नेभिगेशन
दृष्टिकोण

अमरताको खोजी

मानिसहरूले तपाईं मरेपछि तपाईंलाई केका लागि सम्झनेछन् ? अहिले नै आफ्नो ‘विरासत’बारे सोच्नु तपाईंका लागि राम्रो हुन सक्छ
आफूले पछाडि कस्तो विरासत छोड्दैछौं भन्नेबारे सोच्नुले मानसिक स्वास्थ्य सुधार गर्न र जीवनमा अझ अर्थ खोज्न मद्दत गर्न सक्ने एउटा अध्ययनले देखाएको छ । यसका लागि तपाईं वृद्ध नै हुनु पर्दैन । यसको खोजी युवा अवस्थामा नै गर्न सकिनेतर्फ अध्येताहरू सचेत गराउँछन् ।
जब बेथ हन्टरका बुबालाई अल्जाइमर्स रोग लागेको पत्ता लाग्यो, उनले भविष्यमा सुन्न सकियोस् भनेर उनले आफ्ना बुबासँगको संवाद रेकर्ड गर्न अनुमति मागिन् ।
तर उनका बुबाले अस्वीकार गरे । हन्टरका अनुसार उनी आफ्ना सम्बन्धबारे गहिरो भावनात्मक कुरा गर्ने खालका व्यक्ति थिएनन् । उनले आफ्नो रोगको सामना गर्न वा मृत्युबारे खुला कुरा गर्न चाहेनन् । बरु, उनले आफ्ना युद्धकालीन अनुभवहरू लेख्नलाई प्राथमिकता दिए । सुरुमा हातैले लेखे, पछि कसैलाई टाइप गर्न लगाए । मृत्युपछि आफूले छोड्नुपर्ने सबैभन्दा मूल्यवान कुरा यही हो भन्ने उनको विश्वास थियो ।
विरासत छोड्ने चाहना प्रायः वृद्ध व्यक्तिहरूमा बढी देखिन्छ किनभने उनीहरूलाई समय सीमित भएको अनुभूति हुन्छ । तर केही विद्वानहरूका अनुसार विरासत निर्माण गर्ने चाहना जीवनको प्रारम्भिक चरणमै सुरु हुन सक्छ । र, सायद हुनुपर्छ पनि । साथै, भविष्यका पुस्ताका लागि केही छोडेर जाने मानवीय चाहनालाई राम्रोसँग बुझ्दा मानसिक स्वास्थ्य सुधारका नयाँ उपायहरू पत्ता लाग्न सक्छन् भन्ने पछिल्ला अनुसन्धानहरूले पनि देखाएका छन् ।
‘धेरैजसो मानिस यसबारे सोच्दैनन्,’ अमेरिकाको ओहायोस्थित बोलिङ ग्रीन स्टेट युनिभर्सिटीकी सहप्राध्यापक तथा क्यान्सरबाट बचेका व्यक्तिहरूको विरासतसम्बन्धी अध्ययन गर्ने विज्ञ बेथ हन्टर भन्छिन् । तर विरासत विभिन्न रूपमा प्रकट हुन सक्छ र कहिलेकाहीँ यो अचेतन रूपमा पनि रहन्छ । ‘हरेक मानिसले कुनै न कुनै विरासत छोड्छ, चाहे उसलाई त्यसको थाहा होस् वा नहोस्,’ हन्टर भन्छिन् ।
विरासत भन्नाले सम्पत्ति, धन, संगीत वा लेखनजस्ता अमर कलाकृतिलाई मात्र जनाउँदैन । केही अनुसन्धानकर्ताहरूले विरासतलाई मुख्यतः तीन चरण वा श्रेणीमा विभाजन गरेका छन् । पहिलो, जैविक विरासत । यो शरीर र आनुवंशिकतामार्फत रहन्छ । दोस्रो, भौतिक विरासत । यसमा सम्पत्ति र भौतिक वस्तु पर्छन् । तेस्रो चाहिँ, मूल्य तथा विश्वासको विरासत । यसमा धर्म, संस्कृति र परम्परा समावेश हुन्छन् ।
शरीरको विरासत
धेरैका लागि जैविक विरासतको सबैभन्दा स्पष्ट रूप भनेको सन्तानमार्फत आफ्ना जीन अगाडि बढाउनु हो । तर आनुवंशिक वंश र विरासत एउटै कुरा होइनन् । आनुवंशिक वंशले रगत र जीनद्वारा जोडिएको पुख्र्यौली सम्बन्ध जनाउँछ भने विरासतले मृत्यु पछिको प्रभावलाई जनाउँछ ।
