इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार भइरहेको उच्चस्तरीय वार्ता विश्व राजनीतिका लागि निर्णायक मोडमा पुगेको छ । इस्लामावादमा जारी वार्ताले हालैको युद्ध, अस्थायी युद्धविराम र क्षेत्रीय अस्थिरताको पृष्ठभूमिमा दीर्घकालीन शान्ति सम्भव छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्नेछ ।
यो समाचार तयार पारूञ्जेल दोस्रो चरणको वार्ता अमेरिका, पाकिस्तान र इरानबीच भइरहेको छ । एपी समाचारले पहिलो चरणको वार्ता सुखद् भएको बताएको छ । पाकिस्तानले मध्यस्थ गरिरहेको पहिलो चरणको वार्तापछि केहीबेर विश्राम लिइएको थियो । दोस्रो चरणको वार्ता भने अमेरिका र इरानबीच प्रत्यक्ष भइरहेको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूरै सभ्यता मेटिने’ चेतावनी दिएपछि अन्तिम घडीमा दुई साताको युद्धविराम घोषणा गरेका थिए । उक्त निर्णयले तत्काल युद्ध टारे पनि दीर्घकालीन समाधान भने अझै अनिश्चित बनेको छ । वार्ताको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानतर्फबाट विदेशमन्त्री अब्बास अरागची प्रमुख वार्ताकारका रूपमा सहभागी छन् ।
वार्ताअघि नै दुवै पक्षका धारणा एकअर्कासँग जुध्ने किसिमका देखिएका छन् । भान्सले अमेरिका छाड्नुअघि भनेका थिए, ‘इरान इमान्दारीका साथ वार्तामा आउँछ भने हामी पनि हात बढाउन तयार छौं,’ तर उनले चेतावनी पनि दिएका थिए, ‘उनीहरूले हामीलाई खेलाउन खोजे भने हाम्रो टोली त्यति सहज हुने छैन ।’ अर्कोतर्फ इरानी राष्ट्रपति मसुद पेजस्कियनले लेबनानमा भइरहेका आक्रमण रोकिएन भने वार्ता ‘अर्थहीन’ हुने बताएका थिए ।

वार्ताको सबैभन्दा जटिल मुद्दा इरानको आणविक कार्यक्रम हो । अमेरिका इरानलाई युरेनियम शुद्धीकरण कार्यक्रम रोक्न बाध्य पार्न चाहन्छ भने इरानले न्युक्लियर नन–प्रोफिफेरेशन ट्रिटीअन्तर्गत नागरिक प्रयोजनका लागि शुद्धीकरण गर्ने अधिकार आफूलाई भएको दाबी गर्दै आएको छ । ट्रम्पले इरान ‘कहिल्यै आणविक हतियार नबनाओस्’ भन्ने उद्देश्यले सैन्य कारबाही सुरु गरिएको बताएका छन्, तर इरानले भने आफूले हतियारका लागि युरेनियम शुद्धीकरण नगरेको भन्दै आरोपलाई सधैं अस्वीकार गर्दै आएको छ ।
यो वार्ताको अर्को महत्वपूर्ण विषय होर्मुज जलडमरूमध्य हो । विश्वकै महŒवपूर्ण तेल ढुवानी मार्ग मानिने यो जलमार्गमा इरानले कडा नियन्त्रण कायम गरेको छ । अहिले सयौं जहाजहरू अड्किएका छन् भने केही जहाजबाट करिब २० लाख डलर शुल्क लिइएको जानकारी आएको छ । ट्रम्पले यसप्रति असन्तुष्टि जनाउँदै ‘ट्यांकरबाट शुल्क नलिन’ इरानलाई चेतावनी दिएका छन् । इरानले भने यसलाई आफ्नो सार्वभौम जलक्षेत्र बताउँदै नयाँ नियम लागू गर्ने संकेत दिएको छ ।
क्षेत्रीय सुरक्षाको अर्को संवेदनशील पाटो इरानका सहयोगी समूहहरू हुन् । हिजबुल्लाह, हमास र हुथी अभियानजस्ता समूहहरूलाई इरानले ‘प्रतिरोधको अक्ष’का रूपमा प्रस्तुत गर्दै आएको छ । पछिल्लो समय इजरायलले लेबनानमा रहेको हिजबुल्लाह पकड क्षेत्रमाथि आक्रमण जारी राखेको छ । उता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले तिनलाई इजरायली ‘अस्तित्वका लागि खतरा’ भन्दै पूर्ण रूपमा समाप्त गर्नुपर्ने बताएको छ । इजरायलले लेबनानमा आक्रमण जारी राख्ने संकेत दिएको छ भलै हाललाई उसले आक्रमण स्थगन गरेको किन नहोस् । यसले वार्तालाई थप जटिल बनाएको छ ।
आर्थिक पक्ष पनि उत्तिकै पेचिलो छ । इरानले दशकौँदेखि भोग्दै आएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउनुपर्ने माग राखेको छ । संसद्का सभामुख मोहम्मद बाघेर कलिबाफले वार्ता सुरु हुनुअघि इरानको करिब १२० अर्ब डलर बराबरको जफत सम्पत्ति अमेरिकाले फुकुवा गर्नुपर्ने बताएका छन् । अमेरिकी पक्ष यस्तो ठूलो सहुलियत तत्काल दिन तयार देखिँदैन ।
युद्धविरामपछि पनि वार्ता समूहबीच भ्रम र अविश्वास कायम छ । दुवै पक्षले आ–आफ्ना प्रस्ताव सार्वजनिक नगरे पनि इरानको १० बुँदे र अमेरिकाको १५ बुँदे प्रस्तावबीच ठूलो अन्तर रहेको बताइएको छ । संयुक्त अरब इमिरेट्सका वरिष्ठ कूटनीतिज्ञ अनवर गर्गाशले भनेका छन्, ‘यो वार्तामा धेरै कुरा स्पष्ट छैनन्, विभिन्न पक्षबाट फरक–फरक भनाइ आएका छन्, अब ती विवरण मिलाउनुपर्छ ।’
अमेरिकाले इरानको क्षेप्यास्त्र र ड्रोन कार्यक्रम पनि वार्ताको एजेन्डामा राखेको छ । अमेरिकी सैन्य अधिकारीहरूका अनुसार इरानका ८० प्रतिशत क्षेप्यास्त्र संरचना नष्ट भइसकेका छन् तर इरानले यस विषयमा कुनै सम्झौता नगर्ने अडान लिँदै आएको छ ।
यसबीच, लेबनानको प्रश्नमा पनि ठूलो मतभेद देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले युद्धविराम ‘सबै क्षेत्रमा लागू हुने’ बताएका छन् तर इजरायलले स्पष्ट रूपमा लेबनानमाथि आक्रमण गर्ने मनशाय राखेको देखिएको छ । ट्रम्पले समेत लेबनान र इजरायलबीचको लडाइँलाई ‘अलग द्वन्द्व’ भनेका छन् ।

ट्रम्पको अभिव्यक्तिको शैली पनि वार्ताका लागि प्रमुख चुनौती बनेको छ । उनको आक्रामक र अप्रत्याशित अभिव्यक्तिले एकातिर दबाब सिर्जना गरे पनि अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा आलोचना बढाएको छ । अमेरिका भित्रै उनी अलोकप्रिय हुँदै गइरहेका छन् । उनको लोकप्रियता ४२ प्रतिशतमा झरेको छ भने सिनेटर चक सुमरले ट्रम्पको कदमको कडा आलोचना गरेका छन् । केही रिपब्लिकन नेताहरूले पनि ‘पूरै सभ्यता नष्ट गर्ने’ अभिव्यक्तिलाई अस्वीकार्य बताएका थिए ।
वार्ताको नेतृत्व गरिरहेका भान्सका लागि पनि यो ठूलो परीक्षा हो । एकातिर उनलाई ट्रम्पको अपेक्षा पूरा गर्नुपर्नेछ भने अर्कोतर्फ इरान, इजरायल र युरोपेली सहयोगीहरूको चासो सन्तुलनमा राख्नुपर्नेछ । विश्लेषकहरूका अनुसार उनले ‘सबैलाई सन्तुष्ट पार्नुपर्ने कठिन जिम्मेवारी’ वहन गरिरहेका छन् ।
यो वार्ता सफल भए, यसको सम्पूर्ण श्रेय ट्रम्पले पाउनेछन् । असफल भए यसको सम्पूर्ण दोष ट्रम्पले भान्समाथि थोपर्नेछन् । दुवै हिसाबले ट्रम्प नै माथि हुनेछन् ।

हालका लागि युद्धविरामले तेल बजार र विश्व अर्थतन्त्रमा केही राहत दिएको छ । तर मूल प्रश्न अझै बाँकी नै छ, के यी वार्ताले स्थायी शान्ति ल्याउन सक्छ ? इरानले अमेरिकी सेना फिर्ता, क्षतिपूर्ति र प्रतिबन्ध हटाउने जस्ता कडा सर्त राखेको छ, ती सर्तलाई ट्रम्प प्रशासनले स्वीकार गर्ला ? सम्भावना निकै कम देखिन्छ ।
यसैले, इस्लामाबादमा सुरु हुन लागेको वार्ता अवसर र जोखिम दुवैको संगम बनेको छ । दुई साताको समयसीमाभित्र सहमति जुटाउन नसकिए पुनः युद्ध चर्किने सम्भावना उत्तिकै बलियो छ । अहिलेको अवस्था हेर्दा, यो युद्धविराम मात्र नभई एउटा अस्थायी विराम मात्र हो । यसले खाडी क्षेत्रमा थप ठूलो क्षति गर्नेछ भने विश्वलाई अर्को ठूलो संकट निम्त्याउने देखिन्छ । एजेन्सी
विम्बात्मक उडान ‘मिनाब १६८’
इरानी सभामुख मोहम्मद बाघेर कलिबाफको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँग शान्ति वार्ता गर्न पाकिस्तानको इस्लामाबाद पुग्यो । उनीहरूले प्रयोग गरेको विशेष उडानलाई ‘मिनाब १६८’ नाम दिइएको थियो । उडानका क्रममा विमानको सिटहरूमा मिनाब स्कूल हमलाका पीडित बालबालिकाको फोटो, रगतले लत्पतिएका स्कूल ब्याग, जुत्ता र सेता फूल राखिएको थियो ।
विमानको क्याबिनमा नीलो र रातो सिटहरू खाली थिए । प्रत्येक सिटमा बालिकाहरूको फोटो टाँसिएको थियो । केही सिटमा स्कूल ब्याग र जुत्ता मात्र राखिएका थिए जसमा रगतका टाटा देखिन्थे । सेता फूलहरूले शोकको भाव व्यक्त गरेका थिए । कलिबाफले ती खाली सिटमा रहेका बालिकाहरूको तस्वीर हेर्दै गरेको तस्वीर गरिएको थियो ।
यो सेटअप २८ फेब्रुअरी २०२६ मा इरानको दक्षिणी प्रान्त होर्मोजगानको मिनाब शहरमा भएको स्कूल हमलासँग जोडिएको छ । शजारेह तय्येबेह प्राथमिक विद्यालयमा भएको उक्त हमलामा १६८ जना मुख्यतः ७ देखि १२ वर्षका बालिका, शिक्षक र अभिभावक मारिएका थिए । हमला अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको थियो ।
इरानी प्रतिनिधिमण्डलमा विदेशमन्त्री अब्बास अरागची पनि सामेल थिए । उनीहरू इस्लामाबादमा अमेरिकी प्रतिनिधिसँग शान्ति वार्ता गर्न लागेका बेला तस्वीर लिइएको थियो । यो घटना २०२६ को इरान युद्धको क्रममा भएको सबैभन्दा ठूलो नागरिक हताहतीमध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसंघ र केही अन्तर्राष्ट्रिय संस्थाले यस घटनालाई युद्ध अपराधको रूपमा उल्लेख गरेका छन् । अमेरिकी पक्षले भने यो लक्ष्य निर्धारणमा भएको त्रुटि भएको बताएको छ । इरानले मिनाब स्कूललाई संग्रहालय बनाउने घोषणा गरेको छ । (एजेन्सी)