नेभिगेशन
सूचना प्रविधि
एआई विकासमा मिलेमतोको आरोप

एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलविरुद्ध मुद्दा दायर

अमेरिकी एआई कम्पनीहरूले प्रविधि विकासको गति सुस्त बनाउन आपसी सहमति गरेको आरोप लागेको छ । एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलविरुद्ध यस्तो आरोपसहित अदालतमा मुद्दा दायर भएको छ । कम्पनीहरूबीचको सहमतिले प्रतिस्पर्धा र उपभोक्ताको हितमा असर पार्ने दाबी गरिएको छ ।
मुद्दा शुक्रबार क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा दायर भएको हो । चार जना वादीले अन्य सशुल्क प्रयोगकर्ताको प्रतिनिधित्व गर्दै मुद्दा अघि बढाएको समाचार संस्था एपीले जनाएको छ । उनीहरू च्याटजीपीटी, क्लाउड, ग्रोक र जेमिनाईका ग्राहक हुन् । उनीहरूले कम्पनीहरूको सहकार्यले सदस्यता शुल्कको मूल्य घटाउने दाबी गरेका छन् । 
मुद्दामा कम्पनीहरूले व्यक्तिगत रूपमा विकास सुस्त बनाउने निर्णयको विरोध गरिएको छैन । तर प्रतिस्पर्धी कम्पनीबीच सामूहिक नियन्त्रणको सहमति गैरकानुनी भएको जिकिर छ । वादीहरूले यसलाई व्यक्तिगत जवाफदेहिताको विकल्प बनाइएको बताएका छन् ।
गत सेप्टेम्बर १२ मा एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईको एउटा लेख  प्रकाशित भएको थियो । त्यसमा उनले एआई विकासको गति घटाउन उद्योगव्यापी सहकार्यको प्रस्ताव गरेका थिए । त्यसै दिन ओपनएआईका प्रमुख साम अल्टम्यानले समर्थन जनाए । स्पेसएक्सएआईका एलन मस्क र गुगल डीपमाइन्डका डेमिस हसाबिसले पनि सहमति जनाएका थिए । 
तर सहकार्यको प्रयास सेप्टेम्बरमै सुरु भएको होइन । मुद्दाको आरोपपत्रमा  गत जुलाईको एक संयुक्त वक्तव्यलाई पनि आधार बनाइएको छ । त्यसमा विभिन्न एआई प्रयोगशालाका वरिष्ठ कर्मचारीले हस्ताक्षर गरेका थिए । वक्तव्यले एक्लै विकास सुस्त बनाउँदा प्रतिस्पर्धात्मक दबाब पर्ने उल्लेख गरेको थियो । साथै, स्वचालित एआई विकास सुस्त बनाउन विश्वव्यापी प्रयास गर्न सरकारसँग आग्रह गरिएको थियो ।
वादीका प्रमुख वकिल निक राउलीले निजी सम्झौताबारे चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार एआई नियन्त्रणबाहिर गए मानवतालाई गम्भीर जोखिम हुन सक्छ । उनले सुरक्षा मापदण्ड नाफामुखी कम्पनीको निजी सम्झौतामा सीमित हुन नहुने बताएका छन् । अमोडेईले पनि यस्तो सहकार्यमा कानुनी चुनौती आउन सक्ने स्वीकारेका थिए । उनले अमेरिकी सरकारलाई छलफलको मध्यस्थता गर्न आग्रह गरेका थिए । आवश्यक परे सीमित विषयमा प्रतिस्पर्धाविरोधी कानुनबाट छुट दिनुपर्ने उनको प्रस्ताव थियो ।
अल्टम्यानले भने समान सुरक्षा मापदण्ड तोक्ने संघीय संरचनाको स्वागत गरेका थिए । तर त्यसका लागि कानुनी छुट वा नयाँ कानुन पर्खनु नपर्ने उनको भनाइ थियो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई नियमनको माग अस्वीकार गरेका छन् । उनले प्रविधि सीमित गर्ने प्रयासलाई ‘षड्यन्त्र’ भन्दै आलोचना गरेका थिए । शनिबार उनले एआई कार्यदल गठन गर्ने र एआई प्रमुख नियुक्त गर्ने घोषणा गरे । तर त्यसबारे विस्तृत जानकारी दिएनन् ।
अमेरिकी प्रशासनले चीनसँगको एआई प्रतिस्पर्धामा अघि बढ्नुपर्ने बताउँदै आएको छ । रिपब्लिकन सांसद जोस हाउलीले पनि कम्पनीहरूलाई प्रतिस्पर्धाविरोधी कानुनबाट छुट दिन नहुने बताएका छन् । उनले यस्तो छुटले ठूला कम्पनीलाई प्रतिस्पर्धा रोक्न सघाउन सक्ने चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्