नाम्चे, १० असोज - विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट) सधैंदेखि पर्वतारोहणको अन्तिम लक्ष्य मानिन्छ । तर अहिले, पोल्याण्डका ३७ वर्षीय साहसी पर्वतारोही आन्द्रेज बार्गिएलले त्यो लक्ष्यलाई नयाँ परिभाषा दिएका छन् – अक्सिजन बिना सगरमाथा चढेर, स्की गर्दै सुरक्षित झर्ने विश्वका पहिलो व्यक्ति बनेका छन् ।
सगरमाथा चढ्नु आफैँमा विश्वको कठिनतम् कार्यमध्ये एक हो । तर बर्गियलले अक्सिजन बिना चढ्ने चुनौती र झर्ने क्रममा स्की गर्ने दुस्साहस पनि थपेका छन् । उनको यो ऐतिहासिक सफलता पर्वतारोहणको इतिहासमा पहिलोपटक भएको उपलब्धि हो ।
शिखर चुमेपछि बर्गियलले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश पठाउँदै भनेका थिए, ‘म अहिले संसारको सर्वोच्च स्थानमा छु, र स्की गर्दै तल झर्दैछु।’ तर यो सन्देश पछाडि थियो–साहस, जोखिम, आत्मविश्वास र जीवनको सिमाना ठेल्ने इच्छाशक्ति । सगरमाथाको ८,००० मिटर माथिको क्षेत्रलाई ‘डेथ जोन’ भनिन्छ ।
यहाँ हावामा अक्सिजनको मात्रा सामान्यको एक तिहाइ मात्र हुन्छ । यहाँ मानिसको शरीर लामो समय बाँच्न सक्दैन । तर बर्गियल र उनका नेपाली सहयोगी दावा ‘स्पीड’ शेर्पा त्यहीँ १६ घण्टासम्म फसे ।
यो अवस्था सामान्य पर्वतारोहीका लागि प्राणघातक हुन सक्थ्यो । तर बर्गियलको मानसिक तयारी, शारीरिक क्षमताले उनलाई जोगायो । रेड बुलसँगको अन्तर्वार्तामा उनले भन्छन्, ‘शरद ऋतुमा सगरमाथा चढ्नु लगभग असम्भव जस्तै हो । न त अरू आरोहण दल हुन्छन्, न त कुनै सहयोग नै । तर मैले तयारी गरें, हिम्मत देखाएँ र सफल भएँ ।’
खुम्बु आइसफल पार गर्दै स्की बर्गियलको अवतरणको सबैभन्दा चुनौतीपूर्ण हिस्सा थियो—खुम्बु आइसफल । यो २.५७ किलोमिटर लामो हिमप्रपात हिउँको गहिरो चिरा, झुण्डिएका बरफका टुक्रा र जोखिमपूर्ण पुलहरूले भरिएको हुन्छ ।
तर उनले आधुनिक प्रविधिको भरपूर उपयोग गरे । उनका भाइद्वारा सञ्चालन गरिएको ड्रोनमार्फत मार्ग पहिचान गरेपछि उनले स्की खोल्नु नपर्ने अवस्था सिर्जना गरे । बिना डोरी, बिना हिँडाइ, केवल स्कीमार्फत उनले आइसफल पार गरे । यो कार्य यसअघि केवल एक पटक मात्र, सन् २००० मा स्लोभेनियाका डाभो कार्निकारले गरेका थिए ।
तीन वटा प्रयासपछि पूर्णता बार्गियलको यो सफलता एकैपटक आएको होइन । सन् २०१९ मा झुण्डिएको बरफको खतरा, र २०२२ मा तीव्र हावाले उनको प्रयास असफल गराएको थियो । तर तेस्रोपटक, २०२५ मा उनले परिस्थितिलाई जिते । यस पटकको आरोहणमा पनि उनीहरू शिखर पुग्नुअघि हिमपहिरोको खतरा, खराब मौसम र एक्लोपनसँग जुधे ।
आधार शिविरमा सफलतापूर्वक पुगेपछि बार्गियललाई तिब्बती परम्पराअनुसार ‘खादा’ अर्पण गरी सम्मान गरिएको थियो । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आकाश नै सीमा हो? पोलका लागि होइन! आन्द्रेज बार्गिएलले भर्खरै सगरमाथाबाट स्कीइङ गरेका छन् ।’
अझै बाँकी छ सपना बर्गियलको यो सफलता सुरुवात मात्र हो । उनीसँग अझ ठूलो विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखरहरू स्की गर्दै पार गर्ने सपना छ । सन् २०१८ मा उनले केटू (८ हजार छ सय ११ मि) बाट स्की गर्ने पहिलो व्यक्ति बन्ने कीर्तिमान बनाएका थिए ।
सन् २०२३ मा उनले काराकोरम पर्वत श्रृंखलाका चारवटा आठ हजार मिटर उचाइका शिखरहरू स्की गर्दै पार गरेका थिए । अब उनको लक्ष्यमा मकालु, कञ्चनजंघा, धौलागिरी, अन्नपूर्णा जस्ता अन्य हिमालहरू छन् ।