औकात शब्द फारसी मूलको शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ–सामर्थ्य, स्थिति, योग्यता, कार्यक्षमता वा कार्यकुशलता । नेपाली भाषामा औकात शब्दले कुनै व्यक्तिको वास्तविक पहुँच, क्षमता, स्तर वा उसको योग्यताको सीमालाई जनाउँछ । उदाहरणका लागि ‘मानिसले आफ्नो औकात भुल्यो’ भन्नाले उसले आफ्नो वास्तविक क्षमता र हैसियतलाई बढी देखाउने प्रयास गर्यो भन्ने बुझिन्छ ।
शाब्दिक रूपमा, औकात व्यक्ति, संस्था वा राष्ट्रको आर्थिक, बौद्धिक, सामाजिक, राजनीतिक वा नैतिक स्तर पनि हो । धन, ज्ञान, शक्ति वा इमान र आचरणका आधारमा पनि औकात मापन गरिन्छ । औकात एउटा सामाजिक–सांस्कृतिक र नैतिक साथै चारित्रिक अवधारणा हो, जसले व्यक्तिको स्थान, व्यवहार र जिम्मेवारीको सीमा तोक्छ ।
सामाजिक दृष्टिले औकात भनेको व्यक्तिले समाजमा ओगट्ने स्थान, स्थिति र हैसियत हो । उदाहरणको लागि सम्मान वा उसको प्रभावको स्तरको मापन पनि हो । आर्थिक कोणबाट औकात भन्नाले व्यक्तिको वित्तीय सामथ्र्य, जीवनशैली वा प्रभाव आदिको स्तरलाई संकेत गर्छ ।
व्यक्तित्वको हिसाबले औकात भन्नाले कसको क्षमता, योग्यता, साहस वा विवेक कति छ भन्ने बुझिन्छ । औकातको मापन व्यक्तिको व्यवहार, निर्णयशैली र अनुशासनको कसीमा जाँचिन्छ । जसले आफ्नो औकात बुझ्छ ऊ सम्मानको हकदार हुन्छ । जसले आफ्नो औकात भुल्छ ऊ पदको शिखरमा पुगेपछि झर्नसम्म पनि नपाई खुरमुरिन्छ ।
राजनीति र जागिरका केही विषेशता छन् । राजनीति र जागिरले भोकै सुत्नुपर्ने पार्दैन । अर्कोतिर जागिर र राजनीतिको कठोर नियम के छ भने यिनले अमीर हुन पनि दिँदैन । भनिन्छ, धनी हुने उत्कट चाहना छ भने जागिर खाने र राजनीति गर्ने गल्ती नगर । जागिर र राजनीति सेवा हुन् । सेवाबाट गुजारा चल्छ । तर, अमीर हुने बाटोलाई भने जागिर र राजनीति दुवैले छेक्छन् ।
यदि राजनीति र जागिरबाट अमीर भइहाले पनि यसको नकारात्मक प्रभावको शिकार अन्ततः हुनुपर्छ । त्यस्तै, जागिर र राजनीतिको जोसमा होस पुर्याउनु नै पर्छ । जागिर र राजनीतिका यी दुई नियमहरूलाई मध्यनजर गर्ने हो भने नेपालमा भ्रष्टाचार कुन हदसम्म हुँदै आएको छ भन्ने कुरा सामान्य छानबिनबाट छर्लंग हुन्छ ।
राजनीति गर्ने र जागिर खानेहरूको सम्पत्ति र जीवनशैलीको मसिनोसँग निरपेक्ष अनुसन्धान र छानबिन साथै कारबाही यदि भयो भने त्यो छारष्ट हुन्छ । र उनीहरूले सम्पत्तिको स्रोत देखाउन वा प्रमाणित गर्न सकेनन् भने त्यसलाई जफत गर्ने हिम्मत भएको व्यक्तिको हातमा अब हामीले शासन हस्तान्तरण गर्न सक्नुपर्छ ।
यदि त्यसो भयो भने भदौ २४ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीहरू भागेर सेनाको शरणमा कुकुरले मुन्टो लुकाएर सुतेझैं सुत्नुपर्ने परिस्थिति जसरी सिर्जना भयो त्यही अवस्था सबै भ्रष्टाचारीहरूको पनि अवश्य आउँछ ।
भ्रष्टाचारीहरूलाई जेल र उनीहरूको सम्पत्ति जफत गर्ने हिम्मत र कार्यक्षमता भएको बहादुरलाई अब राज्य सत्ता हस्तान्तरण गर्न नेपालमा जति ढिलो हुन्छ हाम्रो विकास र समृद्धि पनि त्यति नै ढिलो हुन्छ । अब पार्टी सशक्त बनाउँछु। एकछत्र राज गर्छु। मोजमस्ती गर्छु। छोराछोरीहरूलाई ठूलाठूला महल बनाइदिन्छु भन्ने चिन्तन बोक्ने अहिलेका दलका नेताहरूलाई युवाहरूले थोरै भए पनि भदौ २४ गते सवक सिकाए ।
