नेभिगेशन
राजनीति

परराष्ट्रमन्त्री खनाल कोप–३१ का लागि टर्किए प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गरेका छन् । टर्किएको अन्ताल्यामा नोभेम्बर ९–२० आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम छ ।
नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि उनले सहभागिता जनाउने छन् ।
सम्मेलनका क्रममा खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रेजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य र कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी हुनेछन् । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्