जैविक विरासत भनेको आफ्नो शरीर नै दान गर्नु पनि हुन सक्छ । अमेरिकामा करिब १७ करोड मानिस अंगदाता रूपमा दर्ता छन् । त्यसो त हरेक एक हजार मृत्युमा तीनजनाको अवस्थामा मात्र सफल अंगदान सम्भव हुन्छ । केही मानिसले आफ्नो सम्पूर्ण शरीर विज्ञानका लागि दान गर्न चाहन्छन् ताकि मेडिकल विद्यार्थीलाई पढाउन वा नयाँ चिकित्सकीय विधिको अनुसन्धानमा प्रयोग गर्न सकियोस् । अमेरिकामा सन् २०२१ मा मात्रै २६ हजारभन्दा बढी शरीर दान प्राप्त भएका थिए ।
बेल्जियममा शरीर दान गर्न दर्ता भएका १०० भन्दा बढी व्यक्तिमाथि गरिएको एक अध्ययनमा ५७ प्रतिशतले विज्ञानमा योगदान पु¥याउने चाहना मुख्य कारण भएको बताएका थिए । अन्य कारणहरूमा परोपकार र प्राप्त चिकित्सकीय सेवाप्रतिको कृतज्ञता थिए । रोचक कुरा त के भने, १६ प्रतिशतले आफ्नो मृत्यु अर्थपूर्ण होस् भन्ने चाहेका थिए ।
विरासतबारे सोच्नुले मानिसलाई ‘मृत्युको डर’बाट ‘मृत्युप्रतिको गहिरो चिन्तन’तर्फ लैजान सक्छ ।
यो कुरा आनुवंशिक रोग वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूमा पनि लागू हुन्छ । चर्चित अभियन्ता सुसन पोटरले क्यान्सर, मधुमेह र बाथजस्ता रोग भोगेकी थिइन् । उनले भविष्यका चिकित्सकहरूलाई राम्रो प्रशिक्षण दिन आफ्नो शरीर कोलोराडोस्थित ‘भिजिबल ह्युमन प्रोजेक्ट’लाई दान गरिन् । उनको शरीरलाई –९.४ डिग्री सेल्सियसमा जमाएर २७ हजार टुक्रामा काटियो, प्रत्येक टुक्राको फोटो खिचियो र त्यसलाई मिलाएर ‘भर्चुअल शव’ बनाइयो, जसबाट विद्यार्थीहरूले डिजिटल रूपमा शरीरको अध्ययन गर्न सक्छन् ।
हन्टरले क्यान्सरबाट बचेका महिलामाथि गरेको अध्ययनमा सहभागीहरूले आफ्नो विरासतमार्फत परिवारका सदस्यहरूले सकारात्मक स्वास्थ्य व्यवहार अपनाऊन् र नियमित क्यान्सर परीक्षण गरून् भन्ने चाहना व्यक्त गरेका थिए । ‘आफ्नो कुनै चिह्न छोडेर जानु,’ हन्टरका अनुसार, मृत्युको सम्भावना सामना गरिरहेका महिलाहरूका लागि महत्वपूर्ण थियो । विरासतको महत्वले चिकित्सकीय अनुसन्धानमा समेत प्रभाव पार्न सक्छ किनभने यसले बिरामीलाई क्लिनिकल परीक्षणमा सहभागी हुन प्रेरित गर्न सक्छ ।
विरासतबारे सोच्नुले मृत्यु नजिक पुगेका मानिसलाई सान्त्वना पनि दिन सक्छ । जीवनको अन्तिम चरणमा रहेका बिरामीहरूका लागि केही अस्पताल र होस्पिसहरूले ‘विरासत गतिविधि’ सञ्चालन गर्छन् । यसमा डायरी वा स्क्र्यापबुक बनाउने, प्रियजनलाई पत्र लेख्ने, कलात्मक परियोजना गर्ने, वा ‘नैतिक वसीयत’ लेख्ने कामजस्ता पर्छन् । यस्तो दस्तावेज कानूनी होइनन् तर यिनले मानिसलाई आफ्ना विचार, मूल्य र सल्लाह भावी पुस्ताका लागि छोड्छन् ।
गम्भीर बिरामी भएका वयस्क र बालबालिकामाथि भएका अनुसन्धानहरूले यस्ता गतिविधिले डिप्रेसन र चिन्ता कम गर्न मद्दत गर्ने देखाएका छन् । साथै, जीवनको अन्तिम चरणमा शोक प्रक्रियालाई सहज बनाउन पनि यसले सहयोग पु-याउँछ ।
मूल्यहरूको विरासत
