नेभिगेशन
प्रदेश

भारतीय बाँधले रौतहटमा डुबान, सयौंको बिचल्ली

४ सय १२ घरधुरी प्रत्यक्ष प्रभावित, २ हजार ४ सय ७४ जना विस्थापित, जनजीवन प्रभावित

रौतहट, २२ असोज : गत शनिबार मुलुकभर भएको वर्षामध्ये सर्वाधिक रौतहटमा भएको रेकर्ड छ । वर्षा थामिएकाले बाढीको त्रास छैन तर डुबानको समस्या जिल्लामा गम्भीर बनेको छ ।नेपाल–भारत सीमामा भारतले एकतर्फीरूपमा बनाएको बाँधका कारण गौरलगायत आधा दर्जनभन्दा बढी पालिकाहरू डुबानमा परेका छन् ।

सदरमुकाम गौरका विभिन्न भागमा अझै तीन फिटसम्म पानी छ । सरकारी कार्यालय, शैक्षिक संस्था, बासोबास क्षेत्र सबै डुबानमा परेका छन् । अत्यधिक वर्षासँगै शनिबार जिल्ला सदरमुकाम जलमग्न बनेको थियो, घटना स्वाभाविक थियो । तर, चार दिन बित्दा बुधबार पनि पानी घटेको छैन । भारतले सीमावर्ती बाँधमा रहेको निकास ढोका खोल्न नमानेका कारण वर्षाको पानीले निकास नपाएको हो । गौर नगरपालिकासहित प्रभावित क्षेत्रहरूमा पानीको निकास अवरुद्ध छ ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सीमावर्ती भारतीय अधिकारीसँग पटक–पटक समन्वय गरेको बताए पनि व्यवहारमा उताबाट असहयोग भएको देखिएको छ । ‘निकास हुनुपर्छ भन्नेमा भारतीय पक्ष सकारात्मक छ, तर व्यवहारमा समाधान आएको छैन,’ प्रजिअ खड्काले भने । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षाको पानीले घरआँगन जलमग्न भएर ४ सय १२ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने २ हजार ४ सय ७४ जना विस्थापित भएका छन् । सबैभन्दा बढी दुर्गा भगवती गाउँपालिकामा २ सय ३२ घरधुरी विस्थापित भएका छन् । विस्थापितहरू विद्यालय, मन्दिर तथा आफन्त–छिमेकीकहाँ आश्रय लिएर बसिरहेका छन् ।

बाँधको नाममा भारतले मिच्यो दसगजा

स्थानीयका अनुसार भारतले लकडाउनको मौका छोपी दसगजा मिचेर बलियो बाँध निर्माण गरेको थियो, जसले वारिबाट बगेर जानुपर्ने पानीको पानीको निकास थुनेको छ ।

इशनाथ नगरपालिकाको बन्जराहदेखि मझौलासम्म करिब तीन किलोमिटर लामो, १५ फिट अग्लो र १० मिटर चौडा बाँध निर्माण गरिएको छ । यो बाँधमा नेपालतर्फको पानी निकासका लागि गेट नै छैन । बर्सेनि यस क्षेत्रका १, २, ३ र ४ नम्बर वडामा डुबान हुँदै आएको छ । बाढीको बेला किसानका बालीनाली पूरै नष्ट हुने गरेको स्थानीय बताउँछन् ।

‘कूटनीतिक पहल जरुरी’

गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बाँधको ढोका खोल्न भारतीय अधिकारी र मन्त्रीसम्म संवाद गरिएको बताए ।  ‘केही समय ढोका खोलिएको थियो, तर दीर्घकालीन समाधानका लागि नेपाल सरकारसँग मिलेर योजना बनाइँदैछ,’ उनले भने । 

उनका अनुसार नगरपालिका स्थानीय वृद्ध–वृद्धाको अनुभव र भू–पूर्वाधार अध्ययनका आधारमा दीर्घकालीन योजना तयार गरिरहेको छ । नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा भन्छन् ‘नेपालमा डुबानको मुख्य कारण भारतीय बाँध नै हो । भारतको नीति सधैं हेपाहा छ ।’

यहाँको समस्यालाई प्रधानमन्त्री तहबाटै उठाउनुपर्ने माग उनको छ । मोदीको भनाइ र व्यवहार उल्टो अघिल्लो वर्ष नेपालमा डुबान हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत ‘सहानुभूति’ प्रकट गरेका थिए ।

‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ ।’ नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए । तर रौतहटका स्थानीय भन्छन् ‘भारतको व्यवहार र भनाइको भावनाबीच आकाश जमिनको फरक छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्