उनीहरूले कति सिके त्यो उनीहरूको व्यवहार, चालचलन र जीवनशैलीमा कसरी अनुवाद हुन्छ त्यसको छिनोफानोको जिम्मेवारी भने भविष्यलाई नै दिनुपर्छ । तर कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले पनि उस्ताको उस्तै भन्ने उखानलाई अपदस्थ प्रधानमन्त्री खड्गप्रसाद ओलीले चरितार्थ गराउन कम्मर कसेर लागेका छन् । उनी सेनाको सुरक्षा घेराबाट निस्किएर महेश बस्नेतको सुरक्षा घेरामा बस्न बाध्य छन् ।
सरकारसँग सुरक्षाको भिख पनि माग्दैछन् । महेश बस्नेत स्वयं प्रहरीको निगरानीको सूचीमा छन् भने प्रहरीले बस्नेतलाई समात्यो भने खड्गप्रसाद ओली सुरक्षा संकटमा पर्ने दरो सम्भावनाले उनी किंकर्तव्यविमूढ पनि छन् । उनी सेनाको सुरक्षा घेराबाट निस्केपछि थोरै भए पनि सुध्रन्छन् कि भन्ने मानिसहरूको अडकल अहिले मिथ्या साबित हुने सम्भावना उच्च देखियो । उनको भाषा उनी सुध्रनभन्दा अझै बिग्रनतिर लक्षित देखिन्छ ।
देवीभक्त ढकाल
ओली, दाहाल र देउवालाई नेपाली जनताको साझा प्रश्न छ यो भन्दा तिमीहरू कति सक्किने ? जनताका नेता हुँ भन्छौं तर जनतासँग डराएर सेनालाई सुरक्षा देउ भन्नुपर्यो । त्यो सुरक्षा पनि सेनाबाट तिमीले निशर्त पाएनौं ।
यो कुरा जीवनमा नबिर्सेको खण्डमा तिमीहरू नसप्रे पनि थप बिग्रने छैनौं । सुरक्षाजस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीको पदमा हुँदा याचना गर्नुपर्ने परिस्थिति आफैं निम्त्याउने र सुरक्षा पनि निःशर्त पाउने हैसियत गुमाएको प्रधानमन्त्री बन्नुभन्दा लज्जास्पद अर्को के हुन्छ ।
खड्गप्रसाद ओलीसँग थोरै लाज भएको भए अहिले उनी ट्याँउट्याँउ किमार्थ बोल्दैनथे । उनी मात्रै होइन २०४६÷४७ देखि अहिलेसम्म पार्टीको नेतृत्व गर्नेहरूले गरेको उपलब्धि भनेको उनीहरूले आफ्नो लाज राजीनामा गर्ने प्रतिस्पर्धा अर्थात् कोभन्दा को ठूलो घुस्याहा हुने प्रतिस्पर्धामा सबैले समय गुजारे । त्यसको परिणाम के भयो भने प्रधानमन्त्री जस्तो उच्च पदस्थ व्यक्तिले सुरक्षाका लागि शर्त स्वीकार्न पर्यो ।
अर्थात् प्रधानमन्त्रीको पद राजीनामा नगरीकन सेनाले पनि सुरक्षा दिएन । सबैले जान्नुपर्ने विषय के हो भने मानिस होइन समय बलवान् हुन्छ । अब ४० वर्षभन्दा माथिल्लो उमेरको कुनै पनि व्यक्तिलाई पार्टी र सरकारको नेतृत्व नदिने कसम युवाहरूले खानुपर्ने स्थिति छ । देश युवाहरूको हो । युवाको भाग्य र भविष्यमा होली खेल्ने नेतृत्वलाई सधैंका लागि बिदा गर्ने नीति र रणनीति युवाहरूले अख्तियार समयमै नगर्ने हो भने भ्रष्टहरूको षड्यन्त्रमा युवाहरू नै फस्नेछन् ।
तसर्थ जिम्मेवारीमा हुनेहरू जिम्मेवार नबन्दा के हुन्छ भन्ने मन्त्र ओली, दाहाल र देउवाबाट युवाहरूले पनि सिक्नैपर्छ । यो कालखण्डमा भएको अनियमितता, भ्रष्टाचार, नियुक्तिको व्यापार, ठेकदारसँगको मिलिभगतबाट गर्ने नाजायज लाभजस्ता तमाम विषयहरूलाई शिक्षाको पाठ्यक्रममा राखेर भ्रष्टाचारीहरूको हविगत के हुन्छ भन्ने शिक्षा दिएर आगामी पुस्तालाई सदाचारी बन्ने शिक्षाको खाकासमेत युवाहरूले कोर्नुपर्छ ।
अब देशलाई प्रगतिको शिखरमा लैजान युवालाई कसैले रोकेको छैन । जनतालाई जसले दिए पनि विकास, समृद्धि र सुशासन चाहिएको छ । कुन पार्टी राम्रो कुन नराम्रो, कुन नेता राम्रो कुन नराम्रो, तेरोमेरो भन्ने बहसको अन्त्य भएको छ । नेताका घरमा भएका आगजनीमा तिनका घरमा जलेका रुपैयाँ र डलर; उनीहरूले थुपारेका सुन, चाँदीका भग्नावशेषले उनीहरूबीचको भिन्नतालाई समाप्त गरेको छ । उनीहरूको आदर्श नांगेझार भएको छ ।
