नेभिगेशन
प्रदेश

बर्दिया निकुञ्जका मध्यवर्ती वनमा साइकल सरर

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका तीनवटा सामुदायिक वनले पर्यटक सेवा विस्तार गर्न साइकलिङ सेवा सुरु गर्ने भएका छन् ।
स्थानीय समुदायलाई जीविकोपार्जनका लागि निकुञ्जका स्रोतमा भर नपरी तिनलाई जोगाउँदै वैकल्पिक आयआर्जनका उपाय अवलम्बन गर्दा मात्र संरक्षण सफल हुने विश्वव्यापी मान्यता छ । यही मेसोमा बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा पर्ने तीनवटा सामुदायिक वनले साइकलिङ सेवा सुरु गरेका हुन् ।
बर्दियाको ठाकुरबाबा मन्दिर आसपासको ठाकुरद्वारा मध्यवर्ती सामुदायिक वन, चित्कैया मध्यवर्ती सामुदायिक वन र शिवपुर मध्यवर्ती सामुदायिक वनले साइकलिङ सेवा सुरु गरेका हुन् । सो तीनवटा सामुदायिक वनले हाललाई ६÷६ वटा साइकलमार्फत साइकलिङ सेवा सुरु गरेका छन् । साइकल चढ्न चाहने पर्यटक वा आगन्तुकले ठाकुरद्वारामा रहेको साइकलिङ केन्द्रमा सम्पर्क राखेर साइकल लैजान सक्छन् । एक जनाले बिहान दुई–तीन घण्टा साइकल चलाएबापत ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । सो आम्दानीबाट कार्यालय सञ्चालन र मर्मत सम्भारको खर्च कटाएर बाँकी आम्दानी तीनवटै सामुदायिक वनलाई बराबर बाँडिने योजना छ ।
निकुञ्ज आसपास साइकलिङ सेवा हुनु पर्यटकका लागि थप आकर्षण हो । ‘साइकलिङले सामुदायिक वनलाई आयआर्जन हुन्छ भने पर्यटकलाई थप सेवा उपलब्ध हुन्छ । यसले पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्छ,’ ठाकुरद्वारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नमराज जैसी बताउँछन् ।
स्थानीय पर्यटनमा आकर्षण थप्न विश्वव्यापी रूपमै साइकलिङलाई पर्यटनको अंशका रूपमा समावेश गरिएको हुन्छ । पर्यटकले साकलिङ रुचाउँछन् । देशका अन्य निकुञ्जमा जस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा पनि जंगल वाकमा एक जना गाइडसहित आन्तरिक वा बाह्य पर्यटक जाने चलन छ । त्यसैगरी एक, दुई जना साइकलिङ जाँदा यसले पर्यटकलाई एउटा आकर्षण थप्ने आशा छ ।
‘प्रायः विदेशीले साइकलिङ रुचाउँछन् भने नेपाली युवाहरूले पनि साइकलिङ गर्न थालेका छन्,’ चित्कैया सामुदायिक वन उपभोक्ता समितिका सचिव बमबहादुर बुढा मगर भन्छन् । यसले सामुदायिक वनलाई आम्दानीको एउटा बाटो दिने उनको आशा छ ।
‘वन समुदायको स्वामित्वमा रहे पनि निकुञ्जको नियमकानून मान्नुपर्ने हुँदा आयआर्जनको लागि अन्य सामुदायिक वनले अपनाएको कुरा यहाँ लागू हुन गाह्रो हुन्छ । त्यसैले हामीले पर्यटन र संरक्षणलाई जोड्ने उपायका रूपमा साइकलिङलाई उपयुक्त हुने ठानेका छौं,’ उनले भने ।
संरक्षण तब मात्र दिगो हुन्छ, जब स्थानीय समुदायले त्यसबाट लाभ पाउँछ । साइकलिङको औपचारिक सुरुवात मंसिर महिनामा भए पनि विस्तारै यसले गति लिन थालेको छ । ती सामुदायिक वनलाई साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनले युरोपियन आउटडोर प्रोजेक्टको सहयोगमा साइकल उपलब्ध गराएको हो ।
