हामीले सुसंस्कृत राजनीतिलाई अंगाल्नु र अघि बढाउनुको विकल्प छैन । मूल्य र मान्यतामा आधारित राजनीति नै यसको जग हो । हाम्रो अहिलेको राजनीतिक पर्यावरणमा जवाफदेहिता, पारदर्शिता, सहभागितामूलक विकासका अजेण्डाहरू हराउँदै गएका छन् । त्यसैले यी विषयलाई प्रथामिकता दिने सुसंस्कृत राजनीति नै अबको नेपालको मार्गचित्र हुनुपर्छ ।
हामी सबैलाई थाहै छ, अहिलको समाज गतिशील समयसँग जुध्दै अघि बढिरहेको छ । तर हामीले हाम्रो समाजलाई आवश्यक अबको विकास के हो भन्ने निर्क्याेल गर्नुपर्नेछ । लामो समयदेखि हामीले पूर्वाधार निर्माण र भौतिक प्रगतिलाई विकासको मुख्य सूचकका रूपमा अथ्र्याउँदै आयौं । हुन पनि आभारभूत भौतिक पूर्वाधारको अभावमा तीनको उपलब्धता नै विकासको मुख्य सूचक मानिनु अस्वाभाविक र अनौठो थिएन । तर आज आएर हामीले विकासका विगताका सूचकहरूमा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको छ । चेतनाको विकास पनि विकास हो । त्यो कसरी हुन सक्छ र समग्र समाजको उत्थान कसरी हुन सक्छ भन्नेतर्फ हामीले ध्यान दिनुपर्ने बेला आइसकेको छ । त्यसका लागि मुख्यतः आर्थिक आधार सबल बनाउँदै जानुपर्ने देखिन्छ । त्यसपछि सामाजिक विकासका आधारहरूलाई बलियो बनाउन समाजशास्त्रीय दृष्टिकोणले समता र समानताका आधारहरूलाई पनि बलियो बनाउँदै जानुको विकल्प छैन । अब हामीले व्यक्तिको भौतिक प्रगतिमा असर गर्ने कुराहरूमा मात्र सीमित नभई व्यक्तिको मनोवैज्ञानिक विकास र मानसिक समस्याहरूलाई कसरी सम्बोधन गर्ने, दिर्घकालीनरूपमा कसरी हेर्ने भन्ने कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । यी सबै विषयहरू सुसंस्कृत राजनीतिभित्र पर्ने कुरा हो ।
सुसंस्कृत राजनीतिले एउटा चुनाव मात्रै केन्द्रित भएर होइन, एउटा पुस्ताले आगामी पुस्तालाई के दिन सक्छ भन्ने विषयमा पनि योगदानकारी हस्तक्षेप गर्नुपर्ने हुन्छ । भविष्यका चुनौतीहरू के छन् र तिनलाई कसरी सम्बोधन गर्ने भन्ने निर्णय गर्ने र कार्यान्वयनमा लाने काम पनि राजनीतिक नेतृत्वकै कार्यसूचीमा पर्ने कुरा हो । परापूर्वकालदेखि चलिआएको जात्रापात्रा, मेलापातको जगेर्ना कसरी गर्ने, महिला शिक्षालाई कसरी प्रभावकारी बनाउने, गुठी कसरी जोगाउने भन्ने सामान्यजस्ता लाग्ने विषयमा शताब्दीऔंदेखिको समाजिक विकासको क्रम जोडिएको हुन्छ । त्यसलाई क्रमभंग हुन नदिई बदलिँदो सामाजिक परिवेशअनुसार परिमार्जन गर्दै कसरी लैजाने भन्ने निर्णय गर्ने काम पनि राजनीतिक कार्यसूचीको प्राथमिकतामा पर्नुपर्दछ ।
