नेभिगेशन
दृष्टिकोण
मनोविज्ञान

दिनभरको न्युरो–केमिस्ट्री तय गर्ने त्यो एक घण्टा

हरेक बिहान ओछ्यानबाट खुट्टा भुइँमा राख्नुअघि नै तपाईंको आजको मुडको आधा फैसला भइसकेको हुन्छ । थाहा छ कसरी ? वास्तवमा, हाम्रो मस्तिष्क निद्राबाट ब्युँझिनेबित्तिकै एउटा नाजुक ट्रान्जिसन मोडमा हुन्छ । यो समयमा हाम्रो अवचेतन मनले वातावरणबाट संकेतहरू संकलन गरिरहेको हुन्छ । यदि तपाईंको पहिलो ध्यान मोबाइलको नोटिफिकेसन वा अधुरो कामको चिन्तामा जान्छ भने मस्तिष्कले तत्कालै ‘स्ट्रेस मोड’ को स्विच अन गरिदिन्छ । तर, यदि ती सुरुवाती पलहरूमा तपाईंले आफ्नो श्वास र शरीरप्रति सजगता अपनाउनुभयो भने, मस्तिष्कले शान्तिको हर्मोन स्राव गर्छ । त्यसैले, तपाईं उठ्नुभन्दा पहिलो विचार नै दिनभरिको मानसिक स्वास्थ्यको जग बन्न पुग्छ ।

आफूलाई फुर्तिलो बनाउनु आफ्नै हातमा छ । व्यवहारवादी मनोविज्ञानका अनुसार उठ्नेबित्तिकै क्षणिक आनन्दमा भुल्नुले मान्छेका दिन फुर्तिलो कार्यसम्पादन सहितको बन्न गाह्रो छ । उठ्नेबित्तिकै मोबाइल स्क्रोल गर्नु भनेको घरको ढोका खोलेर अपरिचित मान्छेहरूको भीडलाई आफ्नो बेडरुममा पस्न अनुमति दिनु जस्तै हो । आँखा खुलेपछि मोबाइल होइन, पानी समाउनुस् । उठेर पहिलो काम आफ्नो ओछ्यान मिलाउनु गरियो भने दिनको सुखद  सुरुवात हुन्छ । यसले मस्तिष्कलाई सन्देश दिन्छ – म आजको लागि तयार छु ।

नित्यकर्म दिनको सुरुवात मात्र होइन यो पूरै दिनको मानसिक टोन सेट गर्ने प्रणाली हो । तपाईं उठ्नेबित्तिकै जे गर्नुहुन्छ त्यसले मस्तिष्कको काम गर्ने तरिका, भावनात्मक प्रतिक्रिया र निर्णय क्षमता सबैलाई प्रभाव पार्छ । तपाईंले बिहानका पहिलो १–२ घण्टा कसरी बिताउनुहुन्छ भन्ने कुराले मस्तिष्कको तन्त्रिका रसायन (न्युरो–केमिस्ट्री)लाई सक्रिय गराउँछ, जसले दिनभरिको मुड, ऊर्जा र निर्णय क्षमताको आधार तय गर्छ ।
हामी प्रायः दिन बिग्रियो वा राम्रो गयो भनेर साँझतिर मूल्यांकन गर्छौं । तर, सत्य के हो भने त्यो दिनको दिशा प्रायः बिहान नै तय भइसकेको हुन्छ । उठ्नेबित्तिकै जे गर्नुहुन्छ त्यसले तपाईंको सोच, भावनात्मक अवस्था र निर्णय गर्ने क्षमतासम्मलाई गहिरो रूपमा प्रभावित गर्छ । बिहानी रुटिन केवल समय व्यवस्थापन होइन, यो मानसिक संरचना निर्माण गर्ने प्रक्रिया हो ।

हार्मोनको खेलः कोर्टिसोल र सन्तुलन
बिहान शरीरमा कोर्टिसोल (स्ट्रेस हार्मोन) स्वाभाविकरूपमा बढ्छ । यो खराब होइन, यसले हामीलाई उठ्न र सक्रिय हुन मद्दत गर्छ । तर यदि बिहानैदेखि हतार, तनाव र डिजिटल उत्तेजना बढ्यो भने यही हार्मोन असन्तुलित हुन्छ । यसको परिणाममा हामीलाई अनावश्यक तनाव, चिडचिडापन र मानसिक थकान हुन्छ ।
शान्त, संरचित रुटिन, जस्तै हल्का स्ट्रेचिङ, हिँडडुल वा ध्यानले यही हार्मोनलाई सन्तुलनमा राख्छ र दिनलाई सहज बनाउँछ । यदि बिहानै हल्का हिँडडुल वा घामको झुल्कोको आनन्द लिने गरिन्छ भने यसले कोर्टिसोललाई सही ढंगले प्रयोग गर्छ । उठ्नेबित्तिकै मोबाइल चलाउँदा, टीभी हेर्दा वा तनावपूर्ण समाचार पढ्दा कोर्टिसोल झन् बढ्छ, जसले दिनभरि चिन्ता (एन्जाइटी) र छटपटी निम्त्याउन सक्छ ।

