नेभिगेशन
प्रदेश

सुरुङमा थुनिएकाको उद्धार कहिले ?

दिन बित्दै जाँदा परिवारजनामा ठूलो चिन्ता, हेलिकप्टरमा आफैं पुगे आयोजनास्थल

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत सयौं कामदारको अवस्था अज्ञात बनेको ६ दिन बितिसक्दा पनि खोज तथा उद्धार अभियानले परिणाम दिन सकेको छैन । बाढीपछि तत्काल उद्धार र खोजी अघि बढाउनुपर्नेमा सरकारले ढिलाइ गर्दा सुरुङभित्र फसेका कामदारको जीवन जोखिममा परेको छ । 
विपद्को पाँच दिनसम्म सुरुङबाट उद्धारमा ध्यान नदिइएको भन्दै त्यहाँ थुनिएकाहरूका आफन्तले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त सोमबार हेलिकप्टरमा आफैं खोजीमा पुगे । आयोजनाको निर्माणस्थलमा थुनिएका कामदार, प्राविधिक तथा कर्मचारीहरूको तत्काल उद्धारको माग गर्दै परिवारजनले थापाथलीस्थित प्रवर्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) कार्यालयमा पटक–पटक दबाब दिएका थिए । त्यसपछि सम्बद्ध आयोजनास्थलको अवस्था हेर्न परिवारजनालाई हेलिकप्टरमा पठाइएको हो । 
हालसम्म उक्त जलविद्युत आयोजनास्थल र आसपासका क्षेत्रबाट २५४ जनाको सकुशल उद्धार भए पनि अझै ५७६ जनाभन्दा बढी सम्पर्कविहीन रहेको बताइएको छ । यति लामो अवधिसम्म उद्धार टोली पुग्न नसक्नुको कारण के हो भन्दै आफन्तहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उद्धार कार्यमा निजी हेलिकप्टर प्रयोग गर्न समेत नदिइएपछि आइतबार जलविद्युतसँग सम्बन्धित सात संस्थाले संयुक्त विज्ञप्ति नै जारी गरेर उडानको व्यवस्था मिलाइदिन सरकारको ध्यानाकर्षण गराएका थिए । 
विनाशकारी बाढीको पाँचौ दिनमा बल्ल भारत र चीनको विज्ञ टोली आएपछि सुरुङमा फसकोहरूको उद्धारका लागि कामले गति लिएको छ । तर, सोमबार बेलुकासम्म बाढीमा परेका विभिन्न हाइड्रोपावरका १३ वटा टनेल कतैबाट पनि उद्धार हुन सकेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ–त्रिशूली र स्याफ्रुबेंसी क्षेत्रमा सुरुङ उद्धारमा परिचालन गरिएको छ । त्यस्तै, थाइल्याण्डको टोली माथिल्लो त्रिशूली थ्री ‘ए’ र दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ ।
बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट सोमबार सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । बाढी आउँदा भूमिगत विद्युतगृहभित्र ड्युटीमा रहेका किशोर न्यौपाने, सन्तोष पौडेल र छिरिङ तामाङ अझै सम्पर्कविहीन छन् । आयोजनाका अनुसार यहाँ बाढीपछि ९३ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । 
बाढी आएको केही दिनपछि मात्र सुरुङभित्र फसेकाहरूको खोजी तीव्र पारिएको छ । सरकारको अनुमतिमा गत शनिबार चिनियाँ उद्धार टोली निजी हेलिकोप्टर लिएर नुवाकोट पुगेको थियो । नेपाली सेनासँग समन्वय गरेर उक्त टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्र र सोही दिन रसुवाको माथिल्लो त्रिशूली–१ आयोजनाको पनि रेकी गरिएको थियो । रेकीपछि चिनियाँ टोलीले दुवै आयोजनाको वस्तुस्थिति नेपाली सेनालाई जानकारी गराएको थियो । आइतबार चिनियाँ टोली माथिल्लो त्रिशूली–१ क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भयो । उता माथिल्लो त्रिशूली–३ ‘बी’मा नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो ।
त्यसपछि मात्रै सुरुङ क्षेत्रमा जनशक्ति थपेर खोजी कार्य तीव्र पारिएको छ । भारत, चीन लगायतका देशका विज्ञसमेत सो क्षेत्रमा अहिले उद्धार कार्यमा जुटेका छन् । उद्धार कार्यले गति पाउँदा सुरुङभित्रको अवस्था निकै जटिल बनिसकेको छ । नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा करिब १५ मिटरभित्र पुगेर विज्ञ फौजसहित खोज तथा उद्धारको काम भइरहेको छ । 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजनामा मात्रै ठूलो संख्यामा कामदार सम्पर्कविहीन छन् । तीमध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका मात्रै ५ सय ७६ जना कामदारको अवस्था अज्ञात छ । रसुवागढी जलविद्युत् आयोजनाका ९३, रसुवा भोटेकोशीका चार, लाङटाङ खोलाका ४२, चिलिमेका ८ र मैलुङ खोलाका ७ जना कामदार पनि सम्पर्कविहीन छन् । माथिल्लो मैलुङमा कार्यरत कति कर्मचारी सम्पर्कविहीन छन् भन्ने यकिन हुन सकेको छैन । नुवाकोटका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका १ सय ५८ जना, माथिल्लो त्रिशूली–३ का ४२ जना, त्रिशूली जलविद्युत् आयोजनाका र देवीघाटका एक÷एक, मिडिल त्रिशूली गंगाका दुई जना कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । नुवाकोट सौर्य जलविद्युत् आयोजनामा कार्यरत कामदारको अवस्थाबारे समेत यकिन हुन सकेको छैन ।
यी तथ्यांकले बाढीबाट जलविद्युत् क्षेत्रमा परेको मानवीय क्षतिको भयावह तस्वीर देखाउँछ । तर सम्पर्कविहीन कामदारको संख्या ठूलो हुँदाहुँदै पनि सुरुङ र क्याम्प क्षेत्रमा खोज तथा उद्धार अभियान प्रभावकारी रूपमा अघि बढ्न नसकेको सरोकारवालाहरूको गुनासो छ । नेपाल इञ्जिनियर्स एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले सुरुङमा उद्धार कार्य ढिला हुँदा चिन्ता बढाएको बताए । सरकार उद्धार कार्यमा देशभित्र र बाहिरबाट समयमै लिन सकिने सहयोगमा चुकेको पनि बताए । ‘सकुशल उद्धारका लागि राज्यले सम्पूर्ण शक्ति प्रयोग गरोस् । आवश्यक सहयोग विदेशमा लिनुपर्छ भने पनि लिओस्,’ बरालले भने । 
उद्धारमा सरकारमाथि दबाब बढाउन इन्जिनियर्स एसोसियसनले सामाजिक सञ्जालमा अभियान थालेको छ । आज उद्धारमा ढिलाइले दुर्घटना भए भोलि आफूहरूको पनि नियति यस्तै रहनसक्छ भन्दै उनीहरूले चिन्ता पनि व्यक्त गरिरहेका छन् ।
सुरुङको पानीले बढायो जोखिम
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा पनि धेरै मानिस फसेको आशंका गरिएको छ । सुरुङको मुख खोल्ने काम अघि बढाइए पनि पछिल्लो प्रयासले थप जटिलता देखाएको छ । इन्जिनियरसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ–२ का सांसद श्रीराम न्यौपानेका अनुसार राति करिब ३ बजे सुरुङको ‘क्राउन ब्लास्ट’ गरिएको थियो । तर सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने सम्भावना कमजोर बनेको उनले बताएका छन् । ‘क्राउन ब्लास्ट’ पछि पनि सुरुङको मुख खोल्ने काम जारी रहेको छ । तर सुरुङभित्र पानीको मात्रा, बाढीले ल्याएको माटो तथा ढुंगा र संरचनामा भएको क्षतिका कारण उद्धार टोलीका लागि जोखिम बढेको छ ।
सरकारको तयारी र प्राथमिकतामाथि प्रश्न
बाढीपछि अपनाइएको खोज तथा उद्धारको गति र तयारीमाथि प्रश्न उठेको छ । जलविद्युत् आयोजनामा ठूलो संख्यामा कामदार कार्यरत हुने र सुरुङ, क्याम्प तथा भूमिगत संरचना जोखिमपूर्ण हुने जानकारी हुँदाहुँदै पनि विपद््पछिको तत्कालीन उद्धार योजना पर्याप्त देखिएन । सम्पर्कविहीनको संख्या सयौंमा पुगेको जानकारी सार्वजनिक भइसकेपछि पनि सुरुङमा प्रवेश गर्ने र भग्नावशेष हटाउने काम ढिलो सुरु भएको आयोजनाका अधिकारीहरूको गुनासो छ । मोबाइल लोकेसनबाट सम्भावित स्थान पहिचान हुँदाहुँदै पनि उद्धार टोली तत्काल पुग्न नसक्नुले राज्यको विपद् व्यवस्थापन संयन्त्रको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ । 
उसो त विपद्मा सरकारले उद्धार कार्यमा सेनाकै धेरै भूमिका खोजेको देखिन्छ । सेनाले आफ्नो सामथ्र्यअनुसार काम पनि गरिररहेको छ । तर, त्यति मात्रै पर्याप्त नहुँदा सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि बेलैमा अपिल नगर्दा र आउन खोजेकाहरूलाई समेत अनुमति नदिँदा अहिले जोखिम बढाएको भन्दै सरकारको आलोचना सुरु भएको छ । 
बाढीपछि बितेको प्रत्येक घण्टा जीवन बचाउने अभियानका लागि महŒवपूर्ण हुन्छ । तर सुरुङभित्र मानिस फसेको आशंका हुँदाहुँदै खोज तथा उद्धारमा भएको ढिलाइले अहिले ‘मानिस फसेका छन् कि छैनन्’ भन्ने प्रश्नभन्दा पनि ‘उद्धारका लागि समयमै पर्याप्त प्रयास भयो कि भएन’ भन्ने प्रश्नलाई अगाडि ल्याएको छ । अहिले नेपाली सेना, विद्युत् प्राधिकरण तथा सम्बन्धित आयोजनाका प्राविधिक टोली खोजीमा सक्रिय छन् । 
टनेल रेस्क्युमा अबेर खोजियो अन्तर्राष्ट्रिय सहयोग 
सरकारले बाढी विपद्को ५ दिनपछि मात्रै अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता महसुस गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सोमबार विपद्पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोगको माग गरेको जानकारी गराए । ‘हामीलाई सुरुङमार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शवहरू फेला पार्न आईएसएआरजस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता छ,’ उनले भने । 
भोटेकोशीको विनाशकारी बाढी र पहिरोका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४ हजार २ सय जना बेपत्ता रहेको सरकारी तथ्यांक छ । मन्त्रालयका अनुसार प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी व्यक्तिको सफल उद्धार गरिएको छ । जसमा ३२३ जना विदेशी नागरिक रहेका छन् । अझै पनि ३८ देशका करिब ५९० जना विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक छ । बेपत्ताहरूको खोज र परिवारसँगको सम्पर्कका लागि परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरी समन्वय भइरहेको छ ।
मृतकहरूको पहिचानका लागि भारतबाट आएका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोलीले डीएनए परीक्षणमा सहयोग गरिरहेको छ । सिंगापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । नेपालले अमेरिका, चीन, जापान, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूबाट बेलीब्रिज, फ्रिजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए टेस्टिङ किट र खाद्यान्नजस्ता अत्यावश्यक राहत सामग्री प्राप्त गरिसकेको छ । थप सहयोगका लागि चीनसँग उच्च क्षमताका ड्रोन र सिंगापुर तथा दक्षिण कोरियासँग थप प्राविधिक उपकरण माग गरिएको छ ।
नेपाल र चीनबीच जलविज्ञान र मौसमसम्बन्धी तथ्यांक, बाँधका ढोकाहरू र हिमतालको अवस्थाबारे ‘रियल टाइम’ सूचना आदानप्रदान भइरहेको छ । तिब्बत क्षेत्रमा रहेका नेपालीहरूलाई केरुङलगायतका नाकाबाट स्वदेश फिर्ता ल्याउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिलाई रविको ब्रिफिङ
देशमा प्रधानमन्त्री बालेन शाह छन् । तर, प्रधानमन्त्रीले गर्नुपर्ने काम भने सत्तारूढ दलका सभापति रवि लामिछानेले गरिररहेका छन् । बाढीलगत्तै लामिछानेले सर्वदलीय बैठक आह्वान गरे, आइतबार बागमतीका मुख्यमन्त्रीसँग भेट गरे र बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखहरूसँग टेलिफोन संवाद गरे । सोमबार भने सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी बाढीपछि भइरहेका कामबारे ब्रिफिङ गरे । प्रधानमन्त्री शाहसँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए ।
भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पु¥याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेको रास्वपा प्रवक्ता जगदिश खरेलले बताएका हुन् । ‘आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई ब्रिफ गर्नुभएको हो,’ खरेलले भने । राष्ट्रिय संकट र यस्ता विपद्का बेलामा राष्ट्रिय सहमति जुटाउने र राष्ट्रपतिलाई जानकारी गराउनुका साथै परामर्श गर्ने काम प्रधानमन्त्रीले नै गर्ने चलन छ । तर, भोटेकोशी बाढीपछिको अवस्थामा प्रधानमन्त्रीले गर्नुपर्ने यी काम सत्तारूढ दलका सभापतिले गरिरहेका छन् ।

रसुवाका ६ आयोजना

माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट): ५७६ जना सम्पर्कविहीन (अहिलेसम्म २५४ जनाको उद्धार, ३०० जना सुरुङमा फसेको)
रसुवागढी (१११ मेगावाट): ९३ जना
लाङटाङ खोला (२० मेगावाट) : ४२ जना (१८ जनाको उद्धार, सुरुङभित्र अझै २५ जना फसेको)
चिलिमे (२२ मेगावाट): ८ जना
मैलुङ खोला (५ मेगावाट): ७ जना (सुरुङमा नफसेको)
रसुवा–भोटेकोशी (१२० मेगावाट): ४ जना

नुवाकोटका ५ आयोजना:
माथिल्लो त्रिशूली–३ ’बी’ (३७ मेगावाट): १२२ जना (११ जनाको उद्धार)
माथिल्लो त्रिशूली–३ ’ए’ (६० मेगावाट): ४२ जना
मिडल त्रिशूली गंगा (१९.६ मेगावाट): २ जना
त्रिशूली (२४ मेगावाट): १ जना
देवीघाट (१४.९ मेगावाट): १ जना

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्