काठमाडौं । धितोपत्र तथा बीमा कसुरमा फरार चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका लगानी समिति सदस्य सुभाष पौडेल, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकी सञ्चालक सुनिता महर्जन तथा नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक अनुप मालाकार र सुनिता श्रेष्ठ छन् ।
सीआईबीका अनुसार उनीहरूलाई सोमबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको हो । धितोपत्र बोर्ड र बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान गरी उनीहरूविरुद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अभियोजन गरेको हो । प्रहरीका अनुसार पौडेलमाथि धितोपत्र तथा बीमा दुवै ऐनअन्तर्गत, महर्जनमाथि धितोपत्र ऐनअन्तर्गत तथा मालाकार र श्रेष्ठमाथि बीमा ऐनअन्तर्गत कसुर गरेको आरोप छ ।
यो पक्राउ बीमा कम्पनी तथा सम्बन्धित संस्थाको अर्बौं रुपैयाँ सेयर कारोबारमा प्रयोग भएको र त्यसमध्ये ठूलो रकम फछ्र्योट नभएको प्रकरणसँग जोडिएको छ । अनुसन्धानमा विभिन्न कम्पनीको रकम भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नम्बर ५५) मार्फत व्यक्तिगत ग्राहकका नाममा भएको सेयर कारोबारको राफसाफमा प्रयोग भएको देखिएको छ ।
अनुसन्धानअनुसार हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन क्यापसर्भ, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सलगायत संस्थाबाट ब्रोकरमा ठूलो रकम पठाइएको थियो । रकम सेयर खरिदका लागि अग्रिमका रूपमा पठाइए पनि त्यसको केही हिस्सा सम्बन्धित कम्पनीको नाममा नभई निजी लगानीकर्ताका नाममा भएको कारोबारको राफसाफमा प्रयोग भएको अभियोग छ ।
उपलब्ध अनुसन्धान विवरणअनुसार हिमालयन रि–इन्स्योरेन्सबाट मात्रै २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम विवादित कारोबारमा जोडिएको छ । नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख ५२ हजार रुपैयाँभन्दा बढी, हिमालयन क्यापसर्भको ३७ करोड रुपैयाँ, हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख रुपैयाँभन्दा बढी र एचएलआई लार्ज क्याप फन्डको करिब २५ करोड रुपैयाँ रकम पनि अनुसन्धानमा जोडिएको छ ।
यी रकमलाई जोड्दा बीमा तथा सम्बन्धित संस्थाको करिब ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बराबर रकम विवादित कारोबारमा प्रयोग भएको अनुसन्धान विवरण छ ।
भृकुटी ब्रोकरबाट व्यक्तिगत खातामा
अनुसन्धानको केन्द्रमा रहेको भृकुटी स्टक ब्रोकिङले विभिन्न संस्थाबाट आएको रकमलाई केही ठूला व्यक्तिगत ग्राहकको कारोबारमा प्रयोग गरेको देखिएको छ ।
अनुसन्धान विवरणअनुसार हिमालयन रि–इन्स्योरेन्सबाट आएको २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरका ग्राहक खाताबाट भएको सेयर खरिदको राफसाफमा प्रयोग भएको थियो ।
सीआइबीको अध्ययनअनुसार बीमा कम्पनीबाट भृकुटी स्टक ब्रोकिङ हुँदै व्यक्तिगत ग्राहकको सेयर खरिद गरी सेयर व्यक्तिगत डिम्याट खातामा जम्मा भइ कारोबारको रकम फछ्र्योट नभएको देखिएको छ ।
सामान्य अवस्थामा कम्पनीले आफ्नै लगानीका लागि सेयर किनेपछि सेयर कम्पनीकै नाममा रहनुपर्ने हुन्छ । तर अनुसन्धानमा कम्पनीबाट आएको रकम व्यक्तिगत ग्राहकको कारोबारमा प्रयोग भएको र सेयर पनि ती व्यक्तिकै नाममा गएको देखिएको छ ।
दीपक भट्टको खातामा ठूलो कारोबार
अनुसन्धानमा सबैभन्दा बढी जोडिएको नाम दीपक भट्टको हो । सार्वजनिक भएको अनुसन्धान विवरणअनुसार हिमालयन रि–इन्स्योरेन्सको रकमबाट भट्टको नाममा मात्र ८४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरिएको उल्लेख छ ।
तर हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम भने भट्टसहित राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरका ग्राहक खाताबाट भएको कारोबारको राफसाफमा प्रयोग भएको अनुसन्धानमा देखिएको छ ।
ब्रोकरले उठाउनुपर्ने रकमसमेत ठूलो थियो । अनुसन्धान विवरणअनुसार भट्टबाट करिब २ अर्ब ७३ करोड रुपैयाँ, राजबहादुर शाहबाट करिब ८९ करोड ७० लाख रुपैयाँ, शुभी अग्रवालबाट करिब ६२ करोड ८९ लाख रुपैयाँ र ऋषिराज मोरबाट करिब २३ करोड रुपैयाँ रकम उठाउन बाँकी रहेको देखिएको थियो ।
यसले ब्रोकरले व्यक्तिगत ग्राहकलाई ठूलो रकमको कारोबार गर्न दिएको र त्यसको राफसाफमा संस्थागत रकम प्रयोग भएको अनुसन्धानको निष्कर्षलाई बल पु¥याएको छ ।
कुन सेयरमा मूल्य बढाइयो ?
यो प्रकरणको अर्को महŒवपूर्ण पाटो सेयरको मूल्य प्रभावित पारिएको आरोप हो । अनुसन्धानमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि–इन्स्योरेन्स) को सेयर कारोबार प्रमुख रूपमा जोडिएको छ । सार्वजनिक भएको अभियोगसम्बन्धी विवरणअनुसार नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य २०८२ साउन ५ गते प्रतिकित्ता १ हजार ४६१ रुपैयाँ रहेकोमा भदौ १० गते १ हजार ६८६ रुपैयाँ पुगेको थियो । करिब पाँच सातामा सेयर मूल्य १५ प्रतिशतभन्दा बढी बढेको थियो ।
अनुसन्धानले ठूलो रकमको सेयर खरिदमार्फत बजारमा कृत्रिम माग सिर्जना गरिएको र त्यसबाट मूल्य बढाउन सहयोग पुगेको निष्कर्ष निकालेको छ । अनुसन्धान नेपाल रि–इन्स्योरेन्समा मात्र सीमित छैन । एनएलजी इन्स्योरेन्सको सेयर कारोबारमा पनि विभिन्न कम्पनी र सम्बन्धित व्यक्तिहरूको भूमिका रहेको देखाइएको छ । हिमालयन क्यापसर्भ, हिमालयन रि–इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफलगायत संस्थाको कारोबार यससँग जोडिएको अनुसन्धानमा उल्लेख छ । यसैकारण सुनिता महर्जनमाथि धितोपत्रसम्बन्धी कसुरको अभियोग लागेको हो । उनी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकी सञ्चालक हुन् ।
नेपाल माइक्रोको १६ करोड फछ्र्योट भएन
पक्राउ परेका अनुप मालाकार र सुनिता श्रेष्ठको सम्बन्ध भने नेपाल माइक्रो इन्स्योरेन्सको रकमसँग बढी प्रत्यक्ष छ । अनुसन्धानअनुसार नेपाल माइक्रो इन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङमार्फत सेयर कारोबार गर्दा ठूलो रकम अग्रिम दिएको थियो । त्यसको १६ करोड १७ लाख ५२ हजार रुपैयाँभन्दा बढी रकम फछ्र्योट नभएको अनुसन्धानमा देखिएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक तथा व्यवस्थापनका नौ जनाविरुद्ध यही रकमलाई बिगो कायम गरिएको सार्वजनिक विवरण छ । अनुसन्धानमा कम्पनीले सेयरमा लगानी गर्न पाउने सीमासमेत नाघेको उल्लेख छ । उपलब्ध विवरणअनुसार कुल लगानीको १० प्रतिशतसम्म सेयरमा लगानी गर्नुपर्ने व्यवस्थाविपरीत कम्पनीको लगानी ३१.८६ प्रतिशतसम्म पुगेको थियो ।
कम्पनीले ब्रोकरलाई करिब १७ करोड रुपैयाँ पेस्की दिएको र त्यसको ठूलो हिस्सा फछ्र्योट नभएको अनुसन्धानमा देखिएको छ । यसरी कम्पनीको रकम फिर्ता ल्याउने वा फछ्र्योट गराउने जिम्मेवारी सञ्चालक तथा व्यवस्थापनमा रहेको अवस्थामा त्यसका लागि आवश्यक पहल नगरेको आरोपमा मालाकार र श्रेष्ठलाई बीमा ऐनअन्तर्गत प्रतिवादी बनाइएको हो ।