डोपामाइनको दिशाः तुरुन्त सुख कि दीर्घकालीन ऊर्जा 
डोपामाइन हाम्रो प्रेरणासँग जोडिएको रसायन हो । बिहान तपाईंले यसलाई कसरी प्रयोग गर्नुहुन्छ, त्यसले दिनभरि ध्यान र ऊर्जा कस्तो रहने निर्धारण गर्छ । यदि बिहानै सोसल मिडियामा हराउनुभयो भने तपाईंको मस्तिष्क छिटो सुख खोज्ने बानीमा अभ्यस्त हुँदै जान्छ । यसले ध्यान क्षमतामा गिरावट ल्याउँछ । तर, व्यायाम, पढाइ वा लक्ष्य केन्द्रित कामले डोपामाइनलाई स्थिर र अर्थपूर्ण दिशामा प्रयोग गर्छ, जसले दिनभरि निरन्तर ऊर्जा दिन्छ ।
मोबाइलको स्क्रीन स्क्रोल गर्दा मस्तिष्कले तत्कालै आनन्द पाउँछ । तर, यो बिहानै गर्नेलाई दिनभरि गहिरा र परिश्रम पर्ने काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । उठ्नेबित्तिकै ओछ्यान मिलाउने, ध्यान गर्ने वा केही लेख्नेजस्ता साना तर अर्थपूर्ण काम गर्दा मस्तिष्कले सिस्टम्याटिक रूपमा डोपामाइन रिलिज गर्छ, जसले दिनभरि अनुशासन कायम राख्न मद्दत गर्छ ।

निर्णयको थकानः साना कुराले ठूलो दिमागी असर भइरहेको हुन्छ । हामी दिनभरि सयौं साना निर्णय लिन्छौं । बिहानैदेखि के गर्ने, के लगाउने, कहाँ जाने भन्ने अन्योलले दिमाग थाक्न थाल्छ । तर यदि बिहानको रुटिन निश्चित छ भने, झट्ट निर्णय लिनुपर्ने आवश्यकता घट्छ । यसले तपाईंको मानसिक ऊर्जा बचत गर्छ, जुन पछि महŒवपूर्ण काममा प्रयोग गर्न सकिन्छ । जेम्स क्लियरको सन् २०१८ मा प्रकाशित ‘अटोमिक ह्याबिट्स’ पुस्तकमा भनिएको छ, ‘तपाईं आफ्नो लक्ष्यको स्तरमा उठ्नुहुन्न । तपाईं आफ्नो प्रणालीको स्तरमा खस्नुहुन्छ ।’

आत्म–नियन्त्रणः बिहानको अनुशासन, दिनभरिको शक्ति हो । बिहान उठ्ने, व्यायाम गर्ने वा कुनै सानो अनुशासन पालन गर्ने बानीले तपाईंको सेल्फ–कन्ट्रोल बलियो बनाउँछ । यसलाई ‘वीलपावर मसल’ जस्तै बुझ्न सकिन्छ । जति प्रयोग ग¥यो, त्यति बलियो हुन्छ । यसको प्रभाव दिनभरि देखिन्छ, काममा ध्यान केन्द्रित गर्न, ढिलासुस्ती घटाउन र भावनात्मक रूपमा स्थिर रहन । जब तपाईं रुटिन अनुसार चल्नुहुन्छ, अवचेतन मनलाई ’म मेरो जीवनको नियन्त्रणमा छु भन्ने सन्देश जान्छ,’ यसले आत्मविश्वास बढाउँछ । यसको विपरीत, हतारमा उठ्ने र दौडादौड गर्ने गर्दा मस्तिष्क ‘फाइट अर फ्लाइट’ मोडमा जान्छ, जसले दिनभरि थकित र तनावग्रस्त बनाउँछ ।
हरेक बिहान केवल समय होइन, मनको ढाँचा तय गर्ने बेला हो । बिहानको रुटिनलाई धेरैजसोले ‘सफल’ मानिसहरुको बानी भनेर मात्र बुझ्छन् । तर यसको वास्तविक महŒव त्यो भन्दा गहिरो छ । यो तपाईंको मानसिक अवस्था निर्माण गर्ने आधार हो । अव्यवस्थित बिहानले दिनलाई अनियन्त्रित बनाउँछ । उद्देश्यपूर्णले  स्पष्ट, शान्त र अर्थपूर्ण बनाउँछ ।
त्यसैले आफैंलाई सोध्ने म बिहान के गर्छु होइन, म आफ्नो मनलाई बिहान यस्तो बनाउँछु भन्नुपर्छ । अन्ततः दिन तपाईंले चलाउनुहुन्न, बिहानले चलाउँछ । हाम्रा पुर्खाहरूले बिहानको सूर्य दर्शन वा तुलसीको मठवरिपरिको सरसफाइलाई धर्मसँग जोडे, त्यसको पछाडि हामीलाई चाहिने प्राकृतिक प्रकाश र सेरोटोनिन सन्तुलनको गहिरो विज्ञान थियो ।

बनाउनुस् बिहानलाई आइडियल
डिजिटल डिटक्सः
 पहिलो एक घण्टा स्क्रिनबाट टाढा रहने । मोबाइल, टेलिभिजनबाट दुरी बनाउनुस् । आँखामा असर गर्ने डिजिटल ग्याजेट सकेसम्म बिहान नचलाउने, नहेर्ने ।

हाइड्रेसनः मस्तिष्कको कार्यक्षमता बढाउन पानी पिउने ।

प्राकृतिक प्रकाशः घामको सम्पर्कमा जाँदा ‘सेरोटोनिन’ (खुसी बनाउने हर्मोन) बढ्छ । सकभर सूर्योदय घरबाहिर टहल्दै हेर्नुस्, प्रातः घुमघाम गर्नुस् ।

कृतज्ञताः‘टक्सिक पोजिटिभिटी’ भन्दा भिन्न, वास्तविकरूपमा कुनै तीन कुराप्रति आभारी हुनुले मस्तिष्कलाई सकारात्मक दिशामा मोड्छ ।

मनोविज्ञानमा बिहानको रुटिन र मानसिक अवस्थाको सम्बन्धलाई केवल बानीका रूपमा मात्र नभई विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट पनि हेरिन्छ । पछिल्लो समय यसमा केही नयाँ पाटाहरू थपिएका छन् ।

१. न्यूरोबायोलोजिकल दृष्टिकोण 
यसले मस्तिष्कको सर्केडियन रिदम (जैविक घडी) लाई मुख्य मान्छ । भर्खरैका अध्ययनहरूले देखाएका छन् कि बिहानको समयमा आँखाको रेटिनामा पर्ने प्राकृतिक प्रकाशले मस्तिष्कको ‘सुपराचियास्मेटिक न्यूक्लियस’लाई सक्रिय बनाउँछ । हाम्रो दिमागको एउटा सानो तर अत्यन्तै महŒवपूर्ण भाग हो, जसले शरीरको जैविक घडी नियन्त्रण गर्छ । यो भाग हाइपोथालामसभित्र हुन्छ र आँखाबाट आउने प्रकाशको संकेतको आधारमा काम गर्छ । यसले राति मेलाटोनिन (निद्रा लगाउने हर्मोन) को उत्पादनलाई सही समयमा सुरु गर्न सघाउँछ । अर्थात्, तपाईंको बिहानको रुटिनले आजको मुड मात्र होइन, आजको रातको निद्रा पनि निर्धारण गर्छ ।

२. संज्ञानात्मक दृष्टिकोण (कग्निटिभ एप्रोच) 
यसले निर्णय प्रक्रियाको थकानको सिद्धान्तलाई जोड दिन्छ । हाम्रो मस्तिष्कसँग सीमित मानसिक ऊर्जा हुन्छ । यदि बिहानै के लगाउने ? के खाने ? वा पहिलो काम के गर्ने ? भन्ने साना कुरामा ऊर्जा खर्च भयो भने, दिउँसो महŒवपूर्ण काम गर्दा मस्तिष्क थाकिसकेको हुन्छ । रुटिनले यी साना निर्णयहरूलाई ‘अटो–पाइलट’ मा राख्छ, जसले गर्दा कार्यक्षमता बचत हुन्छ ।

३. व्यवहारवादी दृष्टिकोण 
यसले ‘बानीमाथि बानी थप्ने’ अवधारणालाई आत्मसात् गर्छ । जेम्स क्लियरजस्ता लेखकहरूले लोकप्रिय बनाएको यो सिद्धान्तअनुसार, बिहानको एउटा स्थापित बानी (जस्तैः ब्रस गर्ने) सँगै अर्को नयाँ बानी (जस्तैः १ मिनेट ध्यान गर्ने) जोड्दा मस्तिष्कले नयाँ मार्ग (न्युरल पाथवेज) छिटो बनाउँछ ।