अमुक नेता र अमुक पार्टी ठीक र बेठीक भन्ने अनावश्यक बहसमा कसैले पनि समय खेर फाल्न जरुरी भएन । जोजो नेतृत्वमा रहे ती बेठीक थिए भन्ने उनीहरू आफैले प्रमाणित गरे ।२०४६-४७ को परिवर्तनपछि कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक सबै प्रधानमन्त्रीमाथि सदाचारको प्रश्न उठ्यो । पदमा पुगेका सबैले आफ्नो हैसियतअनुसारको भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरे ।
यहाँ राजनीतिमा मात्र प्रतिस्पर्धा भयो । देशको विकास, समृद्धि र सुशासनप्रति कसैले ध्यान दिएन । प्रतिस्पर्धा त भ्रष्टाचार र अनियमिततामा भयो । तसर्थ देश र जनताको परिस्थितिलाई बुझेर बुझ पचाउनेहरूले अब सम्भावित अवस्थालाई गम्भीरतापूर्वक बुझ्ने कोसिस गर्नुपर्छ । अब आफ्नो औकात र नापो अनुसार मात्र काम गर नत्र त्यो अवसर पनि युवाहरूले अपहरण गर्ने दरो सम्भावना छ ।
विद्रोह गर्न जस्तो सजिलो सुशासन, समृद्धि र विकास गर्न पक्कै छैन । विरोधमा जनता उक्साउन सजिलो हुन्छ । तर विकास, समृद्धि र सुशासनको पूर्वाधार तयार गर्नका लागि जनता उक्साउन सजिलो छैन । सिंहदरबार लहैलहैमा अर्थात् लहडमा जल्यो अब त्यो कसैको लहैलहैमा र लहडमा किमार्थ निर्माण हुँदैन । त्यसकारण सकारात्मक परिवर्तनका लागि धेरै मेहनत र चिन्तन जरुरी हुन्छ । फेरि कसलाई पछार्ने भनेर सोच्दा आफैं पछारिने सम्भावना हुन्छ ।
तसर्थ राजनीतिमा अब कसैले कसैलाई पछार्ने काम गर्नुहुन्न । हिजो अरूलाई पछार्न खोज्नेहरू आज आफैं पछारिए । तसर्थ अब पछार्ने बुद्धिलाई सबैले परित्याग गर्नुपर्दछ । अब ओली, दाहाल र देउवा प्रवृत्ति र संस्कृतिलाई पछार्नुपर्छ । अभाव, गरीबी, भेदभाव र पक्षपातको प्रवृत्तिलाई पछार्नुपर्दछ ।
भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद, ढिलासुस्तीजस्ता विकृतिलाई पछार्नुपर्दछ । युवाहरूले आफ्नो आलस्यलाई जति सकेको पछार्नुपर्दछ । पराजित हुनेहरू र विजय प्राप्त गर्नेहरू दुवैले आफ्नो औकातको ख्याल गर्नुपर्दछ । आज अर्कालाई खनेको खाडल फेरि मेरा लागि प्रयोग हुनसक्छ भन्ने विषयमा समय छँदै युवाहरूले हेक्का राख्नुपर्दछ । पछि फेरि ओली, दाहाल र देउवालेजस्तै पछुताउने अवसर युवाले पाउने छैनन् ।
जब व्यक्ति वा समूहले आफ्नो औकातलाई पद, धन वा वंशसँग बाँध्छ, त्यहाँ अहंकार जन्मन्छ । ओली, दाहाल र देउवाले झैं अरूलाई सानो ठान्ने, आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति बढ्छ । परिणामस्वरूप नैतिक पतन र असहिष्णुताको बीउ रोपिन्छ । राजनीतिमा जसले औकात भुल्छ ऊ सर्वसत्तावादी हुन्छ ।
आलोचना सुन्न सक्दैन । त्यसैले आफ्नो औकात बुझ्नु नै बुद्धिमानी हो भने औकात देखाउनु मूर्खता हो । औकात बुझ्नेले समाज र राष्ट्र उठाउँछ । औकात देखाउनेले समाज र राष्ट्र जलाउँछ । हाम्रो नेतृत्वले औकात बुझेको भए यत्रो भयावह र रक्तपात हुने थिएन । पुरातात्त्विक र ऐतिहासिक राष्ट्रिय सम्पदाहरू किमार्थ जल्ने थिएनन् । जो जहाँ–जहाँ छन्, ती सबैले आफ्नो औकातको ख्याल गरौं । आफ्नो सक्कली औकात नबिर्सौं ।