नेभिगेशन
दृष्टिकोण

नयाँ वर्ष र सांस्कृतिक विविधता

नेपालको सांस्कृतिक आकाशमा हरेक वर्ष दशवटा भिन्न भिन्न नयाँ वर्षको उज्यालो । एउटै सौर्य वर्षभित्र यति धेरै साल, सम्वत सम्वतसर मनाउने यो भूमि यो धरातल संसारमा विरलै छ । नेपालको राष्ट्रिय पञ्चाङ्ग विक्रम सम्वत् र यसको ‘गते’ प्रणालीबारे छोटो चर्चा गर्दा इतिहास र मिथक दुवैको रोचक मिश्रण भेटिन्छ । १९६१ साल तिर चन्द्र शम्शेरले औपचारिक रूपमा ‘गते’ सुरु गरेका थिए । कतै उज्जैनका राजा विक्रमादित्य, कतै चन्द्रगुप्त विक्रमादित्य, कतै काठमाडौंको गौशाला स्थित बत्तिसपुतली राम मन्दिर त कतै साँखुको बज्रयोगिनी परिसरमा पौराणिक राजा विक्रमादित्य अर्थात् विक्रम सेन (उज्जैनबाट साँखु आएका योद्धा, धर्मदेव राजाको पालामा देवी बज्रयोगिनीको कथासँग जोडिएको) प्रतिमूर्ति भन्ने किंवदन्ती छन् । केही महिनाअघि साँखुको उक्त बज्रयोगिनी मन्दिर पुग्दा यो लेखक चकित भयो, त्यहाँ ‘विक्रमादित्यको शिर’ भनिने मूर्ति हुवहु भगवान् बुद्धको अनुहारजस्तै देखिन्थ्यो । उक्त परिसरमा ‘विक्रमादित्यको शिर’ भनिने मूर्ति बुद्धको अनुहारजस्तै देखिनुले मिथक र इतिहासको मिश्रण देखाउँछ । इतिहासकारहरूबीच विक्रमादित्य को थिए र यो सम्वत् कहिले सुरु भयो भन्नेमा फरक फरक मत  पाइन्छ । सामान्यतया ई.पू. ५७ मा सुरु भएको मानिन्छ भने केहीले ५४४ ई. लाई जोड्छन् । प्राचीन शिलालेखहरूबाट प्रमाणित हुन्छ कि यो सुरुमा ‘कृत सम्वत्’ वा ‘मालव सम्वत्’ नामले चिनिन्थ्यो । “विक्रम सम्वत्” नाम त नवौं शताब्दीपछि मात्र प्रचलनमा आयो अर्थात्  विक्रमादित्यको कथा कहानी ९ औं शताब्दीपछि मात्र देखिन्छ । यो चन्द्रसौर अर्थात्  लुनिसोलर क्यालेन्डर हो जसमा चन्द्र महिना र सौर्य सिद्धान्त दुवै प्रयोग हुन्छन् । भारतले १९५७ ई. मा शक सम्वतलाई राष्ट्रिय पात्रो बनायो तर व्यवहारमा ग्रेगोरियन क्यालेन्डर चलिरहेको छ ।
नेपालमा भने विक्रम सम्वत् लिच्छवि कालदेखि नै प्रभावशाली थियो तर स्पष्टत “विक्रम” नाम मल्ल काल (१३ औं शताब्दीदेखि) मा देखिन्छ । जयस्थिति मल्लको स्वर्णपत्र (वि.सं. १४४८), फर्पिङको कनकेश्वर अभिलेख (१२९७), गोरखाको रामेश्वर मन्दिर (१६९३) जस्ता प्रमाण छन् । राणा कालमा चन्द्र शम्शेरले १९०१ ई. (वि.सं. १९५८) मा यसलाई औपचारिक रुपमा सरकारी बनाएर राजनैतिक संरक्षण दिलाए । आज पनि वैशाख १ लाई राष्ट्रिय नयाँ वर्ष मनाइन्छ । सालखाला दशवटा नयाँ वर्षहरूले नेपालको जातीय, धार्मिक र सांस्कृतिक विविधतालाई जीवन्त राखेका छन् । प्रत्येक सम्वत कतै राजा महाराजा त कतै आफ्नो समुदायको पहिचान, प्राचीन कालदेखि नै जब खेतीपाती, वर्षाको अनुमान, मौसम, कृषि चक्र र धर्म संस्कार संस्कृतिका आस्थासँग जोडिन्दै समयको नयाँ वर्षको नयाँ अध्याय आरम्भ भएको पाइन्छ ।