कविवर माधव घिमिरेले भन्नुभएको ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भन्ने अभिव्यक्तिले जेनजी आन्दोलनपछिको अहिलेको अवस्थामा हामीलाई एकसाथ दुईवटा सन्देश दिएको छ । एउटा त सार्वभौम र अखण्ड नेपाल जोगाउने चिन्ता अर्को जलवायु परिवर्तनको असरले हाम्रो भूगोलको संवेदनशीलतामा अनुकूलनको प्रयासहरूलाई अंगाल्नुपर्ने बाध्यता । एउटा त हामीले देश बचाउनुपर्छ अर्को बचेको देशको अवस्थामा बाँच्ने वातावरण बनाउनुपर्ने हुन्छ । यसर्थ, हामीले निरन्तर अध्ययन, अनुसन्धान गर्ने विज्ञहरूको निचोडलाई आमसंवादमार्फत सरोकारवालाई सहभागी गराउँदै समाजले भोगिरहेका समस्या र तिनका समाधानका लागि सहभागितामूलक कार्यप्रणालीले अघि बढाउनुपर्छ ।
अबका दिनमा व्यक्तिको आत्मसम्मान, अपनत्व र अस्तित्वलाई सम्बोधन गर्ने प्रणाली विकास गर्दै समग्र समाजको विकासका मुद्दाहरूमा बहस गर्नु पनि सुसंस्कृत राजनीतिका आधार हुन् । हामी सम्भावनाको अभावमा होइन अल्पकालीन दृष्टिकोण र उदात्त राजनीतिक संस्कृतिको अभावमा अल्मलिइरहेका छौं । सतहमा जे देखिन्छ त्यसमा मात्र केन्द्रित भएर अल्मलिइरहेका छौं । बाटोमा हिँडिरहेका बेला चोकमा रमितेले देखाउने रमितामा मान्छेहरू झुम्मिरहेजस्तै कतै हाम्रो राजनीति नै अल्झिरहेर मूल लक्ष्य बिर्सिएका त होइनौं भन्नेजस्तो अवस्था देखिन्छ ।
भर्खरै सहिद दिवस मनाउँदै गर्दा हामीले हाम्रा पुर्खाहरूले आधारभूत मानव अधिकारको आवाज उठाउँदा ज्यानको आहुति दिएको गर्विलो इतिहासको स्मरण गरेका छौं । क्रमिक विकासका क्रममा राजनीतिक चेत पलाउँदै गएर ज्ञात–अज्ञात सहिदको बलिदान र पुर्खाहरूको योगदानले देशमा गणतन्त्र स्थापना भइसक्दा पनि समय परिस्थितिअनुसारको विकासको माग गर्दै जनेजी आन्दोलन हुन पुग्यो । सो आन्दोलनले नयाँ चेतानाको प्रसार गरेको हो भन्ने कुरा हामीले बिर्सनुहुँदैन । त्यसैले नवपुस्तको उत्साह र मागलाई पुराना पुस्ताको अनुभव र ज्ञानले मार्गप्रशस्त गर्दै अघि जानुपर्ने दायित्व अहिले हाम्रो काँधमा आइलागेको छ । त्यसका लागि राजनीतिले नीति निर्माणको कामलाई अग्रगमनमा लानुपर्ने हुन्छ । राम्रो नीतिले नै राम्रो प्रणाली बनाउने आधार दिन्छ जसले समग्रमा विकासलाई अघि बढाउन सकिन्छ । त्यसैले हामीले साँघुरो सोचले होइन कि फराकिलो सोच राखेर अघि बढ्नुपर्छ । त्यसैले कस्तो नीति बन्दा सबै नागरिकले सम्मानजनक वातावरण र विकासमा सहभागिता जनाउन सक्छन् भन्ने छलफललाई अब मूलप्रवाहमा ल्याउनुपर्ने हुन्छ ।
