नेभिगेशन
नेपाल

आरीघोप्टे वर्षाले खल्लो दशैं, ५२ जनाको ज्यान गयो

ज्यान गुमाउनेहरूलाई सरकारको २ लाख रुपैयाँ राहत

काठमाडौं, १९ असोज - शुक्रबारदेखि निरन्तरको वर्षाका कारण आएको पहिरो र बाढीमा परी ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।

पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । सबैभन्दा धेरै इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये ३५ जनाको सनाखत भइसकेको छ । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा ज्यान गुमाएका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ । प्राधिकरणले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ सहयोग र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले प्रभावित जिल्लाहरूमा तत्काल उद्धार र राहत वितरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको बताएका छन् । भट्टका अनुसार, बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित इलाम जिल्लामा प्राधिकरणले तत्काल ७० लाख रुपैयाँ उपलब्ध गराइएको छ । 

अन्य जिल्लाहरूमा भने जिल्ला विपद् कोषमा पर्याप्त रकम रहेकाले सोहीबाट खर्च गर्न अख्तियारी दिइएको पनि बताइएको छ । प्राधिकरणले तत्काल राहत, खोज उद्धार र पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई निरन्तर समन्वय र कार्यान्वयनमा जोड दिएको जनाएको छ ।

लाङ्टाङ पदयात्रामा चारजना बेपत्ता

दशैंको अवसरमा लाङ्टाङ पदयात्राका लागि गएका भक्तपुरका एकै परिवारका तीनसहित चारजना युवा खोलाले बगाएर बेपत्ता भएका छन् । १६ जनाको टोलीमा सहभागी ती युवा शनिबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलो तर्ने क्रममा आएको पहिरोसहितको लेदो बाढीमा परेका हुन् ।

बेपत्ता हुनेमा दुबईबाट बिदामा आएकी सनिता श्रेष्ठ (२६), उनकी बहिनी संस्कृति श्रेष्ठ (२४), भाइ कृष्ण (२०) र भक्तपुर–१० काठमाडौंका रवि श्रेष्ठ (२३) रहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो करिब ५ बजे खोल्सा पार गर्ने क्रममा एकअर्कालाई बचाउने प्रयासमा चारै जना बेपत्ता भएका हुन् । टोलीले गोसाइँकुण्ड–५ को ब्याम्बोस्थित होटलमा बास बसेपछि लाङ्टाङतर्फको यात्रा सुरु गरेको थियो ।

खोलो तर्नुअघि टोलीका आठ सदस्य पार भइसकेका थिए भने पछिल्ला आठ जनामध्ये यी चार जना बगाएर बेपत्ता भएका हुन् । अन्य सदस्यहरू अहिले रसुवामै सुरक्षित रहेका छन् तर मानसिक रूपमा निकै आघातमा छन् । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, घटनास्थल दुर्गम र सवारी पहुँचबाहिरको क्षेत्रमा परेकाले प्रहरी, सशस्त्र प्रहरी र सेनाको खोजी टोली पैदलमार्गमार्फत परिचालित गरिएको छ । डिएसपी हेम शाहीले खोजी कार्य जारी रहेको जानकारी दिँदै बेपत्ताहरूको यथाशिघ्र उद्धारका लागि सबै संयन्त्र सक्रिय गरिएको बताए ।

अत्यावश्यक हलुका सवारीसाधनलाई खुकुलो

अविरल वर्षापछि पहिरोको जोखिमका  कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ ।

शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरू पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो ।

शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उनका अनुसार काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।

धादिङ, तनहुँलगायतका जिल्लाहरूमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनले जानकारी दिए ।

१२ नदी सतर्कताको तहमाथि

अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरूमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ । उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ । 

यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ ।

जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छभने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गरेका हुन् । उनका अनुसार प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरिएको छ । 

यस्तै, हाल प्राकृतिक विपद्मा परेकाहरूले राम्रोसँग खान, बस्न पाउने अवस्था नबने पछि खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिने डा बुढाथोकीको भनाइ छ । प्राकृतिक विपद्पछि मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरिएको उनले जानकारी दिए । मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था रहेकाले हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । मन्त्रालयले निरन्तर वर्षाका कारण पहिरो र तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ । 

पाँच जलमापन केन्द्रमा खतरा र चारमा सतर्कता तह पार

जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । 

पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । विभागको तथ्याङ्कमा आज मध्याह्न १२ः३० बजेसम्म धनकुटास्थित अरुण नदी जलमापन केन्द्रले दिएको जानकारीअनुसार जलसतहले खतराको तह पार गरेर ११ दशमलव २३ मिटर पुगेको छ । उक्त केन्द्रमा ११ मिटर जलसतहलाई खतराको तह मानिन्छ । 

यसैगरी, धनकुटास्थित त्रिवेणीको तामोर नदी मापन केन्द्रमा १० मिटर खतराको तह रहेकामा ११ दशमलव ४७ मिटर जलसतह पुगेको छ । सुनसरीस्थित सप्तकोसी चतराको जलसतह सात दशमलव १३ मिटर पुगेको छ । उक्त स्टेशनको खतरा तह भने सात मिटर रहेको छ । त्यस्तै, सुनसरी खोलाको जलमापन केन्द्रमा जलसतह ८१ दशमलव ८८ मिटर पुगेको छ । उक्त केन्द्रमा ८१ दशमलव आठ मिटर जलसतहलाई खतराको तह मानिन्छ ।

इलामको मैनाचुलीस्थित कन्काई नदी जलमापन केन्द्रमा जलसतह पाँच दशमलव ६१ मिटर पुगेको छ । उक्त केन्द्रको जलसतहको खतरा तह भने चार दशमलव तीन मिटर रहेको छ । सिन्धुलीको खुर्कोटस्थित सुनकोसी जलमापन केन्द्र, धनकुटाको मुलघाटस्थित तमोर नदी, इलामको पुवाखोला र इलामकै चिसापानीस्थित माइखोला जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

विभागका जलविद् विनोद पराजुलीले पूर्वका नदीहरूमा बाढीको खतरा बाँकी रहेको र मुलुकका अन्य नदीमा जलसतह सामान्य रहेको जानकारी दिए । बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्नका लागि मोबाइल एसएमएसमार्फत जनमानसलाई सचेत गराइएको उनको भनाइ छ ।

वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग 

जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आज बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ । सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताउनुभयो । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बाली रातो भण्डासमेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरी सवारीसाधान सञ्चालनमा समेत रोक लगाइएको छ । यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्