नेभिगेशन
प्रवास

दशैं मनाउन धमाधम घर फर्कंदै परदेशी

भैरहवा, ९ असोज । रोजगारीका लागि भारत पुगेका नेपालीहरू बडा दशैं मनाउन धमाधम घर फर्किरहेका छन् । सीमा क्षेत्रमा घर फर्कने नेपालीहरूको घुइँचो नै लाग्ने गरेको छ । दसैंको उमंग बोकेर फर्किएका नेपालीहरू उत्साहित देखिन्छन् भने कतिपयले नेपालमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा घर कसरी पुग्ने भन्ने चिन्ता पनि उत्तिकै छ ।

रुपन्देहीको बेलहिया नाकामा दशैं मनाउन घर फर्किने नेपालीहरूको चहलपहल र भीडभाड देखिन्छ । सीमा क्षेत्रका सुरक्षा निकायका अनुसार दशैं नजिकिँदै जाँदा घर फर्कने मुग्लानी नेपालीहरूको संख्या दैनिक बढ्दो छ । 

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका मुग्लानी नेपालीहरू सुनौली–बेलहिया नाका हुँदै दैनिक ३–४ सयको संख्यामा फर्किरहेका छन् । यो नाका हुँदै खासगरी लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका अधिकांश जिल्लाका नेपालीहरू स्वदेश आउँछन् । जसले गर्दा सीमा क्षेत्रमा मुग्लानी नेपालीहरूको भीड बढेको छ । 

रोजगारीका लागि भारत पुगेकाहरू दशैंको उमंग बोकेर फर्किएका छन् । दशैं मनाउन घर फर्कंदै गर्दा नेपालीहरू निकै खुशी देखिन्छन् । तर, नेपालमा पहिरोले बाटो बन्द हुँदा दुःख हुन्छ कि भन्ने चिन्तामा रहेको नुवाकोटका सुर्जमान श्रेष्ठ बताउँछन् ।

बेलहिया नाका हुँदै दसैं मनाउन फर्किनेहरूमा कतिपय भारतमै विभिन्न निकायमा सरकारी सेवामा कार्यरत छन् भने कति मौसमी कामदारका रुपमा पुगेकाहरू छन् । केही परिवारसँगै भारतमै रोजगारी गर्दै आएकाहरू पनि छन् । 

बेलहिया नाका हुँदै दशैं मान्न फर्किनेहरू दिल्ली, लखनउ, हरियाणा, आन्ध्रा प्रदेश, मुम्बई, कोलकता, बिहार, चेन्नई, बैंग्लोर लगायत भारतका ठूला शहरहरूमा रोजगारी गर्नेहरू छन् ।

नजिकिँदै गरेको दशैंले सीमा क्षेत्रबाटै नेपालीहरूमा उमंग थपेको दृश्यले नै सहजै बुझ्न सकिन्छ । विगताम घर फर्किने नेपालीहरू नेपाल–भारतमा लुटपाटमा पर्ने समस्या रहे पनि यस वर्ष त्यस्तो गुनासा गर्नेहरू नआएको सुरक्षा निकायको भनाई छ । नेपालतर्फ रुपन्देहीका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी सहजीकरण गरिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्