परोपकार, सम्पत्ति दान वा मूल्यवान् वस्तु हस्तान्तरण गर्नु भौतिक विरासत छोड्ने उपायहरू हुन् । फोटो, डायरी वा पारिवारिक सामग्रीजस्ता स्मृतिचिह्नहरूले पनि परिवारको इतिहास जोगाउन मद्दत गर्छन् । कसैले आफ्नो नाममा भवन निर्माण गरिदिए समाजमा पनि चिह्न छोडिन्छ । तर मानिसहरूले सबैभन्दा बढी छोड्न चाहने विरासत भनेको आफ्ना मूल्य र विश्वास हुन् भन्ने देखाउँछ । मूल्य र विश्वास भन्नाले दयालुता र अरूलाई सहयोग गर्ने भावना आदि पर्छन् ।
विभिन्न उमेर र स्वास्थ्य अवस्थाका ३८ महिलाका कथाहरू अध्ययन गरिएको एक अनुसन्धानमा सहभागीहरूले आफ्ना अनुभव र मूल्यहरू अगाडि पुस्तामा पु¥याउने चाहना व्यक्त गरेका थिए । उनीहरूले आचरण, धर्म वा आध्यात्मिकतामार्फत नैतिक उदाहरण प्रस्तुत गर्न खोज्थे । साथै, जीवनका कथाहरू, पारिवारिक इतिहास वा महत्वपूर्ण घटनाहरू लेखेर वा रेकर्ड गरेर पनि उनीहरूले आफ्नो विरासत जोगाउन खोजेका थिए ।
‘अन्ततः सबै मर्छौं नै भने जीवनको अर्थ के हो ?’ ड्युक विश्वविद्यालयकी व्यवस्थापन तथा संगठन विषयकी प्राध्यापक किम्बर्ली वेड–बेन्जोनी भन्छिन् ।
मूल्यहरूको विरासत छोड्नुका धेरै सकारात्मक प्रभाव छन् । ६५ वर्षभन्दा माथिका व्यक्तिहरूले तयार पारेका ‘मूल्यहरूको विरासत दस्तावेज’ माथिको एक अध्ययनमा सहभागीहरूले शान्ति अनुभूति गरेको, विगतलाई स्वीकार गर्न सकेको, आफ्ना लागि सबैभन्दा महत्वपूर्ण कुरा व्यक्त गर्न पाएको र यसले उनीहरूलाई बाँचिरहन प्रेरित गरेको बताएका थिए ।
कसैले यसलाई ‘मूर्त उपहार’ भने भने अर्काले भनेका थिए, ‘यसले तपाईंलाई सम्झाउँछ — तपाईंले के–के पार गर्नुभयो, कस्ता चुनौती सामना गर्नुभयो र तिनलाई सामना गर्न कुन विचारधाराले सहयोग ग-यो ।’
विरासतबारे सोच्नु राम्रो
मानिसहरूले हजारौं वर्षदेखि विरासतबारे सोच्दै आए पनि यसको वैज्ञानिक अध्ययन भने करिब ७५ वर्षअघिबाट मात्र सुरु भएको हो । सन् १९५० मा जर्मन मनोविश्लेषक एरिक एरिक्सनले ‘जेनेरेटिभिटी’ शब्द प्रयोग गरे । यसले भविष्यका पुस्ताको हितमा चासो राख्ने मानवीय प्रवृत्तिलाई जनाउँछ । उनले यसलाई मनोसामाजिक विकासको सातौं चरणका रूपमा व्याख्या गरेका थिए, विशेषगरी मध्यम उमेरमा महत्वपूर्ण हुने गरी ।
यदि कुनै व्यक्तिले यो अवस्था हासिल गर्न सकेन भने त्यसले उसको पछिल्लो जीवन र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने एरिक्सनको तर्क थियो । पछिल्ला अनुसन्धानकर्ताहरूले यस सिद्धान्तलाई थप विस्तार गरेका छन् र धेरैले यसलाई मध्यम उमेरको विषय नभई जीवनभर चल्ने प्रक्रिया मान्छन् ।
निस्सन्देह, विरासत छोड्ने चाहनाको अर्को प्रमुख कारण मृत्युको डर पनि हो ।
‘मृत्युले मानिसलाई सोच्न बाध्य बनाउँछ । यदि हामी मर्ने नै हो भने जीवनको अर्थ के ?’ वेड–बेन्जोनी भन्छिन्, ‘जब हामी मृत्युबारे सम्झिन्छौं, हामी मर्न चाहँदैनौं भन्ने पनि सम्झिन्छौं । हामी बाँचिरहन चाहन्छौं ।’ विरासतबारे सोच्नुले मानिसलाई ‘मृत्युको डर’बाट ‘मृत्युप्रतिको गम्भीर आत्मचिन्तन’तर्फ लैजान सक्छ ।
