नेभिगेशन
दृष्टिकोण

असल मान्छे तोडफोडमा किन उत्रन्छन् ?

जेनजी आन्दोलनका क्रममा स–साना चिचिला विद्यार्थीहरू तोडफोडमा उत्रिए । उनीहरूले केही सुपरस्टोरमा आगो लगाए, त्यहाँका सामग्री चोरे । सामान्यतः यस्ता काम अरुबेला भए उनीहरू गर्नेबारे सोच्न पनि सक्तैनथे तर उनीहरूले यो काम पूरा मनोयोगका साथ गरे ।

आखिर असल घरका भलाद्मी छोराछोरीहरू किन चोरीचकारी, तोडफोड र आगजनीमा उत्रन्छन् ? त्यो बेला उनीहरूको भलाद्मीपन कहाँ जान्छ ?

यसका बारेमा सन् १९७१ ताका नै क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयस्थित मनोविज्ञान विभागका प्राध्यापक फिलिप जिम्बार्डोले उत्तर दिएका छन् । उनले त्यो बेला एउटा अनौठो प्रयोग गरेका थिए । 

उक्त प्रयोगले विश्व मनोविज्ञानको इतिहासलाई नै सधैंका लागि परिवर्तन गरिदियो । उक्त अनौठो प्रयोगको उद्देश्य थियो कि वास्तवमा मानिसहरू जन्मजात दुष्ट हुन्छन् कि परिस्थितिले उनीहरूलाई दुष्ट बनाउँछ ? के कारणले उनीहरू दुष्ट हुन्छन् ?

सामान्य मानिसहरूको जेल

सो अध्ययनका लागि जिम्बार्डोले विश्वविद्यालयको तल्लो तलामा एउटा प्रयोगशाला उभ्याए । यो प्रयोगमा सहभागी हुन आएका विद्यार्थीलाई र्‍यान्डम तरिकाले दुई समूहमा बाँडे । एउटा समूहलाई उनले ‘बन्दी’ नामकरण गरे । ती ‘बन्दी’लाई उनीहरूले जेलमा लगाइने लुगा दिए । अर्को समूहलाई ‘गार्ड’ बनाइयो ।

‘गार्ड’लाई विशिष्ट किसिमको पहिरन दिइएको थियो । उनीहरूले हेर्दैको आकर्षक ‘ड्रेस’ लगाएका थिए । लगाउनलाई कालो चश्मा पनि दिइएको थियो । आवश्यक परे चलाउनका लागि एउटा लौरी पनि दिइएको थियो ।

यो कृत्रिम ‘जेल’ विश्वविद्यालयकै तल्लो तलामा थियो । यहाँ जेलजस्तै देखिने अनेक उपकरणहरू थिए । यहाँका नियम कडा थिए । गार्डहरूलाई भनिएको थियो, ‘तपाईं यहाँको रक्षक मात्र हो । त्यसैले कुनै हिंसा नगर्नुहोस् । ‘कानून र व्यवस्था’ कायम गर्ने मात्र तपाईंको जिम्मेवारी हो ।’

तर युनिफर्म, कालो चश्मा र अधिकार पाएपछि ‘गार्ड’ बनेकाहरूलाई साँच्चिकै शक्ति पाएको महसूस हुन थाल्यो । कैदीबन्दीहरूलाई नामले नभई, नम्बरले बोलाइन्थ्यो । जब कसैले नामबिना नै नम्बरबाट बोलाउन थाल्छ, उसले आफू हुनुको अस्तित्व गुमाउँछ । उसले आफ्नो मूल्य बिर्सन्छ । नाम गुमेपछि कैदीहरू एउटा वस्तुमा रूपान्तरण भए ।

छ दिनभित्रै गार्डहरूले बन्दीहरूलाई अपमानित गर्न थाले । उनीहरूले बन्दीलाई बाथरुम जान रोके, सुत्ने गुन्द्री खोसे, केहीलाई नराम्रो यातना दिन थाले । अचम्म त, यी सबै कुराहरू कैदीहरूले खुरुखुरु, बिना कुनै विद्रोह मानिरहेका थिए ।

त्यसो त, गार्डहरूको अत्याचार बढ्दै जान थालेपछि विद्रोह नभएको होइन । विद्रोह दबाउन उनीहरूले फायर एक्सटिङ्गुइशर प्रयोग गरे, डण्डा चलाए । अन्ततः विद्रोहलाई दमन गर्न गार्डहरू सफल भए । तेस्रो दिन एक जना बन्दी मानसिक रूपमा यति विक्षिप्त भए कि उनले भाग्ने दाउ खोजे र नभन्दै उनी मौका पाउनेबित्तिकै भागे । 

