नेभिगेशन
स्वास्थ्य

स्वास्थ्यमा मस्तिष्कको भूमिका सशक्त

प्लेसिबो प्रभावको नयाँ अध्ययन निष्कर्ष

तेल अभिभ – तपाईं फिल्मको पारखी हो भने किल बिल नामक हलिउडको प्रख्यात फिल्मको एउटा दृश्य सम्झाउँछु। उक्त फिल्ममा फिल्मकी नायिकालाई खलपात्रहरूले नराम्रोसँग घाइते बनाउँछन् । नायिका लगभग कोमामा पुग्छे तर पछि उसले आफूलाई मानसिकरूपमा यति दह्रो बनाउँछे कि त्यही मनोबलका कारण उसको हल न चल भएको शरीरलाई उसले चलायमान मात्र बनाउँदिन, जीवनको मूल उद्देश्य पूरा गरी छाड्छे । यस किसिमको व्यवहारलाई चिकित्सक तथा मनोवैज्ञानिकहरूले प्लेसिबो प्रभाव भन्ने गरेका छन् ।

द इकोनमिस्टको पछिल्लो अंकमा प्रकाशित खबरअनुसार, प्लेसिबो प्रभावलाई लामो समयसम्म शंकास्पद र अवैज्ञानिक ठानिन्थ्यो । यस्तो प्रभावमा बिरामीको व्यक्तिगत विश्वासले उपचारको प्रभावकारितामा असर पार्ने गर्छ तर पछिल्लो समय भएका अनुसन्धानले भने यसलाई वास्तविक, अझै पूर्णरूपमा नबुझिएको, चिकित्सकीय उपकरणका रूपमा स्वीकार गर्न थालिएको छ । नेचर मेडिसिनमा यसै साता प्रकाशित एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले सकारात्मक अपेक्षाले खोपप्रतिको रोगप्रतिरोधात्मक प्रतिक्रियालाई बढाउन सक्छ भन्ने देखाउँदै यस विषयको भित्री कार्यविधि उजागर गर्न थालेका छन् ।

इजरायलस्थित तेल अभिभ विश्वविद्यालयका न्यूरोवैज्ञानिक नित्जान लुबियानिकर र तामार कोरेनले रोगप्रतिरोधात्मक स्वास्थ्य नियमनमा मस्तिष्कको भूमिका बुझ्न चाहेका थिए । उनीहरूले पुरस्कारसम्बन्धी व्यवहारसँग जोडिएको र मुसामा रोगप्रतिरोधात्मक कार्यसँग सम्बन्धित मानिने मस्तिष्क क्षेत्र (मेसोलिम्बिक नेटवर्क)मा ध्यान केन्द्रित गरे । यसका लागि उनीहरूले ८५ स्वयंसेवकलाई उन्नत प्रकारको मस्तिष्क प्रशिक्षणमा सहभागी गराए, जसले सामान्यतया सचेत नियन्त्रणभन्दा बाहिर रहने स्नायु प्रक्रियामा समेत केही प्रभाव पार्न सक्थ्यो ।

सहभागीहरूलाई आफ्नै मस्तिष्क गतिविधिको वास्तविक–समय दृश्य रूप देखाइन्थ्यो, जसलाई अंक वा चलायमान ग्राफजस्ता सरल सूचकमा रूपान्तरण गरिएको थियो । प्रयोगकर्ताहरूका अनुसार उनीहरूको लक्ष्य मानसिक रणनीतिहरू विकास गर्नु थियो । यसले सचेत रूपमा फरक–फरक मस्तिष्क क्षेत्रमा स्नायु गतिविधि उत्प्रेरित गथ्र्यो । प्रत्येक सहभागीलाई आफ्नो व्यक्तिगत तरिका विकास गर्न प्रोत्साहित गरिएको थियो ।

दोहोरिएका सत्रहरूमा सहभागीहरूले प्रयास र त्रुटिबाट कुन रणनीतिले मस्तिष्कका कुन भाग सक्रिय हुन्छन् भन्ने कुरा सिक्दै गए । अनुसन्धानकर्ताहरूले स्वयंसेवकहरूलाई तीन समूहमा विभाजन गरे । पहिलो समूहलाई मस्तिष्कको पुरस्कार प्रणाली सक्रिय गर्न प्रशिक्षण दिइयो । दोस्रो समूहलाई असम्बन्धित मस्तिष्क नेटवर्क सक्रिय गर्न तालिम दिइयो । तेस्रो समूहले कुनै लक्ष्य वा प्रशिक्षण पाएन । प्रत्येक समूहले चार सत्र पूरा गर्‍यो, जसमा प्रशिक्षण समूहका सहभागीहरूले लक्षित क्षेत्रमा गतिविधि सार्न आफ्ना व्यक्तिगत रणनीतिहरू विकास र परिष्कृत गरे । अन्तिम सत्रपछि सबैलाई रोगप्रतिरोधात्मक प्रणालीका लागि मानक चुनौतीका रूपमा हेपाटाइटिस बी खोप लगाइयो ।

