नेभिगेशन
विश्व

एआई कम्पनीमा लगानीप्रति वित्तीय संस्थाहरू सतर्क

नयाँ प्रविधिप्रति लगानीकर्ताको अपेक्षा उच्च भएको तुलनामा भविष्यमा मुनाफा हुनेमा शंका

लन्डन (एपी) – कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट हुने आर्थिक लाभबारे बढ्दो शंका अब वित्तीय संस्थाहरूको ध्यानमा पर्न थालेको छ । एआईमा आधारित प्रविधि कम्पनीहरूको शेयर मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको भन्दै वित्तीय संस्था र नियामक निकायहरूले यस हप्ताको सुरुवातमा सम्भावित ‘एआई बबल’ को चेतावनी दिएका छन् ।

बैंक अफ इङल्यान्डका अनुसार एआईको हल्लाले बढेका प्रविधि कम्पनीका शेयर मूल्यहरू अचानक घट्न सक्ने जोखिम उच्च भएको छ ।

‘बजारमा तीव्र सुधार (सडन करेक्सन) हुने जोखिम बढेको छ,’ बैंकले बुधबार भनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जोर्जिभाले पनि यस्तै चेतावनी दिदै भनिन्, ‘एआईबाट उत्पादकत्वमा हुने सम्भावित वृद्धिप्रति बढेको अपेक्षाका कारण विश्वव्यापी शेयर मूल्यहरू बढिरहेका छन् । तर, वित्तीय अवस्था अचानक उल्टिन सक्छ ।’

आईएमएफको वार्षिक बैठक अघिको भाषणमा उनले भनिन्, ‘यदि बजारमा तीव्र गिरावट आयो भने कडा वित्तीय अवस्थाले विश्व आर्थिक वृद्धिलाई तान्ने खतरा रहन्छ ।’

लक्षणहरू देखिदै

अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री एडम स्लेटरका अनुसार अहिलेको अवस्थाले बबलका केही लक्षणहरू देखाइरहेको छ । ‘बबल पहिचान गर्न सजिलो हुँदैन, तर प्रविधि सेयर मूल्यको तीव्र वृद्धि, एसएन्डपी ५०० को करिब ४० प्रतिशत हिस्सा प्रविधि कम्पनीहरूले ओगट्नु, मूल्यांकन अत्यधिक फैलिनु र प्रविधिप्रति असाधारण आशा आदि यी सबै लक्षण बबलतर्फ इंगित गर्छन्,’ उनले भने ।

कसैकसैका अनुमान अनुसार एआईले विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माण जस्तै उत्पादकत्व वृद्धि ल्याउन सक्छ भने एमआईटीका प्राध्यापक ड्यारोन एसेमोग्लूले भने अमेरिका मा दशकमा ०.७ प्रतिशत मात्र वृद्धिको सम्भावना देखाएका छन् । ‘यो प्रविधि कहाँ पुग्छ भन्नेबारे कोही पनि निश्चित छैन,’ स्लेटरले भने ।

कम्पनीहरूको मूल्यांकनप्रति शंका 

हालै एआई डेभलपर कम्पनीहरू ओपनएआई, एनभिडिया, एएमडी र ओराकलबीच भएका ठूला लगानी र साझेदारी सम्झौताहरूले लगानीकर्ताको ध्यान तानेका छन् ।

नाफा नगर्ने ओपनएआई अहिले विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप बनेको छ, जसको मूल्यांकन ५०० अर्ब डलर पुगेको छ । यसले एनभिडिया र एएमडीसँग साझेदारी र ओराकलसँग ३०० अर्ब डलरको डेटा सेन्टर निर्माण सम्झौता गरेको छ । बैंक अफ इङल्यान्डले कम्पनीको नाम नलिई भनेको छ, ‘विभिन्न सूचकांकका आधारमा प्रविधि कम्पनीहरूको बजार मूल्यांकन अत्यधिक सुन्निएकोजस्तो देखिन्छ ।’ रिपोर्टका अनुसार अहिलेको मूल्यांकन सन् २००० को ‘डटकम’ उत्कर्षमा पुग्दाको अवस्थासँग मिल्दोजुल्दोमा पुगेको छ ।

‘यो हानिकारक होइन’

टेक कम्पनीका प्रमुखहरूले भने यी चेतावनीलाई अस्वीकार गरेका छन् । अमेजनका संस्थापक जेफ बेजोसका अनुसार अहिलेको एआई उभार ‘औद्योगिक बबल’ हो, वित्तीय होइन । ‘औद्योगिक बबलहरू त्यति हानिकारक हुँदैनन् । वास्तवमा, जब भुइंमा उभिएर अघि बढेका विजेताहरू देखा पर्छन्, समाजले ती आविष्कारहरूबाट फाइदा उठाउँछ,’ उनले इटालीमा आयोजित प्रविधि सम्मेलनमा भने ।

उनका अनुसार, अहिलेको उत्साहले राम्रो र नराम्रो दुवै विचारमा लगानी बढाइरहेको छ । ‘लगानीकर्ताहरूलाई राम्रो र खराब बीच छुट्याउन गाह्रो भइरहेको छ, जुन अहिले पनि भइरहेकै छ,’ उनले थपे ।

ओपनएआईका प्रमुख स्याम आल्टम्यानले पनि स्वीकार गरे कि अल्पकालीन रूपमा गलत लगानी र उतारचढाव हुनेछन् । तर, दीर्घकालमा एआईले आर्थिक वृद्धि र वैज्ञानिक प्रगति ल्याउने दाबी उनले गरे ।

एनभिडियाका सीइओ जेन्सेन हुआङले भने एआई कम्पनीहरूले अब उपयोगी एआई एजेन्ट विकासतर्फ केन्द्रित भएको बताए, जसले केवल कुरा गर्ने होइन, अनुसन्धान गर्ने र प्रयोगकर्ताका लागि कामसमेत गर्न सक्ने क्षमता विकास गरिरहेको छ ।

एआईको भविष्य के होला ?

विश्लेषकहरूका अनुसार एआईमा लगानीको हल्ला केही वर्षमा कम हुन सक्छ । फोरेस्टरकी विश्लेषक सुधा महेश्वरीले लेखेकी छन्, ‘हरेक बबल अन्ततः फुट्छ । सन् २०२६ सम्म एआईले आफ्नो चमक गुमाएर व्यावहारिक काममा ध्यान दिनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्