न्युजिल्यान्डको ओटागो विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक जेसी बेरिङका अनुसार मानिसहरू आफ्नो जीवनलाई एउटा कथाजस्तै हेर्छन् । त्यो कथामा आफू मुख्य पात्र भइन्छ । ’अन्तिम पाठ वा नैतिक सन्देश अर्को पुस्तालाई हस्तान्तरण हुन्छ,’ उनी भन्छन् । मानिसहरू अरूले आफूलाई कसरी सम्झनेछन् भन्ने कुरामा गहिरो रूपमा चिन्तित हुन्छन् । मृत्युपछि पनि हामी अरूको विचारबाट पूर्ण रूपमा मुक्त हुन सक्दैनौं ।
मानिसलाई जीवनभर अरूसँगको सम्बन्ध आवश्यक पर्छ । यसले स्वास्थ्य सुधार गर्छ र खुशी दिन्छ । त्यसैले विरासतलाई प्रेम पाउने र समाजसँग जोडिने मानवीय आवश्यकताको ‘कृत्रिम विस्तार’ पनि मान्न सकिन्छ ।
आफ्नै विरासत निर्माण
पछिल्लो समय मृत्युपछिको विरासतका बारेमा अनुसन्धान बढ्दो क्रममा छ । मानिस किन मृत्युपछि आफूलाई असल रूपमा सम्झियून् भन्ने चाहन्छ, यो कुरा अझै पूर्ण रूपमा स्पष्ट छैन । ‘यदि चेतनाका लागि मस्तिष्क आवश्यक छ भन्ने मान्ने हो भने, मृत्युपछि हामी आफ्नै प्रतिष्ठाबारे जान्न वा त्यसको आनन्द लिन सक्दैनौं,’ बेरिङ भन्छन् ।
उनका अनुसार जीवनभर आफूलाई कसरी सम्झिनेछन् भनेर अत्यधिक चिन्ता गर्नुले वर्तमानको आनन्द खोस्न सक्छ । ‘यसले मानिसलाई नैतिक निर्णय लिनसमेत हिच्किचाउन बाध्य पार्न सक्छ, किनकि ऊ ‘मलाई कसरी सम्झिनेछन्’ भन्ने डरले बाँधिन्छ,’ उनी भन्छन् । सत्य के हो भने, आफ्नो विरासतमा पूर्ण नियन्त्रण कसैको हुँदैन । ‘विरासतको अर्थ अन्ततः त्यसलाई ग्रहण गर्नेहरूले तय गर्छन्,’ वेड–बेन्जोनी भन्छिन् तर यसले विरासतबारे सोच्नुका सकारात्मक प्रभावलाई कम गर्दैन ।
वेड–बेन्जोनी र उनका सहकर्मीहरूका अनुसार मानिसहरूले सकेसम्म चाँडै आफूले छोड्न चाहेको विरासतबारे सोच्नुपर्छ र आफ्नो ‘विरासत आकांक्षा’ जीवनभर लेखिराख्नुपर्छ । ‘जब मानिसहरूले आफ्नो विरासतबारे सोच्न थाल्छन्, उनीहरू भविष्यका पुस्तालाई फाइदा पुग्ने तरिकाले व्यवहार गर्न बढी सम्भावित हुन्छन्,’ उनी भन्छिन् । जीवनभर विरासत निर्माणबारे सोच्नुले मानिसलाई आफूले छोड्न चाहेको अर्थअनुसार निर्णय लिन मद्दत गर्छ । यसले वातावरण संरक्षण, दान, चिकित्सा अनुसन्धान सहयोगजस्ता समाजोपयोगी कामतर्फ प्रेरित गर्न सक्छ । व्यवसायीहरूले पनि केवल नाफाभन्दा पर समाजलाई सकारात्मक योगदान दिने व्यवसाय निर्माणबारे सोच्न सक्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार यसको फाइदा दोहोरो छ । पहिलो, यसले बाँचुञ्जेल मानिसलाई उद्देश्य र अर्थ दिन्छ र मृत्युपछि ‘प्रतीकात्मक अमरता’ पनि दिन्छ । यसले मानिसलाई शारीरिक रूपमा नभए पनि भविष्यसँग जोडिराख्छ । एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

जनताको आशाको बजेट

जनताको आशाको बजेट