नेभिगेशन
खेलकुद

एनपिएलले बदल्दै नेपाली क्रिकेटको स्वरूप

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण सम्पन्न भएसँगै नेपाली क्रिकेटले व्यावसायिक विकास, अन्तर्राष्ट्रिय पहिचान र दर्शकको आकर्षणका दृष्टिले अर्को महत्त्वपूर्ण फड्को मारेको छ। टेलिभिजनमा मात्र देखिएका विश्वप्रसिद्ध क्रिकेटरहरूलाई कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रत्यक्ष हेर्न पाउनु नेपाली दर्शकका लागि विशेष अवसर बन्यो। नेपाली युवा खेलाडीले प्रहार गरेका छक्का र चौका, एकपछि अर्को झरेका विकेट र अन्तिमसम्म कायम रोमाञ्चले यसपालिको प्रतियोगितालाई स्मरणीय बनाएको छ। तीन शतकको साक्षी बन्न पाउनु पनि दर्शकका लागि अर्को आकर्षण रह्यो। पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सामरा, चितवन राइनोजका श्रीलंकाली ब्याट्सम्यान कामिल मिसारा र फाइनलमा सुदूरपश्चिम रोयल्सका स्कटल्यान्डका जर्ज मुन्सीले शतक प्रहार गरे।
प्रतियोगिताको सबैभन्दा चर्चित प्रदर्शन भने फाइनलमा जर्ज मुन्सीको रह्यो। उनले ५४ बलमा अविजित १२५ रन बनाउँदै सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन निर्णायक भूमिका खेले। उनको विस्फोटक ब्याटिङमा १२ छक्का र आठ चौका समावेश थिए। तीन पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक गत वर्षको हारको बदला लिँदै लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेर पहिलोपटक उपाधि जित्यो। यसअघि लगातार दुई संस्करणमा उपविजेतामा सीमित हुनुपरेको सुदूरपश्चिमका लागि यो जित विशेष महत्त्वको रह्यो।
अर्कोतर्फ, लुम्बिनी लायन्स अपराजित रहँदै फाइनल पुग्ने पहिलो टोली बनेको थियो। पहिलो संस्करणमा सहभागी टोलीमध्ये पुछारमा रहेको लुम्बिनीले दोस्रो संस्करणमा उपाधि जितेर उल्लेखनीय सुधार गरेको थियो। यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगे पनि निर्णायक खेलमा सुदूरपश्चिमसामु टिक्न सकेन। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर तेस्रोपटक फाइनलमा स्थान बनाएको थियो।
व्यक्तिगत प्रदर्शनतर्फ चितवन राइनोजका नेपाली बलर रिजन ढकाल प्रतियोगिताकै सर्वाधिक सफल खेलाडी बने। उनले आठ खेलमा १७ विकेट लिए। एनपिएलमा सहभागी आठ टोलीका स्वदेशी तथा विदेशी खेलाडीमध्ये सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्नु नेपाली क्रिकेटका लागि सुखद उपलब्धि हो। पोखरा एभेन्जर्सका युवराज सामराले प्रतियोगिताभर २९४ रन बनाए भने विराटनगर किङ्ग्सका लोकेश बमले २४२ रन जोड्दै दोस्रो स्थान हासिल गरे। लोकेशले प्रतियोगितामा सर्वाधिक १८ छक्का प्रहार गरे। युवराज सामराले २९ चौका प्रहार गरे। एउटै खेलमा सर्वाधिक छ विकेट लिने कीर्तिमान सन्दीप लामिछानेले बनाए।
प्रतियोगिताले खेलाडीका लागि आकर्षक पुरस्कारको अवसर पनि सिर्जना ग¥यो। नेपालमा आयोजना भएका खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा एनपिएलले आफ्नो स्थान बनाएको छ। निजी क्षेत्रको लगानी र व्यावसायिक प्रतिष्ठानहरूको प्रायोजनले प्रतियोगिताको आर्थिक पक्ष बलियो बनाएको देखिन्छ। उपाधि विजेता सुदूरपश्चिम, उपविजेता लुम्बिनी, तेस्रो भएको चितवन र चौथो स्थानको काठमाडौं गोर्खाजले नगद पुरस्कार प्राप्त गरे। यसबाहेक विभिन्न टोलीका खेलाडीले पनि व्यक्तिगत प्रदर्शनका आधारमा आकर्षक पुरस्कार पाए।