नेभिगेशन
नेपाल

नेपालमा दैनिक २० जनाको आत्महत्याबाट मृत्यु

मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति उपचारको पहुँचबाहिर

काठमाडौं । नेपालमा आत्महत्याको दर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार एक वर्षमा ७ हजार १४० जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा दैनिक औसत झण्डै २० जनाले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाका अनुसार प्रति एक लाख जनसंख्यामा २४ जनाले आत्महत्या गर्ने नेपालको दर विश्वको औसतभन्दा झण्डै तीन गुणा बढी हो ।
मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्याको समस्या बाहिर देखिएभन्दा धेरै गहिरो रहेको बताए । उनले भने, ‘हामी यहाँ कोठाभित्र बसेर छलफल गर्दागर्दै विश्वभर झण्डै २ हजार २५० जनाले आत्महत्याको प्रयास गरिसक्छन् र ९० जनाले ज्यान गुमाइसक्छन् ।’
उनका अनुसार आत्महत्यासम्बन्धी सोच आउनु आफैंमा कमजोरी वा कायरता होइन । उनले भने, ‘मानिसको जीवनमा विभिन्न समयमा निराशा, तनाव र जीवनप्रतिको वितृष्णा उत्पन्न हुन सक्छ । तर त्यस्तो अवस्थालाई समयमै पहिचान गरेर सहयोग, परामर्श र उपचार उपलब्ध गराउन सके आत्महत्याको जोखिम घटाउन सकिन्छ ।’
नेपाल प्रहरीको पछिल्लो वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा ७ हजार १४० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७२÷७३ मा यस्तो संख्या ४ हजार ६८२ थियो । एक दशकको अवधिमा आत्महत्याबाट मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेको तथ्यांक रहेको छ । 
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार नेपालको कुल जनसंख्याको ६.५ प्रतिशतमा कुनै न कुनै समयमा आत्महत्यासम्बन्धी सोच आउने गरेको छ । त्यस्तै, ७.२ प्रतिशत नागरिक आत्महत्याको उच्च जोखिममा रहेको र कम्तीमा १.१ प्रतिशतले जीवनमा एकपटक आत्महत्याको प्रयास गरिसकेको तथ्यांक छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले आत्महत्याको समस्या नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको प्रयास मात्रै पर्याप्त नहुने बताए । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा नेपालको आत्महत्या दर प्रतिलाख जनसंख्यामा ६ जनाको हाराहारीमा झार्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेको उनले स्मरण गराए ।
‘प्रति एक लाख जनसंख्यामा प्रतिवर्ष २४ जनाले ज्यान गुमाउने दुःखद तथ्यांक छ । यसलाई घटाएर सन् २०३० सम्ममा ६ को अंकमा झार्नुपर्ने लक्ष्य छ । तर, यो काम स्वास्थ्य क्षेत्र एक्लैले गर्न सक्दैन,’ उनले भने ।
उनका अनुसार आत्महत्यासम्बन्धी समाचारमा प्रयोग गरिएका शब्द, शीर्षक, तस्बिर र घटनाको विवरणले जोखिममा रहेका व्यक्तिको मानसिक अवस्थामा प्रभाव पार्न सक्छ । विशेषगरी आत्महत्याको घटनामा प्रयोग भएको विधि, स्थान र साधनको विस्तृत विवरण सार्वजनिक गर्दा त्यसको नक्कल गर्ने जोखिम बढ्न सक्छ ।
डा. पौडेलले सरकारले सञ्चालन गरेको राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ को प्रभावकारिताबारे पनि सञ्चारमाध्यमले निगरानी गर्नुपर्ने बताए । 
आत्महत्याको पछाडि एउटै कारण हुँदैन
डा. अधिकारीका अनुसार आत्महत्यालाई कुनै एउटा घटना वा कारणसँग जोडेर व्याख्या गर्नु गलत हुन्छ । प्रेम सम्बन्धमा आएको समस्या, आर्थिक संकट, ऋणको बोझ, बेरोजगारी वा पारिवारिक विवाद आत्महत्यासम्बन्धी समाचारमा तत्कालीन कारणका रूपमा प्रस्तुत गरिए पनि वास्तविकतामा यसको पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक पक्षको जटिल अन्तरसम्बन्ध हुन सक्छ ।
उनले बाहिरबाट सम्पन्न, सफल र खुसी देखिने व्यक्तिसमेत गम्भीर मानसिक समस्याबाट गुज्रिरहेको हुन सक्ने बताए । यसलाई ‘स्माइलिङ डिप्रेसन’ वा ‘मास्क्ड डिप्रेसन’ भनिने जानकारी उनले दिए ।
‘बाहिर सब ठीकठाक देखिन्छ, तर भित्र मान्छेले आफूलाई नितान्त एक्लो, निरर्थक र मूल्यहीन महसुस गरिरहेको हुन सक्छ,’ उनले भने ।
उनले आफ्नै मनोचिकित्सक साथीको उदाहरण दिँदै मानसिक स्वास्थ्य समस्या कुनै पेसा, आर्थिक अवस्था वा सामाजिक प्रतिष्ठाले मात्र निर्धारण नगर्ने बताए । बाहिरी रूपमा सक्षम र सफल देखिने व्यक्तिलाई पनि मानसिक स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक पर्न सक्ने उनको भनाइ छ ।
नेपालमा मानसिक स्वास्थ्य समस्या भएका करिब ८० प्रतिशत मानिस उपचारको पहुँचबाहिर रहेको डा. अधिकारीले बताए । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी, बेरोजगारी, सामाजिक सञ्जालको अत्यधिक प्रयोग र सामाजिक सम्बन्ध कमजोर हुँदै जानुले मानसिक तनाव बढाइरहेको उनले उल्लेख गरे ।
‘हाम्रा प्रयासहरू भर्खरका सुरुआत हुन् । जबसम्म हामी सामाजिक कारणहरूलाई सम्बोधन गर्दैनौं, अस्पतालले मात्रै आत्महत्याको दर घटाउन सक्दैन,’ उनले भने ।
सनसनीपूर्ण समाचारले बढाउन सक्छ जोखिम
उनका अनुसार आत्महत्याको समाचारमा घटनाको विस्तृत विवरण, प्रयोग गरिएको साधन, स्थान र दृश्यलाई प्राथमिकता दिँदा ‘वेर्थर इफेक्ट’ अर्थात् समाचारबाट प्रभावित भएर आत्महत्याको नक्कल गर्ने प्रवृत्ति बढ्न सक्छ । यसको विपरीत आत्महत्याको जोखिमबाट बाहिर निस्किएका व्यक्तिका अनुभव, उपचार, सहयोग र पुनर्जीवनका कथालाई प्राथमिकता दिँदा ‘पापागेनो इफेक्ट’ अर्थात् आशा र समाधानबाट जीवन जोगाउने सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ ।
आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विभत्स तस्बिर र दृश्यसहित प्रस्तुत गर्नु उचित नहुने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्