सुसंस्कृत राजनीतिले लागेको रोगको निदान गर्ने मात्र होइन, रोग कसरी लाग्यो, रोग लाग्नै नदिन के कस्तो परिपाटी बनाउन सकिन्छ त्यो बनाउने नीतिनिर्माणलाई प्राथमिकतामा राख्नेछ । हामीले भन्दै आएका छौं, भ्रष्टाचार अहिलेको हाम्रो समाजको सबैभन्दा ठूलो रोग हो । तर भ्रष्टाचार किन भइरहेको छ ? त्यसका कारणहरू पत्ता लगाएर ती कारणमा निर्मम प्रहार गर्नुपर्छ । अर्को कुरा समाजमा किन यति धेरै वितृष्णाका भाष्य प्रसार भइरहेका छन् ? मान्छेमा किन यति धेरै तिक्तता छन् ? ती तिक्तताहरूका कारण के हुन् ? त्यसका समाधानका उपायहरू के हुन् ? यीलगायतका समाज विकासका यावत् प्रश्नको उत्तर खोज्ने काम नै सुसंस्कृत राजनीतिले गर्छ । अर्को महत्त्वपूर्ण कुरा तीनका निदान पत्ता लगाई समग्र समस्याको निराकरणका लागि खटिएर काम गर्नु पनि त्यसअन्तर्गतकै कर्तव्य हो ।
हामीले बदलिँदो परिस्थितिमा सुन्ने संस्कारलाई पनि विकास गर्दै लानुपर्नेछ । सुसंस्कृत राजनीति भनेकै चर्को नाराभन्दामाथि उठेर नागरिकको पीडा बुझ्ने, प्रश्नलाई लोकतन्त्रको शक्ति मानेर राजनीतिक अभ्यासलाई अघि बढाउनुपर्नेछ । सामाजमा समस्या त्यो बला हुन्छ, जब सुन्ने अभ्यासलाई बेवास्ता गरिन्छ । जब बेवास्ता चरममा पुग्छ, तब क्रान्ति हुन्छ । सात दशकअघि राणा शासन ढल्नुको खास कारण आज सामान्य लाग्ने आभारभूत मानव अधिकार उपभोगका लागि जनताले गरेको मागलाई बेवास्ता गरिँदाको परिणाम थियो । पञ्चायत ढलेर प्रजातन्त्र पुनस्र्थापना हुँदा पनि राजनीतिक अधिकारको जनताका मागको बेवास्ता कारक रहेको थियो । आजको पुस्तालाई पञ्चायती व्यवस्था पनि लोक कथाझैं लाग्ला किनभने आज मतदान गर्न उत्साहका साथ प्रतीक्षारत नवपुस्ताहरू २०६२/६३ को जनआन्दोलपछिको समयमा हुर्किएका छन् । जो विश्वका गतिविधिलाई नजिकबाट नियालिरहेका छन् । उनीहरूले गृहयुद्धले ध्वस्त देशहरूले दश–पन्ध्र वर्षको अवधिमा ईर्ष्यालाग्दो विकास गरेका छन् । त्यो देखेका उनीहरूले हाम्रो देशमा किन विकास भएर भनेर प्रश्न गर्नु अन्यथा होइन । देश नातावाद, कृपावाद, भ्रष्टाचारले बिग्रिएको भाष्य सुन्दा सुन्दा उनीहरूले आखिर ती बेथितिहरू नियन्त्रण होस् भन्नु पनि अन्यथा होइन । त्यसैले अब सुन्ने संस्कारको राजनीतिक पर्यावरणको विकासमा युवा नेतृत्व लाग्नुपर्ने देखिन्छ । जहाँ शक्ति र सत्ता प्रदर्शन होइन जवाफदेहिता र जिम्मेवारी मूल मूल्य हुन्छ । हाम्रो राजनीतिमा समस्या विचारको अभाव होइन संस्कारको अभाव हो । भागबण्डा, पहुँच र शक्ति केन्द्रित सोचले नीति होइन नियत कमजोर बनाएको छ । सुसंस्कृत राजनीतिले यसलाई चुनौती दिन्छ । सत्तामा हुनु उपलब्धि होइन, सही काम गर्न सक्ने साहस नै वास्तविक उपलब्धि हो । यसले गलत राजनीतिको मौन समर्थन गर्ने काम गर्दैन । बहुमत ठूलो हुन सक्छ तर सत्य र न्यायको पक्षमा उभिने आवाज अझ ठूलो हुनुपर्छ ।