यस घटनाको अर्को दिन अर्का एक जना व्यक्ति पनि टाप कसे । जिम्बार्डोले यो घटनालाई स्वतन्त्र पर्यवेक्षकका रुपमा हेरिरहेका थिए । तर उनलाई पनि यसमा मजा आउन थाल्यो ।

गम्भीर दुर्घटना हुनेसम्मको घटना घट्दा पनि अब के होला भनेर उनी हेर्न उत्सुक थिए । तर उनको सहायक अध्ययनकर्ता एक जना विद्यार्थी क्रिस्टिना म्यास्लाचले पाँचौं दिन जिम्बार्डोलाई सोधिन्, ‘तपाईंले कसरी यी गार्डहरूले अन्याय गरिरहेको हेर्न सक्नुहुन्छ ? के अब यी गार्डहरूजस्तै तपाईं पनि दुष्ट बन्दै जानुभएन र ?’ 

क्रिस्टिनाको छड्के प्रश्नले जिम्बार्डो छक्क परे । उनलाई लाग्यो, हो त ! उनलाई पनि गार्डले जे गरे, त्यो सही लाग्न थालिसकेको थियो । यसपछि उनले तत्कालै प्रयोग रोके ।

यो प्रयोग मूलतः दुई हप्ताको थियो तर उनले पहिलो हप्तामै जान्नुपर्ने र खुलासा गर्नुपर्ने कुरा हात पारिसकेका थिए । यसपछि उनले बुझे कि वास्तवमा दुष्टता व्यक्तिगत होइन, बरू यो त परिस्थितिजन्य हुँदोरहेछ ।

achyut-koirala-1759800425.jpg
अच्युत कोइराला

लुसिफर प्रभाव : असल मानिसको खराब काम

जिम्बार्डोले यसलाई नाम दिए, ‘लुसिफर इफेक्ट’ अर्थात् ‘लुसिफर प्रभाव’ । जहाँ मानिसहरूलाई कुनै विचारधारा, अधिकार वा गुमनामपनले ‘राम्रो बाटो’ छोडेर ‘अन्धकार’तिर डोर्‍याउँछ ।

सो प्रयोगको २५ वर्षपछि उनले लेखेका छन्, ‘जब मानिसहरूलाई आफ्नो पहिचान लुकाउने अवसर दिइन्छ र उनीहरूले समूहगत शक्तिको समर्थन पाउँछन्, उनीहरूले आफूमा भएको असलपना बिर्सन्छन् । त्यसपछि उनीहरूले त्यस्ता काम गर्छन्, जसको कल्पनासम्म गरेका हुँदैनन् ।’

यो प्रयोगको तीस वर्षपछि, सन् २००४ ताका इराकको अबु घैरब जेलबाट भयानक तस्वीरहरू बाहिर आए । अमेरिकी सैनिकहरूले बन्दीहरूलाई नाङ्गै पारेर कुकुरको डोरी बाँधेका थिए । तिनलाई जञ्जीरले बाँधेर कुँज्याइएको थियो । कैदीहरूलाई बलात्कार गर्दैगरेका दृश्यहरू तस्वीरमा देखिएका थिए ।

अमेरिकी अधिकारीहरूले यसलाई ‘केही खराब व्यक्तिहरूको गल्ती’ भन्दै यसलाई सामान्यीकरण गर्न खोजे तर जिम्बार्डोले भने, ‘यो नै मेरो प्रयोगको वास्तविक जीवनको संस्करण थियो ।’ त्यतिबेला उनी अबु घैरबका सैनिक इभन फ्रेडरिकको बचाउ पक्षमा विशेषज्ञ सल्लाहकार बने । उनले भने, ‘फ्रेडरिक खराब मानिस थिएनन् तर जब उनलाई बन्दीहरूको घमण्ड तोड्न पुरस्कृत गरियो, उनले आफूभित्रको असलपना बिर्सिए र दानव बने ।’

यो नै लुसिफर प्रभाव हो । जब प्रणालीले नै दुष्टतालाई स्वीकार गर्छ, त्यो बेला जति नै असल मानिस पनि खराब बन्छ । उसभित्रको क्रूरतालाई जब पछि फर्केर नियालेर हेर्छ, आफ्नो क्रूरताप्रति आफैँ चकित पर्छ ।

