नेभिगेशन
अर्थतन्त्र

नयाँ उद्यम सिर्जना गर्दै जेनजी अनुवादक

काठमाडौं, २४ असोज - अहिले मेरा दुवै छोरा–छोरी जेनजी हुन् । उनीहरू प्रायः इन्टरनेटमा झुण्डिरहेका हुन्छन् र उनीहरूको भाषा सुन्ने हो भने हामीले बुझ्नै गाह्रो हुन्छ । यो गाह्रोपन तपाई हाम्रालागि त खासै फरक नपर्ला र पुस्तान्तरणको समस्या मानौंला तर अर्बौं डलरको कम्पनी चलाइरहेकाहरूका लागि भने यो खतराको घण्टी बन्न सक्छ ।

जेनजी युवासँग आफू वा आफ्नो व्यवसाय जोड्न नसकेमा आफ्नो अस्तित्व नै खतरामा पर्ने डरले गर्दा अहिले बजारमा जेनजी अनुवादको व्यवसाय बढ्दै गरेको वाल स्ट्रिट जर्नल अखबारले जनाएको छ । नाइन्टीएटजस्ता विशिष्टीकृत एजेन्सी तथा बजार अनुसन्धान कम्पनीहरू यतिबेला जेनजीको भाषा अनुवादकको काममा व्यस्त हुन थालेका छन् । 

यस्ता कम्पनीले पछिल्लो समय लोभलाग्दो व्यवसायसमेत गर्न थालेका छन् । नाइन्टीएट कम्पनीको अर्थ स्थापकको जन्म वर्ष १९९८ बाट गरिएको हो । यो कम्पनीले पछिल्लो समय जेनजेड ल्याबजस्ता कम्पनीहरू किनेर आफूलाई बजारमा सबैभन्दा अगाडि उभ्याउने प्रयास गरिरहेका छन् ।

यस्तै यसै वर्ष जेनजी मार्केटिङ एजेन्सी जब कन्सल्टिङलाई अधिग्रहण गरेको छ । यसले अर्को साता जेड–कन सम्मेलन आयोजना गर्दैछ । यो सम्मेलनले ब्रान्ड कार्यकारीहरूलाई जेनेरेशन जेडको प्रवृत्तिसँग परिचित गराउने अपेक्षा गरिएको छ ।

नेपालमा जेनजीको अवधारणालाई बलियोसँग स्थापित गराउने वा चिनाउने काम भदौ २२–२३ को आन्दोलन थियो । यो आन्दोलन यति छिटो संसारभर फैलियो कि जेनजीको सोच, प्रवृत्ति र शैली बुझ्न संसारभरिका विद्वानहरू यसको अध्ययन र भाषाशैलीतर्फ छिर्न थालेका छन् ।

नाइन्टीएटजस्ता कम्पनीले भने तिनलाई सहज बनाउने काम गरिरहेका छन् । अचेल डिजिटल सम्पत्ति र डिजिटल संसारमा हुर्किरहेको जेनजी (१३ देखि २८ वर्ष उमेर समूहका)को क्रयशक्ति बढ्दै जाँदा उनीहरूको खर्चप्रवृत्ति बुझ्न´जरुरी हुन थाल्नेछ ।

बजारको अनुसन्धान गरिरहेका निल्सन आईक्यू, जीएफके र वर्ल्ड डेटा ल्याबका अनुसार, जेनजीको क्रयशक्ति २०२४ मा ९ खर्ब ८ अर्ब अमेरिकी डलरबाट बढेर २०३० मा विश्वव्यापी रूपमा १२ खर्ब ६० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ ।

उपभोक्ता स्वास्थ्य सेवा कम्पनी हेलियनको संयुक्त राज्य अमेरिकाका मुख्य मार्केटिङ अधिकारी केटी विलियम्सले भनिन्, ‘तिनीहरू साँच्चै फरक तरिकाले सोच्छन्, फरक प्रतिक्रिया दिन्छन् र फरक स्रोतबाट आफ्नो ज्ञान र जानकारी प्राप्त गर्छन् । त्यसैले हामीले पूर्ण रूपमा परिवर्तन गर्नुपरेको छ ।’ हेलियनले सेन्सोडाइन, एड्भिल र इमर्जेन–सी जस्ता ब्रान्डहरू बेच्छिन् ।

युवाहरूले उपभोक्ता वस्तुहरू कसरी खपत गर्छन् भन्ने मामलामा पनि जेनेरेसन जेडको रुचि फरक छ, जसले गर्दा चिसो कफी, हल्का बियर र विलियम्सका अनुसार, पपिङ क्रिस्टलमा इमर्जेन–सी भिटामिनको माग बढेको छ ।

