नेभिगेशन
दृष्टिकोण

श्री स्वस्थानीको व्रतकथा

साँखुमा व्रत बसिरहेका व्रतालुहरू भक्तपुरको चाँगुनारायण, पनौतीको त्रिवेणीघाट, काठमाडौंको पशुपति र फर्पिङको शेषनारायणसम्म नांगै खुट्टाले हिँडेर गई ती स्थानमा एकएक दिन बास बस्ने गर्छन् । यसरी भ्रमण गर्न जानुलाई परदेश जाने भनिन्छ ।

प्रत्येक वर्ष पुस पूर्णिमाका दिनदेखि माघ पूर्णिमासम्म साँखुको शाली नदीमा आदि शक्ति श्री स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने परम्परा रहिआएको छ । त्यहीं माधवनारायणको पूजा गर्ने  र जात्रा पनि गर्ने  गरिन्छ । साँखुको शाली नदीलाई शैलनदी, नालन्दी र नारायणी पनि भन्ने गरिन्छ । यो शाली नदी बोधिसत्व मणिचूड महाराज बसेको स्थान मणिचूड दह मणिशैलबाट बग्दै आइरहेको हो भनिन्छ । यो साँखु देश बज्रयोगिनी देवीको आज्ञाअनुसार राजा शंखदेव र पुजारी जोगदेव बज्राचार्यको संयुक्त प्रयासबाट कलिगत संवत् १८०१ मा नौओटा ग्रह, नौओटा विहार, नौओटा टोल, नौओर्टी डबली, नौओटा कुण्ड र चारओटा ढोकासमेत निर्माण गराएर स्थापित गरिएको हो, भनिन्छ ।

महिनाभर श्री स्वस्थानी माताको कथा भन्ने र सुन्ने क्रममा श्री स्वस्थानीको पूजा गरेरश्री सत्यनारायणको व्रत बसेर महादेव र माधवनारायणको पूजा गर्ने  गरिन्छ । महिलाहरूले महिनाभरि व्रत बस्दा नुन नखाई दिनको एक छाक फलाहार मात्र खाएर त्यहीं बस्ने गर्दछन् । पुस–माघजस्तो जाडो समयमा दिनहुँ बिहान सबेरै शाली नदीमै नुहाएर एक दिन त्यही स्वस्थानिको भक्तिभाव गरेर कथा सुन्ने गर्दछन् व्रतालु महिलाहरूले रातो सारी लगाएर बस्छन् ।

श्री स्वस्थानीको कथामा यो संसारको सृष्टि हुँदादेखिको कुराको साथै मधुकैटभ दैत्यको वध विष्णु भगवान्ले गरिसकेपछि तिनै दैत्यको शरीरबाट पहाड र जमिन बनेको ब्रह्माले दक्ष प्रजापतिको सृष्टि गरेरमानिसहरूको सृष्टिको सुरुआत गरेको आदि कुरा समावेश गरिएको छ । दक्ष प्रजापतिका ठूली छोरी सतीदेवीका साथै धेरै छो रीहरू भएकाले सबै छोरीहरूको विवाह विष्णु भगवान्लगायत ३३ कोटि देवताहरूसँग गरिदिएका थिए। ठूली छोरी सतीदेवीको भने दक्ष प्रजापतिलाई मन नपर्ने महादेवसँग भएको थियो । भाङधतुरो खाने, नन्दीभृंगी, भूतप्रेत, पिसाच अघिपछि लगाएर हिँड्ने, बाघको छाला बेररे जथाभावी हिँड्ने, हेर्दै अधंगीझैं देखिने महादेवले छलकपट गरेरसतीदेवी विवाह गरेकाले दक्ष प्रजापतिलाई सबैभन्दा मन नपर्ने ज्वाईं महादेव भएको कुरा श्री स्वस्थानीको कथामा उल्लेख गरिएको पाइन्छ ।  

दक्ष प्रजापतिले कोटि होम गर्दा मन नपर्ने  ज्वाईं महादेव र छोरी सतीदेवीलाई मात्र निम्ता नगरी अरू सबै छोरी ज्वाईंका साथै ३३ कोटी देवता, नागनागिनी, यक्ष किन्नर आदि सम्पूर्णलाई निम्ता गरी बोलाएका थिए। यो कुरा थाहा पाएर सतीदेवीले आफ्नो र महादेवको अपमान गरेको सम्झी माइतीमा गएर होम गरिरहेको स्थानमा अत्यन्तै रिसाएर आदि शक्तिस्वरूप उग्ररूप लिँदा देवताको त के कुरा कोही पनि सो उग्र रूपका अगाडि बस्नै सकेनन् सबै भागाभाग गर्न थाले । भयंकर प्रलयजस्तै भइरहेको त्यो समयमा स्वयं महादेव पनि सतीदेवीको सो उग्र रूपका अगाडि बस्न नसकेर भाग्न थाले । महादेव जहाँ–जहाँ भाग्थे त्यहीं विभिन्न रूप लिँदै सतीदेवीले महादेवको बाटो छेक्न थालिन् । यसरी बाटो छेक्दाछेक्दै १० ठाँउमा अर्थात् १० दिशामा १० ओटा रूप काली, तारा, छिन्नमस्ता, धूमावती, बंगलामुखी, कमला, त्रिपुराभैरवी, भुवनेश्वरी, त्रिपुरासुन्दरी र मातंगी हुन गयो । यसैलाई १० महाविद्या भनिन्छ । यो करा महाभागवतको कथामा उल्लेख गरिएको पाइन्छ ।

जब सतीदेवी नियन्त्रणमा आउनुभयो तब यज्ञकुण्डमा गई आफैले अग्निज्वाला प्रकट गरी त्यही ज्वालामा आफ्नो प्राण त्याग गरिन् । आगोले पनि छुन नसकेको सतीदेवीको मृत देह बोकेर महादेव विभिन्न स्थानमा भ्रमण गरिरहँदा सतीदेवीका विभिन्न शक्तिपीठ बनेका हुन् भन्ने मान्यता छ ।

श्री स्वास्थानीको कथामा उल्लेख भएअनुसार ५१ शक्तिपीठमध्ये काठमाडौंको गुहयेश्वरी शक्तिपीठ एउटा हो । पछि सतीदेवीले पर्वत राज हिमालय र मेनकाको गर्भबाट छोरीका रूपमा पार्वती भएर जन्म लिएकी महादेव नै पति पाऊँ भनी श्री स्वस्थानी व्रत बसेर महादेव पति पाउन सफल भएकी हुन् भन्ने श्री स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ । त्यसैको सम्झना स्वरूप यो श्री स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने परम्परा चलिआएको हो भनिन्छ ।

प्रत्येक वर्ष यसरी व्रत बस्ने महिलाहरूको संख्या १ सयभन्दा बढी हुने र त्यो संख्या बर्से नि बढ्दै गएको देखिन्छ । साँखुमा व्रत बसिरहेका व्रतालुहरू भक्तपुरको चाँगुनारायण, पनौतीको त्रिवेणीघाट, काठमाडौंको पशुपति र फर्पिङको शेषनारायणसम्म नांगै खुट्टाले हिँडेर गई ती स्थानमा एकएक दिन बास बस्ने गर्छन् । यसरी भ्रमण गर्न जानुलाई परदेश जाने भनिन्छ । देशका विभिन्न स्थानमा विभिन्न किसिमले श्री स्वस्थानीको व्रत बस्ने गरिन्छ ।

यसरी व्रत बसेमा महिलाहरूले आफूले चिताएकोजस्तो राम्रो असल पति पाउने र मनका सम्पूर्ण इच्छा पूरा हुने विश्वास गरिन्छ भने बिहे भइसकेका महिलाहरूको पति र आफ्ना परिवारको शुभ मंगल भई घरमा राम्रो हुने जनविश्वास छ । देशभरि नै यसरी श्री स्वस्थानीको व्रत बसेर कथा सुनेर मनाएमा सबैका घरघरमा शान्ति हुन्छ भन्ने पनि जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्