यो हाम्रो सांस्कृतिक विविधता, १४२ भन्दा बढी जातीय समुदाय र बहुधार्मिक परम्पराको जीवन्त प्रमाण हो । एउटै वर्षभित्र निम्न दशवटा सम्वतहरु भेट्टाइएको छ । यी सबैको आ–आफ्नै खगोलीय सांस्कृतिक महत्व, ज्योतिष विज्ञान र गणितीय व्याख्या छ ।
विक्रम सम्वत् (नयाँ वर्ष बैशाख १ गते):  नेपालको राष्ट्रिय नयाँ वर्ष । वसन्त ऋतुको प्रारम्भसँग जोडिएको मेष राशिबाट सुरु भएर मीन राशीमा अर्थात् बिशाखा (वैशाख) बाट सुरु भएर चित्रा (चैत्र)मा एक वर्ष सम्वत्सर सम्पन्न हुन्छ । हाल  विक्रम सम्वत २०८२ विदाई गर्दै यो नयाँ वर्ष २०८३ लागेको उत्सवको उपलक्ष्यमा  एकापसमा शुभकामना आदानप्रदान गर्दै सबै नेपालीले मनाउँछन् मनाउदैछन् । बिस्केट जात्रा, ¥याली, मठ मन्दिर दर्शन, सामाजिक जमघट, परिवारिक भेला र नववर्षीय भोज–बनभोजले देशभर उल्लास छाउँछ । नेपालमा यो सम्वत् हिन्दू सनातनी सभ्यताको साझा सुन्दरतम उपज हो, कुनै एक राजाले सुरु गरेको होइन, तर मल्ल कालदेखि निरन्तर प्रचलित र राणा कालमा आएर यसले औपचारिकता एवम् राजनैतिक संरक्षणको निरन्तरता पायो । जंगबहादुर राणाको मुलुकी ऐन (वि.सं. १९१०) मा विक्रम सम्वत् प्रयोग भएको छ । चन्द्र शम्शेर जंगबहादुर राणाले १९०१ ई. (वि.सं. १९५८) मा औपचारिक रूपमा राष्ट्रिय पात्रो बनाए । १९०३ ई. मा सौर्यमानक पात्रो लागु गरेर बैशाख १ गतेलाई नयाँ वर्ष र सार्वजनिक बिदा जारी भयो । यो नेपालको राष्ट्रिय पञ्चाङ्ग हो जुन धार्मिक पर्व, ज्योतिष, एन कानून, सरकारी दस्तावेज र दैनिक जीवनमा व्यापक प्रयोग र चलनचल्तीमा आउँछ ।
नेपाल सम्वतः कात्तिक शुक्ल प्रतिपदा (न्हू दँ): नेवार समुदाय र सभ्यताको सम्वत हाल राष्ट्रिय मान्यता प्राप्त छ । शंखधर साख्वाले इस्वी ८७९ मा जनताको ऋण माफी गरेर सुरु गरेको ऐतिहासिक घटनासँग जोडिएको । नयाँ वर्षको शुभकामना  ‘न्हुँदया भिन्तुना’ भन्दै म्हःपूजा, परम्परागत पोशाकमा सांस्कृतिक जुलुस र म्हः पूजा (आत्मा पूजा)ले नवीकरणको सन्देश दिन्छ । यो स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको प्रतिक हो ।
तोला ल्होसार (पौष शुक्ल प्रतिपदा) कालान्तरमा तमू ल्होछार पौष १५ गतेः गुरुङ (तमू) समुदायको नयाँ वर्ष ल्होछार जसमा “ल्हो“ को अर्थ वर्ष, वर्ग वा चक्र र “छार“ को अर्थ नयाँ, फेरिने वा ताजा भन्ने बुझाउछ । यसको इतिहास धेरै पुरानो छ र यसलाई गुरुङहरूले करिब ५८४ ई.पू. वरिपरि अर्थात् आजभन्दा २६०९ वर्षअघिको समयदेखि ल्होसार मनाउँदै आएको भनिन्छ ।  हिउँदको अन्त्य र बसन्तको सुरुवातको प्रतिक । गुम्बा, चैत्य, मठमन्दिर र बौद्ध बिहारहरुमा गएर धार्मिक अनुष्ठान, कुलपितृ एवं प्रकृतिको पूजापाठ, परम्परागत नाचगान, विशेष खानपान र प्रार्थनाले परिवार र समुदाय एकताबद्ध । एकापसमा ल्होसारको आशीमालाँ आदानप्रदान गर्छन् ।
