‘ऐया’प्रतिको यो दृष्टिकोण केवल एउटा विचार होइन, यो जीवन र अस्तित्वबारेको एक नवीन दर्शन हो । सामान्यतः ‘ऐया’लाई हामी कष्ट, पीडा र रोगको पर्याय ठान्छौं । तर यदि यसलाई प्रकृतिद्वारा प्रदत्त, निःशुल्क नागरिकताका रूपमा बुझ्ने हो भने, यसको दार्शनिक उचाइ अत्यन्तै उच्च हुन्छ ।
‘ऐया’ केवल शारीरिक कष्ट होइन; यो त शरीर र चेतना जीवित छन् भन्ने सूचित गर्ने जैविक सन्देश हो । अझ गहिराइमा भन्नुपर्दा, ‘ऐया’ ब्रह्माण्डको स्थायी नागरिकताको प्रमाणपत्र हो । जबसम्म मानिसले ‘ऐया’ अर्थात् संवेदना—महसुस गर्न सक्छ, तबसम्म ऊ यस ब्रह्माण्डका स्रोत र साधनहरूमाथि वैधानिक हक राख्ने जीवित इकाई हो । ‘ऐया’ हराउनु भनेको ब्रह्माण्डबाट नागरिकता रद्द हुनु हो र मानिस मालिकबाट अछुत लाशमा परिणत हुनु हो ।
मानिसले राज्यबाट नागरिकता लिन अनेकौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ । तर प्रकृतिले हरेक जीवधारीलाई जन्मिनुअघि नै निःशुल्क तर जीवनको सबैभन्दा महत्त्वपूर्ण नागरिकता प्रदान गर्छ, जसको नाम हो ‘ऐया’ । यो कुनै पीडाको ध्वनि मात्र होइन; यो त शरीरभित्र निरन्तर गुञ्जिरहने प्रकृतिप्रदत्त ढुकढुकी हो, जसले हामीलाई ब्रह्माण्डमा एउटा जीवित इकाईका रूपमा प्रमाणित गर्छ ।
‘ऐया’ ले भन्छ ‘म सचेत छु, म संवेदनशील छु, र म अझै यो धर्तीको वैधानिक हकदार हुँ’ भन्ने सन्देश । राज्यको नागरिकता कागजको खोस्टो हो, जुन कुनै पनि बेला खारेज हुन सक्छ । तर ‘ऐया’ प्रकृतिको त्यो जैविक नागरिकता हो, जसले मानिसलाई जीवनभर ‘जीवित’ र ‘संवेदनशील’ भएको प्रमाणपत्र दिन्छ । यसको म्याद न च्यातिन्छ, न सकिन्छ— जबसम्म जीवन छ ।
मृत शरीर वा निर्जीव ढुंगालाई जति प्रहार गरे पनि उसले ‘ऐया’ भन्दैन किनभने तिनीहरूसँग प्राकृतिक नागरिकता हुँदैन । त्यसैले ‘ऐया’ भन्नु भनेको ब्रह्माण्डलाई आफ्नो जीवन्त उपस्थितिको सूचना दिनु हो ।
जबसम्म मानिसले ‘ऐया’ भन्छ, तबसम्म ऊ उपचारयोग्य हुन्छ, सेवा र स्याहारको पात्र हुन्छ । उसलाई आफन्त मानिन्छ, ढोग्न र अँगाल्न योग्य ठानिन्छ । तर जसै ‘ऐया’ हराउँछ, समाजले त्यही शरीरलाई ‘लाश’ भन्छ । जुन घर उसले आफ्नै पसिनाले बनायो, त्यही घरभित्र बस्ने अधिकार एकाएक खोसिन्छ । अझ मार्मिक त के छ भने अघिसम्म सम्मानित त्यो शरीर छोएपछि मानिसहरू नुहाउँछन्, किनकि प्राकृतिक नागरिकता रद्द भएसँगै ऊ अछुत घोषित हुन्छ ।
