नेभिगेशन
विश्व

टालटुले प्रतिभा हाम्रा लागि राम्रो

हिजोआज ‘पी’ शब्द (प्रोकास्टिनेशन) अर्थात् टालटुल गर्ने बानीको छवि उति राम्रो छैन । मनोवैज्ञानिकहरूले यसलाई बढ्दो चिन्ता, घट्दो आत्मसम्मान र अवशादसँग जोड्छन् । चिन्ताग्रस्त मान्छे काममा सुस्त हुन्छ, उनीहरूमा आत्मसम्मान पनि हुँदैन र खासमा अवशादका कारण उनीहरूमा यस्तो प्रवृत्ति बढी हुन्छ । पत्रिकाहरूमा पनि ‘अहिल्यै टालटुले बानी कसरी बन्द गर्ने’ भन्ने तरिकाहरू सिकाइएका हुन्छन् । अझ पछिल्लो समय त टालटुले बानी कसरी हटाउने भन्ने टिप्स सबैभन्दा बढी ‘बिक्री’ हुन थालेको छ ।
कुनै बेला म पनि टालटुले व्यक्ति थिएँ । मिहिनेत गर्न मन लाग्थेन । लामो समय त्यस्तो अवस्थाबाट गुजारेपछि मैले आफैंलाई सोधें, ‘दीर्घकालीन टालटुल गर्ने बानी भएका २० प्रतिशत मान्छेहरुमा म पनि एउटा हुँ कि के हो ?’ अर्थात् जीवनभर गर्नुपर्ने काम टार्दै जाने प्रवृत्ति राम्रो हो ? केही वर्षअघि यसले मलाई चिन्तित बनाउँथ्यो तर अहिले म चिन्ता गर्दिनँ । किनभने मध्ययुगीन धर्मशास्त्रको एउटा कम चर्चित विचारले मलाई आराम गर्न सिकाएको छ ।
एक दशकभन्दा बढी समयदेखि म सात घातक पापहरूको इतिहास अध्ययन गरिरहेको छु । यो सेल्फहेल्प प्रणाली करिब १६ सय वर्षअघि इजिप्टको मरुभूमिमा विकसित भएको थियो । मध्ययुगीन ज्ञानले अहंकार, डाह, क्रोध, आलस्य, लोभ, अतिभोजन र कामवासना जस्ता बानीलाई ओरिजनल सीन (घातक पाप) मानेको थियो । यिनलाई आधुनिक जीवनसँग पनि सजिलै आत्मसात गर्न सकिन्छ । उदाहरणका लागि, अहंकारबारे अध्ययन गर्दा मलाई आत्ममुग्ध व्यक्तिहरूसँग कसरी व्यवहार गर्ने भन्ने सिकायो । तर चौथो पाप आलस्य (स्लोथ)ले मेरो दृष्टि नै बदलिदियो ।
आलस्यको अर्थ कहिल्यै ‘आलस्य’ थिएन । यो अंग्रेजी अनुवाद सधैं गलत थियो । यसको मूल ग्रीक शब्द ‘एसिडिया’ हो र ‘सुम्मा डी भिटिस’ अर्थात् ‘दोषहरूको सार’ सन् १२३० को दशकको चर्चित कृतिका अनुसार यो ऊबाउपना, अवशाद, चिन्ता र निराशाको मिश्रण हो । यो त्यस्तो अवस्था हो, जहाँ तपाईंलाई आफ्नो दिन वा जीवन कता लैजानुपर्छ भन्ने थाहा हुन्छ तर त्यसलाई कार्यान्वयन गर्न सक्नुहुन्न । जस्तो कि बहनाविहीन डुंगा । स्लोथ अर्थात् आलस्य भनेको दिशाविहीन दिक्कपना होइन; दिशा हुँदाहुँदै पनि हुने दिक्कपना हो ।
सन् १२०० र सन् १३०० को दशकका सेल्फहेल्प ग्रन्थहरूमा मैले टालटुल गर्ने बानीका दुई प्रकारका दृष्टिकोण भेटें । फरक कुरा केमा निर्भर छ भने— त्यस्ता ‘खेर गएका’ क्षणहरूमा हामी आफ्नो मन कसरी प्रयोग गर्छौं । ‘द डिभाइन कमेडी’का लेखक दाँते अलिघिरीले गलत तरिकालाई विनाशतर्फ सुतिरहेजस्तो यात्रा गर्ने अवस्थासँग तुलना गर्छन् । शुद्धीकरण पर्वत चढ्दा, दाँतेको पात्र आलस्यको तहमा सुत्न रोकिन्छ । सपनामा उसले एक महिलालाई देख्छ, जसले मधुर स्वरमा गीत गाउँछिन् । तर उसका मार्गदर्शक भर्जिलले त्यस महिलाको लुगा उठाउँदा भित्र कुहिएको मासु देखिन्छ । दाँतेको सन्देश स्पष्ट छ, दिक्क्पना वा आलस्यले हाम्रो चेतनालाई सुन्न पार्छ र हामीलाई सजिलै भ्रममा पार्न सकिने बनाउँछ । हामी बाहिरबाट आकर्षक देखिने तर भित्रैदेखि कुहिएका कुराहरूको पछि लाग्न थाल्छौं ।
