नेभिगेशन
राजनीति

देउवाले गरे छुट्टै अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतबाट आफूहरूले नै आधिकारिकता पाउने दाबी गरेको छ । समानान्तरअधिवेशन गरिरहेको देउवासहित उनी पक्षका नेताहरूले अदालतको पुनरावलोकन प्रक्रियाबाट न्याय पाउने विश्वास व्यक्त गरेका हुन् । 
शनिबार राष्ट्रिय सभागृहमा आयोजित देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेताहरूले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वले पाएको आधिकारिकता नै विवादित रहेको जिकिर गरे । उनीहरूले आफूहरू नै कांग्रेसको वैधानिक नेतृत्व र मूलधार भएको दाबीसमेत गरे । पूर्वसभापति देउवाले आफू अझै पनि कांग्रेसको सभापति रहेको दाबी गर्दै आफूलाई पदबाट हटाउने कुनै वैधानिक प्रक्रिया पूरा नभएको बताए ।
‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं ।’
देउवा पक्षका नेताहरूले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई दिएको मान्यताविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढाएको र त्यसबाट आफ्नो पक्षमा निर्णय आउने विश्वास व्यक्त गरेका छन् । नेता प्रकाशशरण महतले सर्वोच्च अदालतले यसअघिको निर्णयमा त्रुटि रहेको स्वीकार गरिसकेको भन्दै अब न्याय आफ्नो पक्षमा हुने दाबी गरे । ‘सर्वोच्च अदालतले पहिलाको निर्णयमा कमीकमजोरी थियो, त्रुटि थियो भनेर स्वीकार गरिसकेको अवस्थामा अवश्य पनि न्यायको विजय हुन्छ । न्यायको पक्षमा निर्णय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।
महतले पुनरावलोकनमार्फत देउवा नेतृत्वकै कांग्रेसले आधिकारिकता पाउने दाबी गर्दै भने, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौं ।’
देउवा पक्षले आधिकारिकताको दाबीलाई थप बलियो बनाउन समानान्तर रूपमा पार्टीका तल्ला तहका अधिवेशनसमेत अघि बढाइरहेको छ । काठमाडौं जिल्ला अधिवेशन पनि त्यही प्रक्रियाअन्तर्गत आयोजना गरिएको हो । मंसिर तेस्रो साता इतर पक्षले महाधिवेशन गर्दैछ । 
देउवा पक्षको महाधिवेशन आयोजक समितिका संयोजक रहेका डा. शशांक कोइरालाले भने गगन थापालाई गाली गरेर उनको राजनीतिक महŒव बढाउने काम नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । कोइरालाले गगनलाई विपक्षी वा खलनायकका रूपमा प्रस्तुत गर्नुभन्दा कांग्रेसका वास्तविक चुनौतीमा केन्द्रित हुनुपर्ने बताए ।
‘अरूलाई कुरुप हेरेर आफू सुन्दर हुँदैन । हामीले गगन थापाजीलाई किन यति महŒव दिन्छौं ? तपाईं जति गाली गर्नुहुन्छ, त्यत्ति महŒव उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं,’ उनले भने ।
उनले कांग्रेसका वास्तविक शत्रु गगन नभई गरिबी, अशिक्षा र बेरोजगारी भएको टिप्पणी गरे । ‘हामी पनि कोही भिलेन खोजिरहेका छौं, त्यो भिलेन हामीले गगन थापालाई देख्यौं । तर, त्यो हाम्रो भिलेन होइन । हाम्रो भिलेन भनेको यहाँको गरिबी, अशिक्षा, बेरोजगारी हो,’ कोइरालाले भने । उनले १५औँ महाधिवेशनलाई पार्टीको भविष्य निर्धारण गर्ने महŒवपूर्ण कडीका रूपमा व्याख्या गर्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला दुवै पक्षले समानान्तर संगठनात्मक गतिविधि अघि बढाएका छन् । गगन थापा नेतृत्वले विशेष महाधिवेशनपछि १५औँ महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ भने देउवा पक्षले छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको छ ।
अदालतको अन्तिम निर्णयले कांग्रेसको वैधानिक नेतृत्व कसको हुने भन्ने टुंगो लगाउनेछ । त्यसैले दुवै पक्षका लागि अहिलेको संगठनात्मक गतिविधिसँगै सर्वोच्चको पुनरावलोकन प्रक्रियालाई राजनीतिक रूपमा महŒवपूर्ण मानिएको छ ।
आधिकारिकताको दाबी गरिरहेको देउवा पक्षले कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको लेनदेन भएको भनिएको विषयलाई पनि उठाएको छ । प्रहरी हिरासतमा रहेका विचौलिया इनम सापकोटाको भनिएको अडियोमा गगन थापा नेतृत्वले आधिकारिकता पाउने प्रक्रियामा आर्थिक चलखेल भएको दाबी सार्वजनिक भएपछि देउवाले त्यसबारे पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गरेका हुन् । ‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ देउवाले प्रश्न गरे ।
उनले तत्कालीन निर्वाचन आयोगका प्रमुख आयुक्तको भूमिकामाथि समेत प्रश्न उठाए । आयोगका तत्कालीन प्रमुख आयुक्तले आफ्नो ज्यानको खतरा रहेको भन्दै निर्णय गरेको भन्ने समाचार आफूले सञ्चारमाध्यमबाट थाहा पाएको उनको भनाइ थियो । ‘पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त,’ देउवाले भने ।
तर देउवाले १८ करोडको प्रसंग उठाएकै दिन कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले उक्त आरोपलाई हल्लाका भरमा विश्वास नगर्न चुनौती दिएका छन् । शनिबार कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले बिचौलियाको भनिएको बयानकै आधारमा पार्टी सभापति गगन थापामाथि लगाइएको  आरोपलाई सत्य मान्न नसकिने बताए । ‘एउटा बिचौलियाले कहीँ भन्यो भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन ?’ शर्माले प्रश्न गरे ।
उनले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान र संविधानअनुसार सम्पन्न भएको दाबी पनि गरे । महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट प्रक्रिया पूरा भएको उनको भनाइ थियो ।
यसरी एकातिर देउवा पक्षले १८ करोडको भनिएको आर्थिक चलखेलको विषयलाई आधिकारिकता विवादसँग जोडेर उठाइरहेको छ भने अर्कोतिर गगन नेतृत्वले त्यसलाई प्रमाणित नभएको आरोपका रूपमा तथ्यहीन रहेको र यस्तो भ्रम फैलाउने काममा सरकार पक्षनै सक्रिय रहेको बताइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्