दुष्टताको जरामा विचारधारा

जिम्बार्डोका अनुसार, विचारधारा (आइडियोलजी) नै दुष्टताको मूल हो । विचारधाराले कुनै पनि क्रूरता उचित ठहराउन मलजल गर्छ । जस्तो कि ‘राष्ट्रिय सुरक्षा’को नाममा इराकमा अमेरिकी सेनाले यातना दिए । ‘धर्म’को नाममा हत्या गरिँदा इराकमा १२ जना नेपालीले अनाहकमा ज्यान गुमाउनु पर्‍यो । ‘न्याय’को नाममा प्रतिशोध अँगाल्दा धेरै सामान्य मानिसहरूको जीवन तहसनहस भएको यत्रतत्र देख्न सकिन्छ ।

आखिर लुसिफर इफेक्टले कुन बेला काम गर्छ त ? विज्ञहरू भन्छन्, जब त्यहाँ व्यक्ति विशेषलाई विशेषाधिकार दिइन्छ, जब त्यहाँ विशिष्ट युनिफर्म दिइन्छ, त्यसले मान्छेलाई क्रूर बनाउँछ । युनिफर्म लगाउँदा व्यक्ति आफू होइन, ‘संस्थाको प्रतिनिधि’ बन्छ तर जब त्यो पहिरन उतारिन्छ, उनीहरू पुनः सामान्य बन्छन् ।

नेपालमा जेनजी आन्दोलनताका जे जति तोडफोड भए, त्यहाँ प्रायःले राष्ट्रिय झण्डा बोकेका थिए । झण्डा बोकेर गरिएका तोडफोडप्रति उनीहरूलाई कुनै पछुतो थिएन । बरु त्यसमा गर्व मानिरहेका थिए । झण्डा उनीहरूको ‘युनिफर्म’ बन्न पुग्यो । 

अझ, प्रहरीले युनिफर्म लगाएर गोली हान्नु त आफ्नो कर्तव्य नै ठान्यो । अहिले पनि कलिला जेनजीको मृत्युमा गोली हानेकाहरूलाई बिल्कूल पछुतो छैन, यदि ऊ प्रहरीको युनिफर्ममा छ भने ।

भनाइको अर्थ, जेनजी आन्दोलनको पहिलो दिनभन्दा दोस्रो दिन झन् बढी क्षति हुनुमा तोडफोड गर्नेहरूले आफूलाई कथित जेनजी ‘संस्थाको प्रतिनिधि’ ठानेकाले हो ।

राम्रो र खराब बीचको रेखा

रुसी लेखक अलेक्जेन्डर सोल्झेनीत्सिनले भनेका थिए, ‘राम्रो र खराबको रेखा कुनै राज्य वा पार्टीबीच होइन, यो त प्रत्येक मानिसको हृदयभित्रै हुन्छ ।’ यसैले जिम्बार्डोको निष्कर्ष केवल प्रयोगको सीमामा सीमित छैन । 

उनी भन्छन्, जबसम्म गरीवी, जातीय विभेद र सत्ताको दुरुपयोगजस्ता संरचनागत असमानता समाप्त हुँदैनन्, त्यतिबेलासम्म लुसिफर प्रभाव झन् बढी देखा पर्छ । चाहे त्यो जेलमा होस्, युद्धमा होस्, कार्यालयमा होस् ! कहिलेकाहीँ त यो घरभित्र नै यो देखिनुमा दमित अवस्थामा रहेको भँडासको भूमिका रहन्छ ।

दुष्टता हाम्रो वरिपरि नै छ

फिलिप जिम्बार्डोको ‘लुसिफर प्रभाव’ले हामीलाई मानिसहरू जन्मजात दुष्ट होइनन् तर परिस्थितिले तिनलाई दुष्ट बनाउँछ भनी सिकाउँछ ।

र, जब प्रणालीले नै क्रूरतालाई वैधानिकता दिन्छ, त्यो ‘केही खराब मानिस’हरूको गल्ती होइन, त्यो समाजको सामूहिक असफलता हो । कहिलेकाहीँ सोच्छु... मानव हृदयमा उज्यालो र अँध्यारो दुवै हुन्छ तर कुन पक्ष बलियो हुन्छ, त्यो वातावरणले निर्धारण गर्छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्