सोनाम ल्होसार (माघ शुक्ल प्रतिपदा): तामाङ समुदायको कृषिमा आधारित नयाँ वर्ष । “सोनाम” को अर्थ कृषि बाली अर्थात् कृषकहरुको नव वर्षोत्सव हो । तिब्बती चिनियाँ चन्द्र क्यालेन्डरअनुसार ल्होसार उत्सव मनाइने यो पर्वमा घर सफा र सजावट, गुम्बा भ्रमण–धार्मिक गुरुहरुबाट अभिषेक र आशीर्वाद थाप्ने, डम्फु नाच, सेलो गीत र मास्क डान्सले एकाअर्कामा सुख समृद्धिको कामना गरिन्छ । यो सोनाम ल्होसार परम्परालाई २८६३ वर्षभन्दा बढी समयदेखि मनाउँदै आएको भनिन्छ ।
ग्याल्पो ल्होसार (फाल्गुन शुक्ल प्रतिपदा): शेर्पा समुदायको तिब्बती प्रभावित सामुदायिक उत्सव राजाको नयाँ वर्ष । “ल्हो” अर्थात् वर्ष र “सर” अर्थात् नयाँ । घरपरिसर सरसफाइ रंगरोगन, पूजापाठ प्रार्थना धर्मध्वजा झण्डा फेर्ने फहराउने, खाप्से सुप, गुतुङ र “तासी देलेक”को एकापसमा शुभकामना साटासाट र भव्य परम्परागत नाचगानले नयाँ हर्षोल्लासको भाव जगाउँछ । मन्जुश्री सम्वतको पात्रोमा आधारित रहेर शेर्पाहरुले ग्याल्पो ल्होसार आजभन्दा २१५३ वर्षअघिको समयदेखि मनाउँदै आएको जानकारी पाइन्छ ।
थारु संवत ( माघी, माघ १ गते माघे संक्रान्ति; थारु, मगर र किरात (राई, लिम्बु, सुनुवार) समुदायको नयाँ वर्ष): अन्नबाली भित्र्याउने र हिउँदबाट बसन्ततर्फको संक्रमण । थारु गाउँहरुमा नयाँ वर्षमा नयाँ  नेतृत्व चयनकासाथ र भोज भतेर गरेर मनाउँछन् । यो कृषि र प्रकृतिसँग जोडिएको पर्व र नयाँ वर्ष हो । यस वर्ष सन् २०२६ को जनवरीमा थारु समुदायले थारु संवत २६४९ मनाएका छन् । यो संवत विक्रम सम्वतभन्दा लगभग ५६७ वर्ष पुरानो रहेको विश्वास गरिन्छ ।
येले सम्वत (माघ १ गते माघे संक्रान्ति): यो संवत पहिलो किरात राजा यलम्वरको शासनकालदेखि  सुरु भएको समयदेखि गणना गरिन्छ । यो किरात नयाँ वर्षलाई लिम्बुहरूले ‘येले तङ्वे’, राईहरूले ‘येले दोङ’ र सुनुवार÷याक्खाहरूले ‘येले थोचे’ वा ‘येले नाम्सम’ नामले सम्बोधन गर्छन् । सन् २०२६ को जनवरी १५ देखि येले संवत ५०८६ सुरु भएको छ । यो  विक्रम संवतभन्दा ३०४४ वर्ष पुरानो मानिन्छ ।
ग्रेगोरियन नयाँ वर्ष (जनवरी १):आधुनिक र शहरी युवाहरूले मनाउने । पश्चिमी क्यालेन्डरअनुसारको यो उत्सव पार्टी, फायरवर्क र संकल्पसँग जोडिएको छ । राष्ट्रिय रूपमा पनि स्वीकार्य छ तर यो परम्परागत पञ्चाङ्ग भने होइन । अहिले इस्वि सम्वत २०२६ चलिरहेको छ ।