भ्रष्टाचार, दण्डहीनता, प्रक्रियागत ढिलासुस्ती विरुद्ध उठाइने प्रश्न अवरोध होइनन्, ती लोकतन्त्रलाई जीवित राख्ने हस्तक्षेप हुन् । सुसंस्कृत राजनीतिले संवाद खोज्छ, संवादको भाषा बोल्छ । असहमति दुस्मनी नभई बहस, अपमान होइन, फरक विचारलाई सम्मान गर्ने, अल्पमतको आवाज सुन्ने र बहुलतालाई शक्ति मान्ने संस्कारबिना लोकतन्त्र खोक्रो हुन्छ । भाषा, संस्कृति, पहिचान र स्थानीय आवाजको सम्मान, यही समावेशी सहभागितामूलक लोकतन्त्रको आत्मा हो । व्यक्ति फेरिए पनि समस्या नफेरिएको गुनासो छ । त्यसको समाधान सत्ता परिवर्तनमा मात्र होइन, प्रणाली परिवर्तनमा छ । त्यसैले अबको नेतृत्वको सफलता भाषणको तालीमा होइन, जनताको भरोसा, अवसर र आत्मसम्मानमा नापिन्छ । यदि हामी सबैले यसलाई अंगीकार गर्न सक्यौं भने राजनीति पुनः सर्वसाधारणको विश्वको कडी बन्नेछ । अनि लोकतन्त्र कमजोर होइन बलियो बन्दै जानेछ । ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ भन्ने महान् अभिव्यक्ति दिएका कवि भूपि शेरचनले ‘यो हल्लै हल्लाको देश’ पनि भनेका थिए । हो हामीले मुलुकमा बेथिति, कुशासन र नेतृत्वहीनको हल्ला भएको धेरै सुन्यौं र देख्यौं पनि । ती हल्ला किन दिनप्रतिदिन आगोजस्तो फैलिरहे त भनेर मनन गर्ने हो भने जसले ती हल्ला फैल्याए, जुन हल्लामा सत्यको केही अंश थियो होला, भने ती कमजोरी र गल्ती नहोस् भन्ने अभिष्टले नै फैल्याएका हुन् । अब हामीले ती कमजोरीले धमिराले वनलाई खाए जस्तै मुलुकलाई खान दिनुहुँदैन । देशलाई अग्रगामी विकासको मार्गमा दौडाउनु फराकिलो सोच राख्दै पुराना पुस्ताको अनुभव र ज्ञानलाई नयाँ पुस्ताको उत्साह र ऊर्जाले अघि लगाउनुपर्छ ।
तसर्थ, राजनीतिको मूलप्रवाहलाई मूल्यमान्यतामा आधारित सुसंस्कृत राजनीतिमार्फत रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई आसन्न निर्वाचनले सम्बोधन गर्नुपर्दछ । केवल सत्ता, चुनाव वा भौतिक पूर्वाधारलाई मात्र विकासको सूचक मान्ने पुरानो सोचबाट बाहिर निस्केर समता, समानता, समावेशिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ । समस्या देखिएपछि समाधानका लागि उत्रिनुभन्दा समस्या उत्पन्न हुनै नदिन संरचनाको विकास गर्नुपर्नेछ । भ्रष्टाचार, दण्डहीनता र वितृष्णाका कारण खोजेर तिनको जरामै प्रहार गर्नु नै यसको आधार हुनेछ । युवापुस्ताको प्रश्न, असहमति र सहभागितालाई लोकतन्त्रको शक्ति मानेर सुन्ने संस्कार विकास गर्दै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजन गर्दै दीर्घकालीन दृष्टिकोणसहित अघि बढे मात्र लोकतन्त्र बलियो र राजनीति पुनः जनताको भरोसाको माध्यम बन्न सक्छ ।
लेखक रास्वपाका नेता हुन्।