काठमाडौं (एजेन्सी) – भारतको लद्दाख क्षेत्रमा संघीय राज्यको माग गर्दै बुधबार भएको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रदर्शनकारीले र्याली निकाल्न खोज्दा प्रहरीले रोको थियो । त्यसपछि उनीहरूले ढुंगा हानेका थिए । सुरक्षाकर्मीले बल प्रयोग गरेपछि भएको गम्भीर झडपमा कम्तीमा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लेह जिल्लाभरि अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
प्रदर्शनकारीहरूको भीडले लेहमा रहेको भारतीय जनता पार्टीको कार्यालय र प्रहरीको गाडीमा आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । झडपमा प्रहरीसमेत घाइते भएका छन् । घटनापछि प्रशासनले तत्कालै कर्फ्यु आदेश जारी गर्दै पाँच जनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ ।
लद्दाखका जनताले आफ्नो विशिष्ट आदिवासी संस्कृति, पहिचान र भूमिको संरक्षणको माग गर्दै लामो समयदेखि संविधानको छैटौं अनुसूचीमा समावेश गर्न र पूर्ण राज्यको दर्जा दिन माग गरिरहेका छन् । यही मागलाई लिएर प्रख्यात जलवायु कार्यकर्ता सोनम वाङचुकको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन हुँदै आएको थियो ।
हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलनका अगुवा सोनम वाङचुकले सबैलाई शान्ति कायम गर्न अपिल गरेका छन् । उनले शान्तिपूर्ण प्रदर्शनको बाटो नछोड्न आग्रह गर्दै घटनालाई दुःखद र दुर्भाग्यपूर्ण बताएका छन् । घटनापछि लेहमा तनावको स्थिति छ र सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारत, पाकिस्तान र चीनबीचको सीमाक्षेत्रमा रहेको लद्दाखलाई सन् २०१९ मा भारतीय सरकारले जम्मु–कश्मीरको राज्य र अर्ध–स्वायत्तताको अधिकार खोस्दै छुट्टै केन्द्रशासित प्रदेश बनाएको थियो । त्यतिबेलादेखि असन्तुष्ट कश्मीरमा आन्दोलन दबाइए पनि लद्दाखमा राजनीतिक अधिकार र राज्यको माग झन् तीव्र बन्दै गएको छ ।
यो आन्दोलन संघीय शासनअन्तर्गत रहेको लद्दाखमा राज्यको दर्जा दिलाउने र जमिन तथा कृषिसम्बन्धी स्वायत्त अधिकारको संवैधानिक व्यवस्था गर्ने मागको हिस्सा हो । बुधबारको प्रदर्शन स्थानीय समूहले गरेको आम हड्तालको आह्वानपछि भएको हो । राज्यको माग गर्दै अनशन बसेका दर्जनभन्दा बढीमध्ये दुई जनाको स्वास्थ्य बिग्रिएपछि प्रदर्शन चर्किएको बताइन्छ ।
लद्दाखका प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि ठोस नतिजा निस्केको छैन । आगामी अक्टोबर ६ मा नयाँ दिल्ली र लद्दाखका प्रतिनिधिबीच नयाँ चरणको वार्ता तय भएको छ । यस क्षेत्र विगतदेखि नै सीमासम्बन्धी विवाद र जलवायु परिवर्तनको असरमा परेको छ । बस्तीहरूमा बारम्बार बाढी, पहिरो र खडेरीले जनजीवन कष्टकर बनेको छ ।
त्यसैगरी, लद्दाखका हजारौं हिमनदी तीव्र गतिमा पग्लिँदै गएका छन्, जसले लाखौं मानिसको पानी आपूर्ति संकटमा पारेको छ । सन् २०२० देखि भारत–चीनबीचको घातक सैन्य तनावले क्षेत्रको सैन्यीकरण बढाएपछि प्रदूषण अझ बढेको र यसले हिमनदीको पग्लने दर झनै तीव्र बनाएको बताइएको छ । लद्दाखमा वाङचुक १५ दिनदेखि अनसनमा थिए ।
शान्तिपूर्ण तवरले राखेका माग नरेन्द्र मोदीको सरकारले सुनुवाइ नगरेपछि लद्दाखका बासिन्दा रुष्ट भएका हुन् । बुधबार आमहड्ताल आयोजना गरेका आन्दोलनकारीले प्रदर्शनका लागि सहभागिताको आह्वान सामाजिक सञ्जालबाट गरेका थिए । विभिन्न सञ्चार माध्यमले प्रदर्शनलाई ‘जेनजी आन्दोलन’ भने पनि हडताल प्रदर्शनकारीले त्यसलाई पुष्टि गरेका छैनन् ।