अल हिजरी (इस्लामिक नयाँ वर्ष): मुस्लिम समुदायको धार्मिक नयाँ वर्ष । जुनजुलाई महिनामा पर्छ । चन्द्र क्यालेन्डरअनुसार मनाइने यो पर्वले इस्लामिक परम्परा र आस्थालाई जीवन्त राख्छ । हाल  अल हिजरी (इस्लामिक वर्ष )१४४७ चलिरहेको छ । आउँदो नयाँ वर्षः आगामी इस्लामिक नयाँ वर्ष (१ मुहर्रम, १४४८ हिजरी) सन् २०२६ को जुन १६ तारिख आसपास सुरु हुन्छ ।
छोनाम-न्वागी पर्व (चेपाङ समुदाय): चेपाङ समुदायको आफ्नै मौलिक नयाँ वर्ष हो यो । प्रकृति पूजा, जङ्गली उत्पादन र परम्परागत रीतिरिवाजसँग जोडिएको यो पर्वले नेपालको आदिवासी संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसरी  यी नौवटा नयाँ वर्ष एउटै वर्षमा फरक–फरक महिनामा पर्छन् तर एउटै भावना बोकेका छन् नवीकरण, गति प्रगति, नयाँ जीवन शक्ति, समृद्धि, परिवारिक एकता, भाइचारा र आशा ।
विक्रम सम्वतको पौराणिक कथा, नेपाल सम्वतको ऋणमुक्ति, ल्होसारहरूको हिउँद–बसन्त चक्र, माघीको फसल उत्सव, ग्रेगोरियनको आधुनिकता र अल हिजरीको धार्मिकता सबैले नेपाललाई सांस्कृतिक मेलो बनाएका छन् । इतिहासलाई स्क्यान गर्दा मिथक, भ्रम र त्रुटि भेटिन सक्छन् । विक्रमादित्यको कथा, बज्रयोगिनीको शिर जस्ता प्रसङ्गले इतिहासभन्दा आस्था ठूलो भएको देखाउँछन् ।
तैपनि प्रत्येक सम्वतप्रति उत्तिकै सम्मान छ । इतिहासकारहरूबीच बहस भए पनि शिलालेखहरू (ढोलपुर ८४२ ई., जयस्थिति मल्ल १४४८) नै प्रमाण हुन् । नेपालमा बैशाख १ लाई राष्ट्रिय बिदा दिने परम्परा यसैको जीवन्त प्रमाण हो । यो विविधता नेपालको सुन्दरता हो । एउटै देशमा नौवटा नयाँ वर्ष मनाउन पाउने यो अवसरले हामीलाई सिकाउँछ फरक क्यालेन्डरले फरक रङ्ग दिन्छ फरक फरक पात्रोहरुको फरक फरक प्रकृतिले फरक रौनकता थप्छ र एउटै आकाशमा उज्यालो छर्छन्, एउटै धरातलमा इन्द्रधनुषी जीवनहरु जुरमुराउछन् ।
नेपालको यो नौवटा नयाँ वर्षको माला साँच्चै अमूल्य छ, जसले हामीलाई एकताको सूत्रमा सूत्रबद्ध गर्छ र विविधताको सौन्दर्यात्मक अनुभूति गराउँछ । विक्रम सम्वत् नेपालको राष्ट्रिय पहिचान र धार्मिक परम्परासँग अटुट रूपमा जोडिएको छ । यसको निरन्तरताले हामीलाई प्राचीन सभ्यतासँग जोडिरहन्छ र भविष्यतर्फ डो¥याउँछ । विगत वर्षहरुबाट पाठ सिक्दै २०८२ साललाई सधन्यवाद विदाई दिदै विक्रम सम्वत् २०८३ नयाँ वर्षको शुभारम्भलाई स्वागत गर्दै यत्रतत्र सर्वत्र सबैको लागि सुख शान्ति समृद्धिको वर्ष होस सबैमा हार्दिक शुभकामना !
(लेखक पत्रकारितामा आवद्ध छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण