नेभिगेशन
राजनीति

सर्वोच्चका चार न्यायाधीश अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका चार जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत  अनुमोदन गरेको छ ।समितिको शनिबारको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।
न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको थियो । सिफारिसपछि संसदीय सुनुवाइको प्रक्रियामा रहेका चारै जनाको नाम समितिले कुनै असहमति नराखी अनुमोदन गरेको हो ।
संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले अनुसार शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सुनुवाइपछि समितिमा रहेका सबै सांसदको सहमतिमा उनीहरूको नाम अनुमोदन गरिएको बताए । समितिले चारै जनाको कार्यक्षमता, न्याय सम्पादनको अनुभव, व्यावसायिक आचरण तथा न्यायपालिकाप्रतिको दृष्टिकोणबारे प्रश्न उठाउँदै उनीहरूका धारणा सुनेको थियो । प्रस्तावित न्यायाधीशहरुविरुद्ध १३ वटा उजुरी परेका थिए, जसमाथि सुनुवाइका क्रममा प्रष्टीकरण लिइएको थियो ।
सुनुवाइका क्रममा सांसदहरूले पछिल्लो समय न्यायपालिकाप्रति उठिरहेका प्रश्न र जनगुनासोलाई विशेष रूपमा उठाएका थिए । न्याय सर्वसाधारण नागरिकको पहुँचभन्दा बाहिर गएको, मुद्दाको फैसला तथा न्याय सम्पादनमा बिचौलियाको प्रभाव बढेको र न्यायाधीशहरूमाथि राजनीतिक हस्तक्षेप हुने गरेको विषयमा सांसदहरूले जिज्ञासा राखेका थिए ।
विशेषगरी न्यायाधीशहरू नै बिचौलियासँगको सम्पर्क र उठबसमा जोडिने गरेको भन्ने सार्वजनिक गुनासोबारे सांसदहरूले प्रश्न गरेका थिए । न्यायाधीशहरू बिचौलियासँग चिया खान होटलसम्म पुग्ने गरेको भन्ने आरोप र त्यसले न्यायपालिकाको निष्पक्षता तथा विश्वसनीयतामाथि पार्ने असरबारे पनि उनीहरूको धारणा मागिएको थियो ।
त्यस्तै, न्याय सम्पादनलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउने विषयमा उनीहरूका योजना तथा प्रतिबद्धताबारे सांसदहरूले प्रश्न गरेका थिए । सुनुवाइका क्रममा उजुरीकर्ताले लगाएका आरोपमाथि समेत उनीहरूलाई स्पष्टीकरणको अवसर दिइएको थियो । दुई दिनसम्म चलेको सुनुवाइमा चारै जना सिफारिस भएका न्यायाधीशले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमार्फत उनीहरूले न्यायपालिकामा देखिएका समस्या, न्याय सम्पादनको अवस्था र सुधारका सम्भावित उपायबारे आफ्नो धारणा राखेका थिए ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूको सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । तर, शुक्रबारदेखि सुरु भएको तिहार बिदाका कारण नियुक्ति र शपथग्रहणको प्रक्रिया बिदा सकिएपछि मात्रै अघि बढ्नेछ । चारै जनाको नियुक्ति भएपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा उनीहरूले जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्