नेभिगेशन
विश्व

भीषण हिमपातपछि एक हजारभन्दा बढीको सकुशल उद्धार

एजेन्सी – विश्वको सर्वोच्च शिखर सगरमाथानजिकैको तिब्बती पठारमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगीहरूलाई सकुशल उद्धार गरिएको छ । चीनको राज्य सञ्चालित मिडियाका अनुसार सबैजना सुरक्षित रूपमा नजिकको बस्तीमा फर्किसकेका छन् र उद्धार अभियान औपचारिक रूपमा सम्पन्न भएको छ ।

हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटनको आकर्षण बढ्दो क्रममा छ । यस वर्षको आठ दिने राष्ट्रिय बिदामा हजारौं पर्यटक र साहसिक खेलप्रेमीहरू उक्त क्षेत्रका ट्रेकिङ मार्गमा गएका थिए ।

तर, सप्ताहन्तमा परेको तीव्र हिमपातका कारण धेरै शिविरहरू पुरिँदा करिब पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, सहयोगी कर्मचारी तथा याक गोठालाहरू बिचल्लीमा परेका थिए । उद्धारका लागि चिनियाँ अधिकारीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गर्दै व्यापक उद्धार अभियान सञ्चालन गरेका थिए ।

सम्पूर्ण फसेकाहरूको उद्धारपछि सगरमाथानजिकको क्षेत्रबाट उद्धार अभियान टुंगिएको जनाइएको छ । तर, चरम मौसमका कारण आसपासका अन्य क्षेत्रमा भने केही क्षति पुगेको बताइएको छ । छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया (शरीर अत्यधिक चिसिनु) र उचाइ रोगका कारण मृत्यु भएको पुष्टि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्