४. मानवतावादी दृष्टिकोण 
यसले आफ्नो जीवनमा आफ्नै नियन्त्रणलाई प्राथमिकता दिन्छ । बिहानको समयमा फोन नछोएर आफ्नै लागि समय निकाल्नु जस्तै डायरी लेख्नु वा पढ्नुले व्यक्तिलाई ‘म मेरो समयको मालिक हुँ’ भन्ने बोध गराउँछ । यसले आत्म–सम्मान बढाउन र प्रतिक्रियात्मक हुनुको सट्टा सक्रिय हुन मद्दत गर्छ ।

केही नयाँ र रोचक अवधारणाहरूः

डोपामाइन उपवासः बिहानको पहिलो १–२ घण्टा कुनै पनि डिजिटल उत्तेजना (मोबाइल, सूचना, इमेल) बाट टाढा रहनुपर्छ । यसले मस्तिष्कको पुरस्कार प्रणालीलाई ‘रिसेट’ गर्छ, जसले गर्दा दिनभरि साधारण काममा पनि बढी आनन्द र एकाग्रता मिल्छ ।
बिहान ५ बजेको क्लबविरुद्ध जैविक क्रोनोटाइपहरूः नयाँ मनोविज्ञानले सबैका लागि बिहान ५ बजे उठ्नु नै सही हुन्छ भन्ने मान्दैन । बरु, आफ्नो ‘क्रोनोटाइप’ (तपाईं बिहानीको चरा हो कि रातको लाटोकोसेरो)अनुसारको व्यक्तिगत रुटिन बनाउनुलाई बढी वैज्ञानिक मानिन्छ । 

अमेरिकी मनोचिकित्सक डा. विलियम डड्सनका अनुसार एडीएचडी (अटेन्सन–डेफिसिट÷हाइपरएक्टिभिटी डिसअर्डर) भएका व्यक्तिहरूका लागि बिहानको रुटिन ‘बाध्यता’ नभई एक प्रकारको ‘बाह्य संरचना’ हो, जसले उनीहरूको छरिएको मस्तिष्कलाई एउटा दिशा दिन्छ । मस्तिष्कमा ‘कार्यकारी क्षमता’ कमजोर हुने हुनाले उनीहरूलाई आन्तरिक रूपमा कामको प्राथमिकता तय गर्न कठिन हुन्छ । बिहानको एउटा निश्चित बाह्य संरचनाले मस्तिष्कको यो अभावलाई सपोर्ट गर्छ । जब बिहानको रुटिन ‘अटो–पाइलट’ मोडमा सेट हुन्छ, तब मस्तिष्कले अब के गर्ने भन्ने निर्णयमा ऊर्जा खर्च गर्नुपर्दैन ।

यसले बिहानीको अलमल र छटपटीलाई घटाउँछ । यो संरचनाले छरिएका विचारहरूलाई एउटा रेलको लिकमा ल्याएझैं काम गर्छ, जसले गर्दा बाँकी दिन नियन्त्रण बाहिर जाँदैन । अन्ततः यो रुटिन नियम मात्र नभएर उनीहरूको मानसिक शान्तिको सुरक्षा कवच बन्न पुग्छ ।

कामका प्रकृति, पेसा, शारीरिक अवस्था आदिले सबैका लागि एउटै रुटिन नहुन सक्छ । यदि तपाईंको मस्तिष्क अलि फरक ढंगले चल्छ भने अरूको जस्तै ५ बजे उठ्नैपर्छ भन्ने छैन । तपाईंको लक्ष्य अनुशासनमात्र होइन, मानसिक शान्ति हुनुपर्छ ।
 हाम्रो मस्तिष्कलाई ठूला उपलब्धि होइन, साना तर निश्चित ‘जित’ चाहिन्छ । बिहान उठ्नेबित्तिकै एक गिलास पानी पिउनु वा एक मिनेट झ्यालबाट बाहिर हेर्नु पनि एक प्रकारको मानसिक सफाइ हो ।

कल्पना गर्नुस्, तपाईंको मस्तिष्क एउटा ठूलो थिएटर हो । बिहानको पहिलो एक घण्टाले त्यो थिएटरको लाइटिङ र साउन्ड सेट गर्छ । यदि सुरुवातै कोलाहलपूर्ण भयो भने, दिनभरिको नाटक अस्तव्यस्त हुन्छ ।
 अन्त्यमा यसो गरौं, भोलि बिहान जब तपाईंको आँखा खुल्छ, मोबाइलको नोटिफिकेसन होइन, आफ्नो न्युरो–केमेस्ट्रीलाई नियन्त्रण गर्नुस् । किनकि तपाईंको दिनको रिमोट कन्ट्रोल आफ्नै हातमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण