नेभिगेशन
खेलकुद

काठमाण्डुद्वारा लुम्बिनी ३६ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सानदार प्रदर्शन गर्दै आएको लुम्बिनी लायन्सको अपराजित यात्रामा काठमाण्डु गोर्खाजले पूर्णविराम लगाइदिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डुले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिङ गर्ने लुम्बिनीको निर्णय यस खेलमा निकै महँगो साबित भयो ।
पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो । टोलीका लागि सलामी ब्याटरद्वय साहिल पटेल र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिलाए । पावरप्लेमा विकेट नगुमाई ४५ रन जोडेको यो जोडीले पहिलो विकेटका लागि १३.१ ओभरमा १०४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पु¥याएको थियो । वार्नरले ५० बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६६ रन बनाए भने पटेलले ३६ बलमा ३८ रन जोडे । सेर मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट हुनुअघि उत्कृष्ट इनिङ खेलेका वार्नर ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।
वार्नर आउट भएपछि भने काठमाण्डुको इनिङ अचानक धरमराएको थियो । १५.५ ओभरमा ११५ रनमा पहिलो विकेट गुमाएको टोली १६.२ ओभरसम्म आइपुग्दा ११७ रनमा ४ विकेटको स्थितिमा खुम्चियो । कप्तान करण केसी ९ रनमा पभेलियन फर्किए भने विलियम बोसिस्टो सामना गरेको पहिलो बलमै शून्यमा आउट भए । यद्यपि, अन्तिमतिर सहन अराच्चीगेले आक्रामक ब्याटिङ गर्दै १५ बलमै ३ चौका र एक छक्कासहित अविजित ३४ रन (२२६.६६ स्ट्राइक रेट) बनाएपछि टोली चुनौतीपूर्ण योगफलसम्म पुग्न सफल भयो । बलिङतर्फ लुम्बिनीका लागि अभिषेश गौतम र सेर मल्लले दुई–दुई विकेट लिए । गौतमले आफ्नो ४ ओभरको स्पेलमा जम्मा १५ रन मात्र खर्चेका थिए भने रुबेन ट्रम्पेलम्यानले पनि दुई विकेट आफ्नो नाममा गराए ।
१६१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीको सुरुवात भने निकै निराशाजनक रह्यो । काठमाण्डुका बलर जहादाद खानको घातक बलिङसामु लुम्बिनीको शीर्ष क्रम पूर्ण रूपमा ध्वस्त भयो । जहादादले आफ्नो सुरुवाती ओभरमै डी’आर्सी सर्ट (४ रन) र आसिफ शेख (१ रन) लाई पभेलियन फर्काइदिए । लगत्तै कप्तान रोहित पौडेल पनि दुई बलको सामना गर्दै खाता नै नखोली करण केसीको सिकार बने । तेस्रो ओभरमा जहादादले १४ रन बनाएका निरोशन डिकवेला र शून्यमै दिलीप नाथलाई बोल्ड आउट गरेपछि लुम्बिनी २१ रनमा ५ विकेटको दयनीय स्थितिमा पुगेको थियो । चौथो ओभरमा करण केसीले ग्रान्ट स्टुअर्टलाई एलबिडब्ल्यु आउट गरे भने पाँचौँ ओभर ‘विकेट मेडन’ रह्यो । पावरप्ले सकिँदा लुम्बिनीले ३४ रन जोड्दा महŒवपूर्ण ६ विकेट गुमाइसकेको थियो ।
काठमाण्डुका लागि जहादादले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए भने करण केसीले ४ ओभरमा एक मेडनसहित २४ रन दिएर २ विकेट लिए । त्यस्तै, सन्तोष यादव, रसिद खान र शहाब आलमले एक–एक विकेट हात पारे भने अराच्चीगेले ०.३ ओभर बलिङ गर्दै एक विकेट लिए ।
लगातार विकेट खसिरहेको अवस्थामा सन्दीप जोराले एकतर्फी रूपमा इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनले ४५ बलमा ४४ रनको योगदान दिए पनि टोलीलाई जितसम्म डोहोर्याउन त्यो पर्याप्त भएन । १७.४ ओभरमा शहाब आलमको बलमा अराच्चीगेबाट क्याच आउट भएपछि लुम्बिनीको आशा सकिएको थियो । पुछारका ब्याटर सेर मल्लले १५ बलमा १२ रन बनाएर १९.३ ओभरमा अराच्चीगेको बलमा बोल्ड भएपछि लुम्बिनीको इनिङ १२४ रनमै समेटियो । लुम्बिनीले पेनाल्टीबापतको ६ रनसहित १५ रन अतिरिक्त पाएको थियो ।
यो नतिजासँगै सुरुवाती तीन जित र एक खेलमा अङ्क बाँडेर शीर्ष स्थानमा रहेको लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो हार व्यहोरेको छ । उता, काठमाण्डु गोर्खाजले भने लगातार तेस्रो जित दर्ता गर्दै चार खेलबाट अङ्कतालिकाको शीर्ष स्थानमा आफ्नो दाबी थप बलियो बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्