खोप अघि र पछि लिइएका रगतका नमूनाहरूले मस्तिष्क गतिविधि र रोगप्रतिरोधात्मक प्रतिक्रियाबीच उल्लेखनीय सम्बन्ध देखाए । प्रशिक्षणका क्रममा, प्रयास नगरेका सहभागीहरूमा समेत, मेसोलिम्बिक नेटवर्कका विभिन्न भाग सक्रिय भएका थिए । तर सबै सहभागीमा एउटै विशेष क्षेत्र (भेन्ट्रल टेग्मेन्टल एरिया) को गतिविधिले खोपबाट उत्पन्न एन्टिबडीको स्तरसँग सकारात्मक सहसम्बन्ध देखायो । वैकल्पिक व्याख्या हटाउन गरिएको विश्लेषणपछि अनुसन्धानकर्ताहरूले यसलाई मानवमा मस्तिष्क–रोगप्रतिरोधात्मक नियामक प्रणालीको पहिलो प्रत्यक्ष प्रमाण हुन सक्ने बताएका छन् ।

सकारात्मक अनुभूतिको भूमिका

यसको मनोविज्ञान बुझ्न डा. लुबियानिकर, डा. कोरेन र उनका सहकर्मीहरूले सहभागीहरूले अपनाएका विभिन्न रणनीतिहरूको तुलना र वर्गीकरण गरे । विश्लेषणले भेन्ट्रल टेग्मेन्टल एरियामा देखिएको गतिविधि विशेषरूपमा सकारात्मक अपेक्षासँग जोडिएको देखायो । भनाइको अर्थ भविष्यप्रतिको आशावादी सोच भएकाहरूको स्वास्थ्य सबल थियो । यो सम्बन्ध प्रशिक्षण प्रक्रियासँगै बलियो हुँदै गयो । यसको विपरीत, आनन्द वा प्रेमजस्ता सामान्य सकारात्मक भावनाले यति स्पष्ट सम्बन्ध देखाएनन् ।

टोलीको अनुसन्धानले शरीरको कार्यप्रणालीमा मस्तिष्कको प्रभावबारे बलियो प्रमाण प्रस्तुत गर्छ । मस्तिष्क–शरीर सम्बन्धको गहिरो बुझाइले रोगप्रतिरोधात्मक स्वास्थ्य बढाउने नयाँ, गैर–आक्रामक उपचार विधिहरूको बाटो खोल्न सक्छ भन्ने उनीहरूको आशा छ । यसले क्यान्सर इम्युनोथेरापी र दीर्घकालीन रोगविरुद्ध सम्भावित प्रयोग हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

यो अध्ययनले प्लेसिबो प्रभावकै जैविक संयन्त्र बुझ्न पनि सहयोग पुर्‍याउन सक्छ । सकारात्मक अपेक्षाहरू लामो समयदेखि प्लेसिबो प्रतिक्रियासँग सम्बन्धित मानिँदै आएका छन् । तर अहिले मात्र अनुसन्धानकर्ताहरूले यस्ता भावनाहरूले मस्तिष्कको पुरस्कार केन्द्र सक्रिय पार्ने र त्यसको रोगप्रतिरोधात्मक प्रतिक्रियामा पर्ने प्रत्यक्ष प्रभाव अवलोकन गरेका छन् । यसको पूर्ण अर्थ र प्रभाव स्थापित गर्न अझ व्यापक परीक्षण आवश्यक छन् । तर मस्तिष्क र शरीरबीचको सम्बन्धको यस्तो स्पष्ट उदाहरणले सम्भावनायुक्त तर कम प्रयोग भएको चिकित्सकीय उपकरणलाई बलियो वैज्ञानिक आधार प्रदान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
स्क्रीनभित्रको एक्लोपन

स्क्रीनभित्रको एक्लोपन

संवेदना नै अस्तित्व हाे

संवेदना नै अस्तित्व हाे

मन मिल्छ किन कसैसँग झट्टै ?

मन मिल्छ किन कसैसँग झट्टै ?