शोकमा पर्नु वा आफन्त गुमाउनु जीवनको सबैभन्दा कठिन अनुभवमध्ये एक हो । यस्तो बेला अरूबाट पाइने माया र साथले ठूलो महŒव राख्छ । त्यसैले, शोकमा परेका व्यक्तिलाई साथ दिने तपाईंको चाहना र उनीहरूलाई कसरी मद्दत गर्न सकिन्छ भनेर सोचविचार गर्नु एकदमै राम्रो कुरा हो ।
हरेक व्यक्तिको शोक मनाउने तरिका फरक हुन्छ । यही कारणले गर्दा यस्तो बेला के भन्ने र के गर्ने भनेर मेसो पाउन गाह्रो हुन्छ । भावनाहरू गहिरो भएको बेला, उनीहरूसँगै बसिदिनु र आफ्नो माया र समय दिनु नै उनीहरूलाई सबैभन्दा बढी चाहिएको कुरा हुन सक्छ । एउटा कुरा के ख्याल राख्नुस् भने, अनुसन्धानहरूले देखाएअनुसार हामीलाई अरूको दुःख बुझ्न हामीले सोचेभन्दा गाह्रो हुन्छ ।
उनीहरूलाई कस्तो महसुस भइरहेको छ भनेर आफैं अनुमान नलगाउनुस् । बरु, उनीहरूलाई कस्तो छ भनेर नम्रतापूर्वक सोध्ने प्रयास गर्नुस् । यदि उनीहरू एक्लै बस्न चाहन्छन् वा चाहँदैनन् भन्नेमा तपाईं पक्का हुनुहुन्न भने, उनीहरूलाई विकल्प दिनुस् । ‘मैले के सहयोग गर्न सक्छु, भन्नुहोला है’ भनेर म्यासेज गर्नुभन्दा ‘तपाईंलाई ठीक लाग्छ भने म एकछिनपछि आउन सक्छु’ जस्ता कुरा भन्नु राम्रो हुन्छ । नजिकको सम्बन्ध छ भने, खानेकुरा बनाएर लैजाँदा वा घरायसी काममा सघाइदिँदा उनीहरूलाई निकै राहत हुन सक्छ । तर, उनीहरूलाई नाइँ भन्ने विकल्प पनि सधैं दिनुस् (जस्तै, भित्रै पस्नुको सट्टा ढोकामै खानेकुरा छोडेर जान सक्छु भन्न सक्नुहुन्छ) । साथै, हतार गरेर सल्लाह दिने वा परिस्थितिलाई सकारात्मक देखाउन खोज्नुको सट्टा, पहिले भावनात्मक आड दिने प्रयास गर्नुस् । उनीहरूका कुरा ध्यान दिएर सुन्नुस् । उनीहरूलाई कस्तो महसुस भइरहेको छ र अहिले के चाहिएको छ भन्ने कुरा जान्न चासो राख्नुस् । उपयुक्त लागेमा, मनोवैज्ञानिकहरूले भन्ने गरेको ‘एक्टिभ लिसनिङ’ (सक्रिय सुनाइ) को तरिका अपनाउन सक्नुहुन्छ । जस्तै, उनीहरूले आफ्ना भावनाहरूबारे भनेका कुरालाई आफ्नै शब्दमा दोहो¥याएर सुनाउन सक्नुहुन्छ, जसले तपाईंले उनीहरूका कुरा साँच्चै सुन्नुभएको छ भन्ने महसुस गराउँछ ।
समय बित्दै जाँदा र उनीहरूको मानसिक पीडा अलि कम भएको महसुस भएपछि, मनोवैज्ञानिकहरूले भन्ने गरेको ‘कग्निटिभ एडभाइस’ (सोचमा आधारित सल्लाह) दिन थाल्नु ठीक हुन सक्छ । यसमा शोकमा परेका आफ्ना प्रियजनलाई आफ्नो दुःख व्यक्त गर्ने तरिका खोज्न र भविष्यप्रति अझै आशावादी बन्न मद्दत गर्ने कुराहरू पर्न सक्छन् । उदाहरणका लागि, उनीहरूको जीवनशैली र दैनिकीलाई सकारात्मक तरिकाले बदल्न सघाउन सकिन्छ ।
यदि शोकमा परेका व्यक्तिले सुरुमा एक्लै बस्न चाहेको संकेत गरे भने, सधैं त्यस्तै हुन्छ भनेर नसोच्नुस् । कुनै पूर्वाग्रह नराखी बेलाबेलामा उनीहरूलाई कस्तो छ भनेर सोधखोज गरिरहनुस् । सुरुमा सबैसँग टाढा भएपछि उनीहरूलाई फेरि अरूसँग घुलमिल हुन गाह्रो हुन सक्छ । त्यसैले, बेलाबेलामा सम्पर्क गरेर तपाईंले उनीहरूलाई सजिलो बनाइदिन सक्नुहुन्छ ।
मनोवैज्ञानिकहरूका अनुसार आफ्नो दुःख बाहिर निकाल्ने तरिकाहरू खोज्नु प्रायः सहयोगी हुन्छ र यसको एउटा तरिका अरूको मद्दत लिनु हो । जस्तै, गुमाएका प्रियजनसँगै बसेर सम्झना गर्नु, विशेष वार्षिकी मनाउनु वा विशेष ठाउँहरूमा गएर उनीहरूको सम्झनाका लागि कुनै कामको योजना बनाउनु हुन सक्छ । त्यसैले उचित समय आएपछि, आफ्नो साथी वा आफन्तको साथमा रहने यो अर्को तरिका हुन सक्छ, जहाँ तपाईं उनीहरूले गुमाएको व्यक्तिको जीवनलाई सम्झन र सम्मान गर्न उनीहरूसँगै सहभागी हुन सक्नुहुन्छ ।
याद राख्नुस्, शोक मनाउने कुनै सही वा गलत तरिका हुँदैन र सामान्य अवस्थामा फर्किने समय पनि सबैका लागि फरक हुन्छ । तर, यदि तपाईंका प्रियजन छ महिनाभन्दा बढी समय बितिसक्दा पनि आफ्नो क्षतिबाट गहिरो रूपमा प्रभावित छन् भने, उनीहरूलाई व्यावसायिक सहयोग (काउन्सिलिङ) को आवश्यकता पर्न सक्छ । यो कुरा तपाईंले उनीहरूलाई एकदमै नम्र र सुझबुझका साथ राख्न सक्नुहुन्छ । (वेरी इन्ट्रेस्टिङबाट)