युवा प्रवृत्तिहरूको उतारचढाव र ब्रान्डहरूले धेरै मिडिया च्यानलहरूमा गर्नुपर्ने खर्चका अतिरिक्त तिनले जेनेरेसन जेडलाई ‘बुझ्नु’ निकै जटिल बन्न पुगेको छ । टिकटकजस्ता प्लेटफर्महरूमा केही क्षणमै भाइरल हुन्छन् र हराउँछन्, त्यस्ता ठाउँका सामग्री अध्ययन–अनुसन्धान गर्नु निकै कष्टसाध्य हुन्छ । तिनका सामग्रीमा अनुसन्धान गर्न समय र साधनको निकै ठूलो खर्च हुने गर्छ । फेरि त्यहाँ नयाँ नयाँ प्रवृत्तिहरू केही दिनमै आउँछन् र हराउँछन् र अनुसन्धान गर्न अप्ठेरो हुने गरेको छ । यस्ता काम कार्यालयभित्रैका अनुसन्धान विभागले पछ्याउन सक्दैनन् ।

यसका लागि नै ९८ जस्ता एजेन्सीहरू चाहिने हो । त्यस्ता एजेन्सीमध्ये एक जेन एक्सका संस्थापक तथा क्याफ्टेरियाका प्रमुख कार्यकारी ऋषि मलहोत्रा भन्छन्, ‘सांस्कृतिक इनपुटहरू पहिला यस्ता वृहत हुन्थे कि तिनलाई हामी लगभग एउटै समयमा प्राप्त गर्थ्यौ । अहिले ती इनपुटहरू हजारौंमा आउँछन् र तिनलाई एकै पटकमा विश्लेषण गर्न निकै गाह्रो हुन थालेको छ ।’ उनको क्याफेटेरियाले आफ्नो एपमार्फत किशोरहरूको मनपर्ने र मन नपर्ने विषयवस्तुहरूबारे सर्वेक्षण गर्ने गर्छ ।

क्याफेटेरियाको जन्मकथा पनि कम रोचक छैन । ऋषि एक दिन एक कार यात्रामा थिए । उनकी १४ वर्षीया छोरी र उनका साथीहरूलाई म्यानहट्टनबाट लङ आइल्यान्डमा लैजाँदा उनीहरूको कुरा सुनिरहेका थिए । त्यो बेला छोरीले जे जस्तो प्रतिक्रिया दिइन्, त्यसले उनलाई सोच्न बाध्य पार्‍यो कि अहिलेका नयाँ पुस्ताको सोच्ने शैली कस्तो छ र ती शैलीका बारेमा संसारभरिका कम्पनी र ब्रान्डले गहिरो गरी सुन्न जरुरी छ ।

त्यसपछि उनले सन् २०२३ मा क्याफेटेरिया स्थापना गरे । उनको एपमा अमेरिकाभरि छ हजारभन्दा बढी जेनजीले साइन अप गरेका छन् । एपमा करिब २० वटा प्रश्नको जवाफ दिएमा प्रत्येक पटक ४५ प्वाइन्ट कमाउँछन् । यो एपमा संसारभरका कम्पनी तथा तिनका एजेन्सीले जेनजीका यी बुझाइ वा जवाफ पाउनका लागि आफ्नै सर्वेक्षण सञ्चालन गर्न सक्छन् र त्यसका लागि मोटो रकम तिर्छन् । कपडा उत्पादक रोलर रब्बेटकी मार्केटिङ अफिसर क्यारोलिन फिलिप्सले क्याफेटेरियालाई भरपूर उपयोग गर्छिन् । कतिसम्म भने आफ्नो कम्पनी रोलर रब्बेटले सुगन्धित वस्तुहरू बजारमा ल्याउने तयारी गरिरहेको थियो तर क्याफेटेरियाको डाटा र सुझावले गर्दा उनीहरूले त्यो विचार तत्काल स्थगन गरे ।

जेनेरेसन जेडसँग काम गर्ने लगानीकर्ताहरूलाई एउटा भाग्यशाली कुरा भेटिएको छः जेनजी सुझाव दिन कुनै कञ्जुस्याइँ गर्दैनन् । मिलेनियल र जेन एक्स छलफलमा भाग लिने र सुझाव सल्लाह दिने कुरामा थोरै लज्जा वा सन्देह प्रकट गर्ने गर्छ । उता जेनजी भने आफ्ना मनका कुरा फ्याट्ट अभिव्यक्त गर्न कुनै डर, धक वा अप्ठेरो मान्दैन । उनीहरूले फ्याट्ट मन नपर्ने कुरा पनि फिल्टर नगरी बताइदिन्छन् । यस्तो प्रतिक्रिया कम्पनीहरूका लागि मूल्यवान् बन्न पुग्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्