नेभिगेशन
दृष्टिकोण

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौँ : विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ ।

‘मौन संरक्षकहरूको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ ।  नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ। विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको छ ।

नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ। विश्वमा हाल चार हजारदेखि सात हजारको सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ ।

पछिल्लो समय नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान तथा तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । 

तथ्याङ्कअनुसार चीनमा दुई हजार ५००, मङ्गोलियामा ९५३, भारतमा ७१८, नेपालमा ३९७ र भुटानमा १३४ हिउँचितुवा रहेका छन् ।

हिउँचितुवा संरक्षणमा देखिएका आन्तरिक चुनौतीमा बासस्थानको ह्रास र आहारका लागि शिकार प्रजातिको कमी होभने बाह्य चुनौतीमा चोरीशिकारी र गैरकानुनी व्यापार हो ।

यसका साथै हिउँ चितुवासँग हुने द्वन्द्व घटाउन स्थानीयलाई सचेत गराउने र समयमा उचित क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने यस क्षेत्रका विज्ञ बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले पछिल्लो समय बासस्थानको गुणस्तर र आहारा प्रजातिमा कमी आउनु नै हिउँचितुवाको संरक्षणको मुख्य चुनौती रहेको बताए ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्‍याएको र यसको प्रभावले हिउँचितुवाको बासस्थानमा ह्रास आएको उनले बताए। बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको देखिन्छ ।

‘यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले कहिलेकाहीँ स्थानीयले पासो थाप्ने, आहारामा विष मिसाउने गरेको तथा भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन्, महानिर्देशक डा पौडेलले भने ।

हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ। हिउँचितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्