यस अर्थमा ‘ऐया’ र जीवनको अन्तरसम्बन्धबारे गम्भीर बहस आवश्यक छ । हामीले सधैं ‘ऐया’लाई व्यथा ठान्यौं, तर वास्तवमा यो हाम्रो सबैभन्दा ठूलो जेथा हो । ‘ऐया’ शरीरधर्मको अंगरक्षक हो । यदि खुट्टामा काँडा बिझ्दा ‘ऐया’ उत्पन्न भएन भने, त्यो घाउ क्यान्सर पनि बन्न सक्छ । ‘ऐया’ले नै हामीलाई सजग बनाउँछ र जीवनरक्षाको बाटो देखाउँछ ।
यदि मानिसलाई ‘ऐया’ महसुस हुँदैनथ्यो भने संसारमा करुणा, प्रेम र दया भन्ने शब्द नै जन्मिने थिएनन् । अरूको ‘ऐया’ देख्दा हृदयमा उठ्ने हलचल नै मानवताको मूल परिचय हो ।
वैदिक दर्शनअनुसार ब्रह्माण्ड ‘ऋत’— प्राकृतिक नियमले सञ्चालित छ । शरीरको ‘ऋत’ नै ‘ऐया’ हो । जब शरीरमा सन्तुलन बिग्रन्छ, तब ‘ऐया’को ध्वनि गुञ्जन्छ । यो शिवको डमरुजस्तै चेतावनी हो, लय बिग्रिएको संकेत । पुराणहरूले दुःखलाई ‘गुरु’ मानेका छन् । ‘ऐया’ त्यो सात्विक दुःख हो, जसले मानिसलाई अधर्मबाट जोगाएर शरीरधर्मतर्फ डोर्याउँछ । त्यसैले ‘ऐया’ कुनै सामान्य पीडा होइन; यो अवैतनिक, अथक अंगरक्षक हो ।
पुरातात्त्विक दृष्टिले पनि ‘ऐया’ मानव सभ्यताको आधार हो । पुराना हड्डीहरू जोडिएको भेटिनु सभ्यताको प्रारम्भ हो, किनकि त्यो ‘ऐया’ सुन्ने र सेवा गर्ने चेतनाको प्रमाण हो । यदि आदिम मानवमा ‘ऐयाको बोध’ नभएको भए मानव जाति नै लोप भइसक्थ्यो ।
धर्मको अर्थ ‘धारण गर्नु’ हो । शरीरलाई धारण र सुरक्षित राख्ने धर्म नै शरीरधर्म हो, र त्यसको पहरेदार ‘ऐया’ हो । यसले मानिसलाई मध्यम मार्गतर्फ डोर्याउँछ— न अति भोग, न अति कष्ट । पौराणिक मान्यताअनुसार, जबसम्म शरीरमा प्राण र संवेदना रहन्छ, त्यो ‘नारायणको मन्दिर’ हो । संवेदना हराएपछि मात्र सूतक र आशौच सुरु हुन्छ । समाजले शरीरलाई सम्मान गर्ने कारण मासु होइन, त्यसभित्र रहेको ‘ऐया’ हो । यसै सन्दर्भमा ‘ऐयावाद’को शास्त्रीय निष्कर्ष यस्तो छ– ‘संवेदनैव अस्तित्वम्’ (संवेदना नै अस्तित्व हो) । उपनिषद्ले भन्छ— ‘अहं ब्रह्मास्मि ।’ ऐयावाद भन्छ— ‘अहं ऐया अस्मि ।’ जहाँ ‘ऐया’ छ, त्यहाँ अस्तित्व छ । जहाँ ‘ऐया’ को अन्त्य हुन्छ, त्यहाँ स्वामित्व, सम्बन्ध र अधिकार सबै समाप्त हुन्छन् ।
‘ऐया’ दबाउनु– पेनकिलर संस्कृतिमा जकडिनु सत्यलाई छोप्नु हो । ‘ऐया’ को सम्मान गर्नु नै वास्तविक स्वधर्म हो । ऐया व्यथा होइन; यो चेतावनीको घण्टी हो, जीवनरक्षाको संकेत हो । त्यसैले, ऐयालाई घृणा होइन, पूजा गरौं । ऐया छ त हामी छौं । ऐया छैन त हामी पनि छैनौं । लेखक समसामयिक विषयमा कलम चलाउने ढकाल प्राकृतिक चिकित्सा प्रवर्धन अभियानमा संलग्न छन्।