नेभिगेशन
दृष्टिकोण
पाठक मञ्च

कपन मिलनचोकको ट्राफिक जामले हैरान

सम्पादकज्यू 
यस लोकप्रिय पत्रिकाको ‘पाठक मञ्च’ स्तम्भमार्फत म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । 
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत पर्ने कपन मिलनचोक क्षेत्रमा दैनिक हुने अत्यधिक ट्राफिक जामका कारण स्थानीय बासिन्दा, पैदलयात्री र सवारी चालकहरू निकै हैरान भएका छन् । विशेषगरी बिहान ९ बजे र अपराह्न ४ बजे आसपासको समय यस क्षेत्रका लागि सबैभन्दा सास्तीपूर्ण बन्ने गरेको छ ।   
विशेषगरी मिलनचोक आसपास रहेका जोसेफ स्कुल, रिलायन्स स्कुल र बालउद्धार स्कुल सञ्चालन हुने बिहानको समय र छुट्टी हुने अपराह्न ४ बजेको मुख्य समय हो । विद्यालयका बसहरू र अभिभावकका सवारी साधनको चाप बढ्ने यस संवेदनशील समयमा बाटो निकै साँघुरो भएका कारण सवारी साधनहरू एकअर्कालाई ओभरटेक गर्न नपाएर लामो समयसम्म जाममा फस्ने गरेका छन् । 
विडम्बनाको कुरा त के छ भने, यति व्यस्त र भिडभाड हुने चोकमा ट्राफिक प्रहरी नबस्ने गरेका कारण यो अस्तव्यस्तता झनै बढेको छ । सवारी नियमको पालना गराउने कोही नहुँदा सार्वजनिक गाडीहरूले बीच सडकमै यात्रु चढाउने र ओराल्ने गर्छन्, जसले गर्दा सडक पूर्ण रूपमा ठप्प बन्न पुग्छ । यस सडक खण्डको तत्काल स्तरोन्नति र सडक विस्तार गर्नुका साथै विशेषगरी बिहान ९ बजे र अपराह्न ४ बजेको समयमा कपन मिलनचोक क्षेत्रमा ट्राफिक प्रहरीको अनिवार्य र सक्रिय उपस्थिति गराउन हामी यस क्षेत्रका स्थानीयवासी जोडदार माग गर्दछौ ।  
विद्यालय प्रशासनसँग समन्वय गरी स्कुल बसहरूको व्यवस्थापन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने हो भने यो जाम केही हदसम्म कम हुन सक्छ । 
सम्बन्धित स्थानीय निकाय र ट्राफिक प्रहरी महाशाखाले यस गम्भीर समस्यालाई चाँडो भन्दा चाँडो सम्बोधन गरी विद्यार्थी र सर्वसाधारणको सहज आवागमनको अधिकार सुरक्षित गरोस् भनी यो पत्र प्रेषित गरेको छु ।
आकृष्ट दाहाल, मिलनचोक, कपन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
खेलकुदको उचाइ र अर्थतन्त्रको आशा

खेलकुदको उचाइ र अर्थतन्त्रको आशा

आत्मसम्मानको कूटनीति

आत्मसम्मानको कूटनीति