नेभिगेशन
नेपाल

मनसुनजन्य विपद्मा ६० जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ६० जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् ।

कोसी प्रदेशको इलाममा मात्रै पहिरोमा परी ३७ जनाको निधन भएको छ । सो प्रदेशमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ । विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको होलीकोप्टरबाट उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाअनुसार गए रातिसम्मको विवरणमा सवारी दुर्घटनासमेत गरी कोसी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक बेपत्ता र १७ जना घाइते भएका छन् ।

झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।

कोशी प्रदेशको जनजीवन सामान्य बन्दै अविरल वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको कोसी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । 

सो प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पूर्वतयारी र विपद्पश्चात उद्धार तथा सहयोगका काम गरेको थियो । जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाका आधारमा सरकारको पूर्वतयारी प्रभावकारी भएकाले थप मानवीय क्षति हुन पाएन ।

सुरक्षा निकायले मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राखेर उद्धारका काम गरेको र पानी रोकिएकाले अहिलेसम्म उद्धारका काम पूरा भएको सुरक्षा निकायका कोशी प्रदेशका प्रमुखहरूले बताएका छन् । झापाको आयरल्याण्डमा परेकालाई तथा पाँचथर र संखुवासभाबाट गर्भवतीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।

कोशीमा पानीको बहाव आइतबार प्रतिसेकेण्ड पाँच लाख ३३ हजार क्युसेक रहेकामा आज दुई लाख ७७ क्युसेकमा झरेको छ ।

नेपाली सेनाका उपरथी एवं पूर्वीपृतनापति गौरवकुमार केसीका अनुसार पानी पर्न रोकिएकाले जनजीवन सामान्य हुँदै गएको र प्रभावित क्षेत्रमा आवश्यकतानुसार उद्धारको काम भइरहेको राससलाई जानकारी दिए । 

‘इलामको दुर्गम र सदरमुकामबाट टाढा रहेको स्थानमा पहिरोले पुरानो घर भत्किएर बढी मानवीय क्षति भयो । इलाममा पनि यहाँ बढी मानवीय क्षति भएको छ,’ उपरथी केसीले भने, ‘सप्तकोसीको जल सतह अहिले घटेको छ । ठाउँठाउँमा पहिरो गएकाले मेची राजमार्ग पूर्णतःबन्द छ । एकै कमाण्डस्थलबाट धेरै ठाउँमा संयुक्त सुरक्षा टोलीबाट काम भएकाले सूचना आदानप्रदान र उद्धारमा सहजता आएको छ ।’

नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जनजीवन समान्यतर्फ उन्मुख भएको बताए । उनले आज इलामबाट घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको र अबको काम इलामको लाइफलाइनका रूपमा रहेका सडकलाई पुनःसञ्चालन गराउन केन्द्रित भएको बताए । 

उनले प्रदेशका अन्य जिल्लामा पनि पहिरोबाट प्रभावित सडकलाई खुलाउन प्रहरी केन्द्रित भएको बताए । उक्त क्षेत्रमा बाढीबाट मानवीय क्षति हुन पाएको छैन । राहत वितरणको काम कानुनबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

सशस्त्र प्रहरी बलका कोसी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्धारका काम सकिएपछि पुनःस्थापनाका लागि काम भइरहेको बताए । उनले सशस्त्रकै युनिटसमेत पनि प्रभावित भएको स्थितिमा आफूहरू उद्धार र पुनःस्थापनाको कामलाई सँगसँगै गर्दै अघि बढेको बताए ।

‘पहिरोबाट इलाममा धेरै घर ध्वस्त भएका छन् । पुनःनिर्माणका लागि सरकारले नीति बनाउँछ होला । सप्तकोसीको जल सतह घटेकाले खतराको सङ्केत हटिसकेको छ । हामी जनजीवन समान्य बनाउन तल्लिन छौँ,’ उनले भने ।

सडक अवरुद्ध हुँदा केन्द्रीय टोली जान सकेन इलाममा बाढी तथा पहिरोबाट सात ठाउँमा सडक अवरुद्ध भएकाले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको केन्द्रीय टोली आज स्थलगत अवलोकनका लागि त्यसतर्फ जान सकेन । सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले केन्द्रीय टोली आउने तय भए पनि सडक अवरुद्ध भएकाले सम्भव नभएको जानकारी दिए ।

‘हामी सबै मिलेर विपद्को डटेर सामना गर्नु र धैर्य राख्नु नै अहिलेको विकल्प हो । हामी संयुक्त सुरक्षा कमाण्डमा रहेर कोसी प्रदेशको विपद्पश्चात्को उद्धार र सहायोगमा जुटेका छौँ । यसमा नागरिकसँगको सहकार्य पनि आवश्यक छ,’ उनले भने ।

मनसुन बाहिरिन सुरु

जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको विभागले आज एक ‘बुलेटिन’ जारी गरी जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । 

मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल