नेभिगेशन
दृष्टिकोण
आविष्कार

विश्वकै पहिलो मेरुदण्ड प्रत्यारोपण

विश्वकै पहिलो मानव मेरुदण्ड प्रत्यारोपण रुसमा गरिएको छ । यसमा चोट लागेको तीन वर्षपछि व्यक्तिको मेरुदण्डको बिग्रिएको भाग निकालेर मस्तिष्क मृत्यु (ब्रेन–डेथ) भएका दाताको मेरुदण्डको भाग राखिएको बताइएको छ ।
प्रत्यारोपण गरिएका बिरामीको अवस्था राम्रो रहेको बताइए पनि यस शल्यक्रियाले केही अनुसन्धानकर्ताहरूलाई चिन्तित बनाएको छ । उनीहरू यो सफल हुनेमा शंका गर्छन् र यसले बिरामीको अवस्था झन् खराब पो बनाउने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् ।
यो शल्यक्रियाको नेतृत्व गरेका चीनको ग्वाङ्सी युनिभर्सिटी अफ चाइनिज मेडिसिनको सेकेन्ड एफिलिएटेड हस्पिटलका सियाओपिङ रेनले न्यु साइन्टिस्टलाई गत हप्ता मस्कोको स्क्लिफोसोभ्स्की इन्स्टिच्युट फर इमर्जेन्सी मेडिसिनमा यो शल्यक्रिया भएको बताए ।
रेनका अनुसार तीन वर्षअघि बाहिरी चोटका कारण मेरुदण्डमा पूर्ण क्षति पुगेका एक वयस्कमा यो शल्यक्रिया गरिएको हो । यस्तो चोटले सामान्यतया चोट लागेको ठाउँभन्दा तलको भाग चल्न नसक्ने (प्यारालाइसिस) र शारीरिक संवेदना हराउने समस्या निम्त्याउँछ । तर, ती व्यक्तिको मेरुदण्डको कुन भागमा चोट लागेको थियो भन्ने खुलेको छैन ।
थप विवरणहरू ज्यादै सीमित भए पनि रेनको भनाइअनुसार, शल्यक्रियामा दाताको मेरुदण्डको भागलाई बिरामीको आफ्नै मेरुदण्डसँग जोड्न पोलिथिलिन ग्लाइकोल (पीईजी) नामक एक प्रकारको जैविक खोटो (बायोलोजिकल ग्लु) र माइक्रो–सर्जिकल प्रविधिको प्रयोग गरिएको थियो ।
‘हामीले बिरामीलाई शल्यक्रियापछिको नतिजा र सम्भावित हरेक जोखिमबारे जानकारी गराएका छौं र बिरामीको हालको अवस्था राम्रो छ,’ रेन भन्छन्, ‘हाम्रो रसियन टोलीले पछि यस शल्यक्रियाबारे विस्तृत जानकारी दिने एउटा दस्ताबेज सार्वजनिक गर्नेछ ।’
चीनको हेइलोङजियाङ प्रान्तस्थित हार्बिन मेडिकल युनिभर्सिटीका सर्जियो कानाभेरो भन्छन्, ‘मेरुदण्डको चोटका उपचारको क्षेत्रमा यो एक ऐतिहासिक क्षण हो ।’ उनले यसअघि रेनसित मिलेर मानिसमा मेरुदण्ड प्रत्यारोपणको सम्भावनाबारे शोधपत्रहरू प्रकाशित गरिसकेका छन् ।
तर केहीले भने यो शल्यक्रियाले बिरामीलाई साँच्चै मद्दत गर्छ कि गर्दैन भनेर प्रश्न उठाएका छन् । ‘म बिरामीको सुरक्षालाई लिएर चिन्तित छु, किनभने यति ठूलो शल्यक्रियाबाट निको हुन धेरै समय लाग्छ र यसबाट फाइदा भने निकै कम हुन सक्छ, जसले गर्दा उनीहरूको अवस्था झन् खराब हुन सक्छ,’ बेलायतको युनिभर्सिटी अफ साउथह्याम्पटनकी मेलिसा एन्ड्रयुज भन्छिन् । उनले शल्यक्रियापछि संक्रमणको उच्च जोखिम हुने चेतावनी पनि दिएकी छन् ।
मेरुदण्डको चोट निको पार्नुको मुख्य समस्या भनेको मस्तिष्क र चोटभन्दा तलका स्नायु (नसा) हरूबीचको सञ्चार पुनः स्थापित गर्नु हो । मेरुदण्डका कोषहरू आफैं विभाजित हुँदैनन् र फेरि पलाउँदैनन् अनि चोट लागेपछि बिग्रिएका भागहरू झन्–झन् खराब हुँदै जान्छन् ।
धेरै वर्षदेखि रेन, कानाभेरो र अन्य विज्ञहरूले भर्खरै काटिएको मेरुदण्डका सतहहरूलाई सँगै ल्याएर पीईजीको प्रयोग गरी नसाहरू जोड्ने प्रविधिको विकास गरिरहेका छन् ।
स्क्लिफोसोभ्स्की इन्स्टिच्युट फर इमर्जेन्सी मेडिसिनमै रहेका माइकल लेबेनस्टेन–गुमोभ्स्कीले सुँगुरहरूमा यस्तै काम गरेका छन् तर उनी यो मानव प्रत्यारोपणमा भने संलग्न थिएनन् । उनले यसअघि न्यु साइन्टिस्टलाई बताएअनुसार, यो प्रस्तावित ‘फ्युजन’ (जोड्ने) प्रविधि नयाँ स्नायु कोषहरू जन्माउने वा नसाहरूलाई चोट लागेको ठाउँमा हुर्काउनुको सट्टा नसाहरूलाई आपसमा जोड्ने कुरामा आधारित छ । सिद्धान्ततः यसपछि मस्तिष्क र मेरुदण्डले नयाँ जडानहरू अनुसार आफूलाई ढाल्छन्, जुन यसअघि सँगै काम गरेका हुँदैनन् ।
यो प्रविधि प्रयोग गरेर कुकुर र सुँगुरहरूमा हिँडडुल गर्न सक्ने क्षमतामा केही सुधार देखिएको छ । केही विधिहरूमा सुन्निने समस्या कम गर्न वा नसाको स्वास्थ्य राम्रो बनाउन औषधिहरू थप्ने र मेरुदण्डका नसाहरूलाई विद्युतीय तरंग दिने काम पनि गरिन्छ ।
त्यसो त, भर्खरै काटिएको मेरुदण्डलाई फेरि जोड्नु र वर्षौंअघि लागेको चोट निको पार्नु वा दान गरिएको मेरुदण्डको भागलाई जोड्नु बिल्कुलै फरक कुरा हो । प्रत्यारोपणले राम्ररी काम गर्नको लागि शल्यक्रियामा तन्तुहरू निको पार्न मद्दत गर्ने अणुहरू समावेश हुनुपर्छ, एन्ड्रयुजको भनाइ छ ।
यसका लागि मेरुदण्ड र त्यसको वरिपरि रहेर नसाको वृद्धिलाई रोक्ने अणुहरूलाई निष्क्रिय पार्ने तŒवहरू र दाताको तन्तु तथा बिरामीको मेरुदण्डको बीचमा वृद्धि बढाउने अन्य तŒवहरू पनि आवश्यक पर्छ । एन्ड्रयुज भन्छिन्, ‘त्यति गर्दा पनि, मेरो विचारमा, नसा फेरि पलाउने र काम गर्ने सम्भावना शून्य नै हुन्छ ।’