भोलिका दिनमा साइकलिङ राम्रो हुँदै जाँदा तीनवटै सामुदायिक वनलाई जोड्ने योजना पनि छ । तीनवटा सामुदायिक वनमा साइकलिङ गर्दा झण्डै १०, १२ किलोमिटर हुन्छ । सो क्षेत्रमा साइकलिङ गर्न तीन, चार घण्टा लाग्छ । यसले पर्यटकको बसाइ लम्ब्याउन मद्दत पुग्नेछ ।
साइकलिङ गर्नको लागि तीनवटै सामुदायिक वनमा जंगलभित्र साइकलिङ लेन बनाइएको छ । चित्कैया मध्यवर्ती सामुदायिक वनले आफ्नो क्षेत्रमा भएको चारवटा जंगलको प्लटमा ६ किलोमिटरको साइकल लेन बनाएको छ । सो क्षेत्रफल पूरा गर्न झण्डै एक घण्टा लाग्छ । त्यस्तै ठाकुरद्वारा मध्यवर्ती सामुदायिक वनले पनि आफ्नो क्षेत्रमा साइकलिङ लेन बनाएको छ । शिवपुरको भने भूगोल नै राम्रो भएकाले त्यहाँ अन्त जस्तै नयाँ साइकल लेन बनाउनुपरेन भएको पैदल बाटोलाई सुधार गरिएको छ ।
समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण एकाइ बर्दियाका अध्यक्ष गोविन्द थारु मध्यवर्ती क्षेत्रका सामुदायिक वनका काष्ठ पैदावार अरू सामुदायिक वनले जस्तो काट्न, बेच्न नपाउने हुँदा वैकल्पिक आयआर्जनको आधार साइकलिङ हुने बताउँछन् । ‘यहाँ आउने विदेशीहरूले साइकलिङ गर्न चाहन्छन्, त्यसो हुँदा यो एउटा राम्रो सेवाका रूपमा विकास हुन सक्छ,’ नेचर गाइडसमेत रहेका थारु बताउँछन् ।
बर्दियामा रहेर पर्यटन व्यवसायका साथै पन्छी अवलोकनलगायत संरक्षणका काम गरिरहेका रामबहादुर शाही साइकलले घुम्न आउनेहरूलाई थप आकर्षण थप्ने आशा व्यक्त गर्छन् । ‘नदी किनारको घाँसे मैदान र जंगलमा बिहान र बेलुकाको शीलत वतावरणमा साइकलिङ गर्न पाउनु घुम्न आउनेहरूलाई आनन्ददायक अनुभव हुनेछ,’ शाही भन्छन् ।
एक जना फ्रेन्च पर्यटक राफेल ल्याम्बर्टले साइकलिङ गर्दा अपार आनन्द आएको बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जवरिपरि साइकल चलाउँदा गजब अनुभव भयो,’ उनले भने, ‘स्थानीय ग्रामीण समुदाय र शान्त प्राकृतिक वातावरण आनन्द लिने यो एउटा राम्रो उपाय हो । साइकलमा राष्ट्रिय निकुञ्ज वरपर घुम्दै नदी, पन्छी र मृगहरूको अवलोकन गर्नु वास्तवमै अद्वितीय अनुभव रह्यो ।’
त्यस्तै नेपालमा स्वयंसेवी शिक्षिकाका रूपमा काम गरिरहेकी बेलायती सारा फेनेलले बर्दिया भ्रमणमा नदी किनारमा साइकल यात्रामा अपार आनन्द आएको बताइन् । ‘बाइकहरू पनि राम्रै थिए,’ उनले भनिन्, ‘जलवायु परिवर्तनलाई कम गर्ने प्रयासको एक अंशका रूपमा रहेको कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी छौं ।’
बर्दियामा साइकलिङ सुरु हुँदा सबैजना हर्षित भएको शिवपुर बन्दरहवा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशप्रसाद आचार्य बताउँछन् । ‘होटेलले मगाउँदा लगिदिने गरी तयारी गरेका छौं,’ आचार्य भन्छन्, ‘साइकलिङ बर्दियाको नयाँ आकर्षण हुनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्