नेभिगेशन
विश्व

खाडीयुद्ध २.० मा अहिलेसम्मका उपलब्धि के ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘छिट्टै’ आफ्ना उद्देश्यहरू हासिल गर्ने बताएका छन् तर उनले बीचमै लक्ष्यहरू फेरबदल गरेपछि ती उद्देश्य वास्तवमा के थिए भन्ने स्पष्ट छैन, अब युद्ध अस्पष्टतामै लडिने देखिएको छ

गत साता राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिका ‘छिट्टै नै’ इरानसम्बन्धी आफ्ना रणनीतिक उद्देश्यहरू पूरा गर्ने बताएका थिए तर फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि ती उद्देश्यहरूका सन्दर्भमा के हासिल भएको छ त ? सबैको चासो बढेर गएको छ ।
इरानको मिसाइल र ड्रोन खतरा समाप्त गर्ने
फेब्रुअरी २८ मा सार्वजनिक गरिएको आठ मिनेटको भिडियोमा ट्रम्पले अमेरिका ‘इरानका मिसाइलहरू नष्ट गर्ने र यसको मिसाइल उद्योगलाई जमिनमै ध्वस्त पार्ने’ बताएका थिए । अनुमानअनुसार इरानसँग करिब २ हजार ५ सय उच्च–गतिको ब्यालेस्टिक मिसाइल थिए र यो कार्यक्रम नष्ट गर्नु इजरायलको पनि लक्ष्य थियो । इरानको मिसाइल प्रहार दर करिब ९०% ले घटेको छ र यसको उत्पादन क्षमता उल्लेखनीय रूपमा कमजोर पारिएको छ । तर तेहरानसँग अझै सीमित रूपमा भए पनि इजरायल र खाडी क्षेत्रमाथि आक्रमण गर्ने क्षमता बाँकी नै छ । यसले अन्य छिमेकी मुलुकहरूमा डर, क्षति र थोरै मात्रामा भए पनि मानवीय हताहती निम्त्याएको छ ।
इजरायलको इन्स्टिच्यूट फर नेशनल सेक्युरिटी स्टडिजका अनुसार युद्धको चौथो दिनदेखि इरानले दैनिक ७ देखि १९ वटा आक्रमण इजरायलमाथि गरेको छ । सबैभन्दा बढी निशानामा परेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्सले गत विहीबार आफ्नो वायु प्रतिरक्षाले इरानबाट आएका २६ ड्रोन र १९ मिसाइल अवरोध गरेको जनाएको छ । तर रोयटर्सका स्रोतहरूले गत महिना भनेका अनुसार अमेरिकाले इरानको मिसाइल भण्डारको करिब एक–तिहाइ मात्र नष्ट गरेको निश्चित रूपमा पुष्टि गर्न सकेको छ । गत बुधबार ट्रम्पले भने अमेरिका ‘इरानको मिसाइल कार्यक्रमलाई अहिलेसम्मकै सबैभन्दा ठूलो स्तरमा कमजोर बनाइरहेको’ र मिसाइल तथा ड्रोन प्रक्षेपण ‘नाटकीयरूपमा घटेको’ बताएका थिए ।

इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्ने
युद्धको सुरुआतमा ट्रम्पले ‘इरानलाई परमाणु हतियार बनाउन नदिने सुनिश्चित गर्ने’ बताएका थिए । त्यतिबेला इरानसँग ६०% सम्म प्रशोधित ४४० केजी युरेनियम थियो, जुन ९०% सम्म पु¥याउन सके १० वटा बम बनाउन पर्याप्त हुने अनुमान थियो । तर पश्चिमी गुप्तचर निकायहरू र स्वतन्त्र विज्ञहरूले इरानसँग कम्तीमा एउटा बम बनाउने क्षमतासमेत नभएको ठानेका थिए, विशेषतः गत जूनमा अमेरिका र इजरायलले इरानका आणविक स्थलहरूमा गरेको बमबारीपछि ।
पछिल्ला पाँच सातामा इरानका विभिन्न आणविक स्थलहरूलाई थप लक्षित गरिएको छ, जसले बम निर्माण लगभग असम्भव बनाएको छ । तर आणविक सामग्री भने अझै बाँकी छ । सम्भवतः इस्फहानमा रहेको कुनै गोप्य ठाउँमा । गत बुधबार ट्रम्पले यसबारे ‘मलाई मतलब छैन’ भनेका थिए, किनकि त्यो ‘धेरै गहिरो भूमिगत ठाउँमा’ रहेको र उपग्रहमार्फत निगरानीमा रहेको बताएका थिए ।
इरानको नौसेना र वायुसेना ध्वस्त पार्ने
युद्धको सुरुवातमै ट्रम्पले ‘इरानको नौसेना पूर्णरूपमा नष्ट गर्ने’ बताएका थिए । गत महिना अमेरिकी विदेशमन्त्री मार्को रूबियोले इरानको वायुसेना ध्वस्त पार्ने लक्ष्य पनि थपेका थिए । यी लक्ष्यहरू ठूलो हदसम्म हासिल भएको दाबी गरिएको छ ।
मार्चको अन्त्यमा ह्वाइट हाउसले १५० इरानी जहाजहरू नष्ट भएको दाबी गरेको थियो । इरानको वायुसेनाबारे अमेरिकी दाबी त्यति स्पष्ट छैन तर त्यो सैन्यरूपमा प्रभावकारी देखिएको छैन र अमेरिका तथा इजरायलले सुरुदेखि नै वायु सैन्य आक्रमणमा वर्चस्व कायम राखेका छन् । तर यो उपलब्धि दाबी गरिए जति महŒवपूर्ण नहुन पनि सक्छ किनकि असीमित खतराहरूलाई पूर्ण रूपमा समाप्त गर्न गाह्रो हुन्छ । इरानले ड्रोन आक्रमणमार्फत हर्मुज जलडमरूमध्य बन्द गर्न सकेको छ र यस जलमार्गमा बारुदी सुरुङ राख्ने क्षमता अझै रहेको मानिन्छ ।
गत बुधबार ट्रम्पले अब यो जलडमरूमध्य खोल्ने जिम्मा ‘अन्य देशहरूले लिनुपर्ने’ बताएका छन्, जसले उनले आफैंले सिर्जना गरेको समस्याबाट पछि हट्न खोजेको संकेत दिन्छ । यसको प्रतिक्रिया स्वरूप ब्रेन्ट कच्चा तेलको मूल्य ८% ले बढेको थियो ।
इरान समर्थित समूहहरूलाई निःशस्त्र बनाउने
ट्रम्पको प्रारम्भिक प्रतिबद्धता के थियो भने ‘इरानी क्षेत्रका आतङ्ककारी प्रतिनिधि समूहहरूले अब क्षेत्र वा विश्वलाई अस्थिर पार्न र हाम्रो सेनामाथि आक्रमण गर्न नसकून् ।’ यसमा लेबनानको हिजबुल्लाह, यमनका हुथीहरू र इराकका केही समूहहरू थिए तर यी सबैसँग सम्बन्धित द्वन्द्व अझै जारी छन् ।
इजरायलले दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको छ । यसको उद्देश्य लिटानी नदीभन्दा तलका क्षेत्रमा हिज्बुल्लाहलाई हटाउनु हो तर इजरायलमाथि रकेट प्रहार जारी छ । हुथीहरूले इजरायलमाथि तीनवटा मिसाइल आक्रमण गरिसकेका छन् र रेड सी बन्द गर्ने धम्की दिएका छन् । उत्तरी इराकको एर्बिलमा रहेका पश्चिमी सैन्य आधारहरूमा ड्रोन आक्रमण हरेक रात भइरहेको छ । गत साता अमेरिकाको दूतावासले बगदादमा स्थानीय मिलिसियाबाट आक्रमण हुन सक्ने चेतावनी दिँदै अमेरिकी नागरिकलाई देश छाड्न आग्रह गरेको थियो ।
ट्रम्पले भने आफ्नो लक्ष्य फेरबदल गर्दै अब ‘इरानलाई आफ्ना क्षेत्रीय सहयोगीहरूलाई सहयोग गर्नबाट रोक्ने’ मात्र रहेको बताएका छन् ।
शासन परिवर्तन
सुरुमा यो पनि ट्रम्पको लक्ष्य थियो । उनले फेब्रुअरी २८ मा ‘इरानका महान् र गर्विला जनतालाई’ सम्बोधन गर्दै ‘तपाईंहरूको स्वतन्त्रताको समय आएको छ’ भनेका थिए । यद्यपि उनले सम्भावित प्रदर्शनकारीहरूलाई अमेरिकी–इजरायली बमबारी रोकिएपछि मात्र आन्दोलन गर्न सुझाव दिएका थिए, जुन अहिलेसम्म रोकिएको छैन ।
इरानका सर्वोच्च नेता अली खामेनाईको हत्या भए पनि जनआन्दोलनको कुनै संकेत देखिएको छैन किनभने अघिल्ला आन्दोलनहरू जनवरीमा कठोर रूपमा दबाइएका थिए । त्यसपछि उनका छोरा मोज्तबा खामेनाईलाई सत्तामा स्थापित गरिएको घटनाले इरानको विद्यमान शासन टिकेको देखाउँछ ।
अब सूक्ष्म प्रश्न के हो भने, यी खामेनेई कान्छा र रिभोल्युसनरी गाड्र्सका समर्थकहरू मध्यम र दीर्घकालमा टिक्न सक्छन् कि सक्दैनन् । यदि अमेरिकी–इजरायली बमबारी भोलि नै रोकियो भने पनि इरान कमजोर र एक्लिएको अवस्थामा रहनेछ । जुन केही हदसम्म बसर अल असदको शासनले सिरियाली गृहयुद्धको प्रारम्भिक चरण पार गरेपछि भोगेको अवस्थासँग मिल्दोजुल्दो हुन सक्छ । (द गार्डियन)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्