नसाको पुनरुत्पादन
शल्यक्रियालाई आधार मानिएका जनावरहरूमा गरिएका परीक्षण र प्रमाणहरूप्रति पनि उनलाई शंका छ । ‘समग्रमा, यी अध्ययनहरू पर्याप्त रूपमा गम्भीरताका साथ गरिएका छन् भन्ने मलाई लाग्दैन र यसको नतिजा स्नायु विज्ञानको सम्भावित यथार्थसँग मेल खाँदैन ।’
बेलायतको न्युक्यासल युनिभर्सिटीका एन्ड्रयु ज्याक्सन भन्छन्, ‘पीईजीले काटिएका मेरुदण्डका नसाहरूलाई पुनः जोड्न मद्दत गर्न सक्छ भन्ने केही तथ्यांकहरू छन् र प्रत्यारोपण गरिएको मेरुदण्डको तन्तुले काटिएका नसाहरूलाई हुर्काउन आवश्यक केही तŒवहरू प्रदान गर्न सक्ने अवस्थाको कल्पना गर्न सकिन्छ ।’ तर उनी के पनि थप्छन् भने अनुसन्धानकर्ताहरूले परम्परागत रूपमा नसाको वृद्धिलाई बढावा दिन स्टेम सेलको प्रयोग गर्छन् किनभने ‘वयस्क स्नायु प्रणालीका दुई टुक्राहरूलाई काम गर्ने गरी आपसमा जोड्न धेरै गाह्रो छ ।’
उनको भनाइ छ, ‘यो शल्यक्रियालाई पुष्टि गर्ने प्रमाणहरू जतिसक्दो चाँडो समीक्षाका लागि उपलब्ध होला । र, त्यसपछि यस क्षेत्रमा काम गरिरहेकाहरुका लागि एउटा मार्गनिर्देशन पनि होला । मेरुदण्डको चोट बोकेर बाँचिरहेका धेरै मानिसहरू छन् र उनीहरू परीक्षण भइरहेका कुनै पनि नयाँ उपचारहरूको सम्भावना र नतिजाहरूबारे स्पष्ट, पारदर्शी र इमानदार चिजको हकदार छन् ।’ (न्यू साइन्टिस्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
युवाविहीन गाउँ

युवाविहीन गाउँ

विपद् बीमाको दाबी भुक्तानीमा सकस

विपद् बीमाको दाबी भुक्तानीमा सकस