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनले २१८ रन बनाउनुका साथै छ विकेट पनि लिएका थिए। यसबापत उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाए। फाइनलका सर्वाधिक प्रभावशाली खेलाडी जर्ज मुन्सीले चारवटा अलग–अलग पुरस्कार जिते। यसपटकको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कार भने रिजन ढकालले पाए। हेटौँडाका २७ वर्षीय ढकालले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै करिब ६५ लाख रुपैयाँ मूल्यको ओमोडा कार जिते। उनले गोल्डेन क्यापसँगै मोटरसाइकल र दुई लाख रुपैयाँ नगद पुरस्कारसमेत पाए। यसअघि दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले पनि एनपिएलमा कार पुरस्कार जितिसकेका छन्।
युवा प्रतिभाको खोजी र प्रोत्साहनमा पनि यसपटकको एनपिएल उल्लेखनीय रह्यो। जनकपुर बोल्ट्सबाट पहिलोपटक प्रतिभा छनोट शिविरमार्फत टोलीमा प्रवेश गरेका रौतहटका १६ वर्षीय राहुल यादव इमर्जिङ प्लेयर घोषित भए। उनले प्रतियोगितामा १२ विकेट लिए। कक्षा ९ मा अध्ययनरत राहुलले ४४६ जनाले नाम दर्ता गराएको छनोट शिविरमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाएका थिए। उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे। यस्ता अवसरले ग्रामीण क्षेत्र र नयाँ पुस्तामा रहेका प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने बाटो खोल्छन्।
एनपिएलको अर्को सकारात्मक पक्ष अन्तर्राष्ट्रिय प्रचारप्रसार पनि हो। नेपाली दर्शकमाझ ‘तक्लु दाइ’का नामले परिचित स्कटल्यान्डका टेलिभिजन कमेन्टेटर एन्ड्रयु लियोनार्डसहित विदेशी कमेन्टेटरहरूले प्रतियोगिताभर नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र मौलिकताबारे जानकारी दिए। फाइनलका दिन सबै कमेन्टेटर नेपाली ढाकाटोपी र मौलिक पोसाकमा देखिनुले पनि दर्शकलाई आकर्षित ग¥यो। विभिन्न देशबाट आएका चर्चित खेलाडीले नेपाल बसाइका क्रममा सगरमाथालगायत पर्यटकीय क्षेत्रको भ्रमण गर्नु र त्यसबारे आफ्ना अनुभव सार्वजनिक गर्नु नेपालको पर्यटन प्रवद्र्धनका लागि उपयोगी हुन सक्छ।
दर्शकको सहभागिताले पनि एनपिएलको लोकप्रियता पुष्टि गरेको छ। जाडो बढ्दै गएको अवस्थामा रातिको समयमा समेत ठूलो संख्यामा दर्शक मैदानमा उपस्थित भए। उद्घाटन र फाइनललगायतका खेलका टिकट छोटो समयमै बिक्री भए। फाइनलको टिकट नपाएका क्रिकेटप्रेमीले विरोध प्रदर्शन गर्नुपर्ने अवस्था आउनुले प्रतियोगिताप्रतिको आकर्षण कति बढेको छ भन्ने देखाउँछ। पछि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट नपाएका दर्शकलाई आधिकारिक डिजिटल माध्यमबाट खेल हेरेर समर्थन गर्न आग्रह गर्नुपरेको थियो। तेस्रो संस्करणसम्म आइपुग्दा एनपिएल सीमित क्रिकेटप्रेमीको प्रतियोगितामा मात्र सीमित रहेन। यसले आम नेपाली दर्शक र अन्तर्राष्ट्रिय क्रिकेटप्रेमीको ध्यान नेपालतर्फ तान्न सफल भएको छ।
व्यावसायिक दृष्टिले एनपिएल नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण आधार बन्दै गएको छ। आठ फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धाले निजी लगानी, प्रायोजन, विज्ञापन र खेल व्यवस्थापनका नयाँ सम्भावना खोलेको छ। तीन वर्षको अवधिमा प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यावसायिक उचाइमा पु¥याउन उल्लेखनीय योगदान गरेको छ। विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँग प्रतिस्पर्धा गर्ने, उनीहरूबाट सिक्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ। नयाँ तथा प्रतिभाशाली खेलाडीले आफ्नो क्षमता देखाउने मञ्च पाएका छन्। उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीसम्म पुग्ने सम्भावना पनि बढेको छ।
यसपटक एनपिएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आधिकारिक मान्यता दिनु अर्को महत्त्वपूर्ण उपलब्धि हो। प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुन थालेपछि उनीहरूको व्यक्तिगत अभिलेख र अन्तर्राष्ट्रिय पहिचानमा सहयोग पुग्नेछ। यसैपटक प्रयोग गरिएको निर्णय पुनरावलोकन प्रणाली (डीआरएस)ले अम्पायरका निर्णयलाई थप विश्वसनीय बनाउन मद्दत ग¥यो। प्रतियोगिता सञ्चालन भइरहेकै समयमा नेपालमा आईसीसीको क्षेत्रीय सम्मेलन आयोजना हुनु पनि नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण अवसर बन्यो। विभिन्न देशका क्रिकेट पदाधिकारीले एनपिएलको दोस्रो क्वालिफायर र फाइनल अवलोकन गर्नुले नेपालको क्रिकेट विकासप्रति अन्तर्राष्ट्रिय चासो बढेको संकेत गर्छ।
यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि एनपिएलमा सुधार गर्नुपर्ने विषय उत्तिकै छन्। सबैभन्दा खट्किएको पक्ष नेपाली भाषामा टेलिभिजन कमेन्ट्री नहुनु हो। आफ्नै देशमा आयोजना भएको घरेलु प्रतियोगिता हेर्न नेपाली दर्शक अंग्रेजी कमेन्ट्री सुन्न बाध्य भए। अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरी अंग्रेजीमा प्रसारण गर्नु स्वाभाविक भए पनि नेपाली दर्शकका लागि नेपाली भाषाको विकल्प अनिवार्य हुनुपथ्र्यो। खेलका प्राविधिक पक्ष, रणनीति र खेलाडीको प्रदर्शन बुझ्न नेपाली भाषाले सहज बनाउँछ। यसले दर्शकको उत्साह र प्रतियोगिताप्रतिको अपनत्वसमेत बढाउँछ। त्यसैले आगामी संस्करणमा नेपाली भाषाको प्रसारणलाई प्राथमिकता दिनुपर्छ।
त्यसैगरी, तीनवटै संस्करण काठमाडौंमा आयोजना भइसकेकाले अब एनपिएललाई राजधानीबाहिरका सहरमा पनि विस्तार गर्न आवश्यक छ। यसले मोफसलमा खेलकुद पूर्वाधार विकास गर्न, स्थानीय दर्शकको सहभागिता बढाउन र नयाँ खेलाडीलाई अवसर दिन सहयोग पु¥याउनेछ। क्रिकेटको लोकप्रियता देशभर फैलाउन प्रतियोगिताको भौगोलिक विस्तार महत्त्वपूर्ण हुन सक्छ।
प्रतियोगिताको सञ्चालन र खेलाडी व्यवस्थापनमा पनि क्यानले थप सजगता अपनाउनुपर्छ। एनपिएलमा आबद्ध खेलाडीले प्रतियोगिता नसकिँदासम्म अर्को प्रतियोगिता खेल्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ। तर त्यसका लागि प्रतियोगिताको समयतालिका बनाउँदा राष्ट्रिय टोलीले खेल्नुपर्ने अन्तर्राष्ट्रिय प्रतियोगितालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। यसपटक एनपिएल नसकिँदै कतारको दोहामा मंसिर ३ देखि सुरु भएको एसीसी मेन्स एसिया कप राइजिङ स्टार्समा नेपालले टोली पठाउँदा खेलाडी व्यवस्थापनमा समस्या देखियो। एनपिएलका कारण पाँच खेलाडी कतार जान नपाउँदा भारत ‘ए’ विरुद्ध नेपालको प्रदर्शन निकै कमजोर रह्यो। राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने प्रतियोगितालाई एनपिएलभन्दा कम प्राथमिकता दिनु उचित होइन। क्यानले आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन स्पष्ट क्रिकेट क्यालेन्डर बनाउनुपर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्