त्यसो भए समाधान के हो ? उत्कृष्ट मध्ययुगीन धर्मशास्त्रीहरूले कहिल्यै पनि यी पापहरूलाई पूर्ण रूपमा हटाउन सकिन्छ भन्ने मानेनन् । उनीहरूका अनुसार ‘सही’ तरिका भनेको टालटुलेपनलाई जारी राख्न दिनु हो तर त्यसलाई हाम्रो हित हुने दिशातर्फ मोड्नु हो ।
युरोपका महान् मठीय चिन्तक क्लेयरभक्सका बर्नार्डले यसलाई यसरी व्याख्या गरेका छन् कि राम्रो जीवन जिउनु भनेको उबडखाबड बाटोमा म्याराथन दौडनु जस्तै हो । हामीलाई लक्ष्य थाहा हुन्छ तर सधैं एउटै गतिमा दौडन सकिँदैन । कहिलेकाहीँ ऊबाउपना, थकान र निरुत्साह आउँछन् । त्यस्ता दिनमा हामी सचेत र सजग रहनुपर्छ । जबसम्म हामी दिमाग सक्रिय राख्छौं, साना ध्यानभंगहरूमा पनि एउटा मिठास हुन्छ । त्यसले निदाएको मनलाई ब्युँझाउन सक्छ ।
दाँतेले यो कुरा राम्ररी बुझेका थिए । दार्शनिक कृति ‘कन्भिभियो’मा उनले आफ्नो जीवनको एउटा समय वर्णन गर्छन्, जब उनी गहिरो ऊब र अवशादमा थिए । त्यसबेला उनी आफूलाई मन पर्ने कामहरू गर्न पनि इच्छुक थिएनन् । त्यस अवस्थाबाट बच्न उनले दुईवटा पुस्तक पढ्न थाले । ती पुस्तकहरूले उनलाई दर्शनशास्त्रप्रतिको प्रेम जगाए र एउटा महŒवपूर्ण शिक्षा दिए— यदि उनले सत्यको खोजीका लागि लेखे भने, आफ्ना इच्छा वा महŒवाकांक्षालाई सही ठह¥याउन होइन भने, लेखनले उनलाई फेरि कहिल्यै दुःखी बनाउने छैन ।
दाँतेले पत्ता लगाएको कुरा नै मध्ययुगीन संस्कृतिको ‘चमत्कारी सूत्र’ थियो । ऊबाउपनलाई आत्म–खोजको द्वारका रूपमा प्रयोग गर्ने । वलफ्राम भोन एसेनबाकको ‘द पर्ल’जस्ता कथामा नायकहरू सुरुमा ध्यानभंग भएको अवस्थाबाट यात्रा सुरु गर्छन् । तर यही भड्काइले उनीहरूलाई अद्भुत अनुभूति दिलाउँछ । पर्जिभाल आफ्नो भौंतारिँदै यात्रामा पवित्र ग्रेलसम्म पुग्छ र ‘द पर्ल’का कथाकार हरियालीमा डुबेर सपनामा स्वर्ग देख्छन्, जहाँ उनले आफ्नी हराएकी छोरीसँग पुनर्मिलन गर्छन् । उनीहरूले खोजेको भन्दा धेरै कुरा भेट्छन् र सीधा बाटोबाट अलि भड्किँदा नै उनीहरूले आफूलाई अझ गहिरो रूपमा बुझ्न सक्छन् ।
त्यसैले यस्ता आलस्यपूर्ण दिनहरूमा समाधान भनेको टालटुललाई एउटा ‘अध्यायको विश्राम’ जस्तो स्वीकार गर्नु हो । मन सफा गर्ने विराम मान्नु हो र सम्झिनु हो कि जबसम्म हामी सचेत रहन्छौं, त्यहाँ केही न केही मूल्यवान् कुरा भेटिन्छ ।
आज म ध्यानभंग आफैं हराउने पर्खनेछु र स्वीकार गर्नेछु कि सानो मात्रामा टालटुल भावनात्मक विकासका लागि आवश्यक हुन्छ । ‘काँडा र झारपछि धेरै फल दिने खेत, कहिल्यै काँडा नदेखिएको तर फल नदिने खेतभन्दा बढी प्रिय हुन्छ ।’
(पिटर जोन्स इतिहासकार हुन्  । उनको सेल्फहेल्प फ्रम मिडल एजेज पुस्तक हालै बजारमा आएको छ  ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्