तर यो प्रतियोगिता चार संस्करणसम्म सञ्चालन भएपछि बन्द भएको थियो । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा काठमाडौँ उपत्यका बाहिर पहिलोपटक खेलाडीको अक्सन प्रणाली सुरु गरेको थियो ।     
यस्तै, पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लोकप्रियता पनि कम छैन । नेपाल प्रिमियर लिग एनपिएल भने नेपालकै ठूलो ‘ट ट्वान्टी’ क्रिकेट लिगका रूपमा स्थापित हुन पुगेको छ । दुई संस्करण सफलतापूर्वक सञ्चालन भइसकेको एनपीएल यो वर्ष तेस्रो पटक आयोजना हुँदैछ । 
नेपालमा महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग प्रतियोगिता एभरेस्ट वुमन्स भलिबल प्रतियोगिताको दुई संस्करण सम्पन्न भइसकेका छन् । बास्केटबल खेलतर्फ पुरुष तथा महिलाका लागि नेपाल बास्केटबल लिग पनि फ्रेन्चाइज प्रतियोगिताको रूपमा स्थापित भएको छ ।     
राष्ट्रिय खेल     
सरकारले गत २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । कम खर्चमा गाउँदेखि सहरसम्म सजिलै खेल सकिने यस खेलको लोकप्रियतालाई दृष्टिगत गरेर सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । पुरुष तथा तथा महिला दुवैको समान सहभागिता रहेको भलिबल खेल स्कूल तहदेखि राष्ट्रियस्तरसम्म खेल्ने गरिएको छ ।     
अन्तर्राष्ट्रिय उपाधि     
नेपाली भलिबल टिमले विगतमा विभिन्न अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । पुरुष भलिबल टिमको तुलनामा महिला भलिबल टिमले उल्लेखनीय रूपमा उपाधि प्राप्त गरेको छ । बंगलादेशमा सन २०१९ मा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई लगातार सोझो सेटले पराजित गर्दै भलिबलको इतिहासमा पहिलो उपाधि हासिल गर्दै स्वर्ण पदक जितेको थियो । सन् २०२१ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तानलाई फाइनलमा दुईकाविरुद्ध तीन सेटले पराजित गर्दै दोस्रो पटक उपाधि जित्न सफल भएको थियो ।     
नेपालको राष्ट्रिय पुरुष भलिबल टिमले सन् २०१५ मा आयोजित दक्षिण एशियाली पुरुष भलिबल च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेको थियो । यस्तै माल्दिभ्समा सन् २०१७ मा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमामा पनि नेपालले कास्य पदक जितेको थियो । केही सातापछि जापानमा हुने बिसौँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय भलिबल टिमले पनि प्रतिस्पर्धा गर्दैछ । भुटानमा जारी काभाबीच भलिबल प्रतियोगितामा पनि नेपालका तर्फबाट पुरुष तथा महिलाको चार बेग्लाबेग्लै टिमले प्रतिस्पर्धा गर्दैछन् ।     
समष्टिमा एनभीएल भलिबलले भलिबलको लोकप्रियतालाई अझ बढाउन महŒवपूर्ण भूमिका खेल्नेछ । मुलुकको खेलकुद विकासका लागि सरकारको मात्र भर पर्नुपर्ने स्थितिको अन्त्य भई निजी क्षेत्रका व्यापारिक घरानाको पनि खेलकुदमा आकर्षण बढाउन यस्ता प्रतियोगिता उपयोगी सावित हुने आकलन गर्न सकिन्छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्