विश्वले अनेकौं राजनीतिक उतारचढाव देख्यो । सन् २०२५ मा आइपुग्दा यो असन्तोष अझ गहिरो, युवा केन्द्र र डिजिटल भएको छ । एन्डिज पर्वतदेखि हिमालयसम्म फैलिएको यो लहरलाई कतिपयले ‘जेनजी विद्रोह’ भन्न थालेका छन् । यस लहरको मुटुमा छन् सन् १९९६–२०१२ बीच जन्मिएका, डिजिटल युगमै हुर्केका, र सामाजिक न्यायका पक्षधर युवा– जसलाई आज ‘जेनजी’ भनेर चिनिन्छ ।
मडागास्करदेखि काठमाडौंसम्मको झल्को
यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिना सत्ताच्युत भएर देश छोड्न बाध्य भए । यो परिघटना अचानक भएको होइन । यो त हप्तौंदेखि बलिरहेको युवा आक्रोशको बिस्फोटमात्र थियो । आफूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने प्रदर्शनकारीहरूको नेतृत्वमा सुरु भएको आन्दोलनले अन्ततः सैन्य हस्तक्षेपमार्फत परिवर्तन ल्यायो ।
मडागास्करको घटनाले अन्य मुलुकका जेनजी आन्दोलनसँग चाखलाग्दो समानता देखायो । नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्को (जहाँ युवा नेतृत्वमा स्वःस्फूर्त र नेतृत्वविहीन आन्दोलनहरू भइरहेका छन्) ती सबै आन्दोलनहरूको मुख्य इन्धन भनेको लामो समयदेखि सञ्चालित असमानता, भ्रष्टाचार, बेरोजगारी, र अवसरको अभाव हो ।
‘परम्परागत प्रणालीले हामीलाई अस्वीकार गरेको छ’
परम्परागत राजनीतिक प्रणालीहरूले उनीहरूको भविष्यप्रति कुनै गम्भीरता देखाएका छैनन् भन्ने युवाहरूको मूल सन्देश स्पष्ट छ । बेलायतस्थित ‘सोसल चेन्ज ल्याब’का निर्देशक स्याम नाडेल भन्छन्, ‘यी आन्दोलनहरूको साझा भावना भनेको यो हो कि परम्परागत प्रणालीहरूले जलवायु संकट, आर्थिक असमानता र भ्रष्टाचारजस्ता युवा चिन्तालाई सम्बोधन गर्न असफल भएका छन् । जब संस्थागत बाटोहरू बन्द हुन्छन्, सडक नै विकल्प बन्छ ।’
जेनजीको विशेषता भनेकै तिनीहरूको डिजिटल सशक्तता हो । सूचना, विचार र योजना उनीहरूले इन्स्टाग्राम, टिकटक, एक्स र गेमिङ प्लेटफर्म डिस्कोर्डमा साझा गर्छन् । आन्दोलन अब केवल भौतिक भीड होइन, यो डिजिटल जागरण पनि हो ।
‘वन पिस’ झण्डा : प्रतिरोधको पप–प्रतीक
विश्वभरका आन्दोलनहरूमा एउटै सांस्कृतिक प्रतीक उभिएको छ । कालो झण्डामा हाँसिरहेको खोपडी र पराल टोपी लगाएको क्रसबोन्स । यो जापानी मंगा ‘वन पिस’ बाट लिएको प्रतीक हो । जसले अन्यायविरुद्धको युद्धलाई प्रतीकात्मक रूपमा चित्रित गर्छ ।
नेपालमा सिंहदरबार बाहिर, पेरुमा सान मार्टिन स्क्वायरमा, मोरक्कोका सडकहरूमा र फिलिपिन्समा यही झण्डाले एकता र विद्रोहको संकेत दिएको छ । डिजिटल युगका युवाहरूले पप संस्कृतिलाई राजनीतिक सन्देशमा रूपान्तरण गरेर प्रतिरोधलाई भावनात्मक र सांस्कृतिकरूपमा समेत बलियो बनाएका छन् ।
आन्दोलनको स्वरूप : इतिहास दोहोरिँदै होइन, विकसित हुँदैछ
अक्युपाई वाल स्ट्रिट, अरब स्प्रिङ, हङकङको अम्ब्रेला क्रान्ति । यी सबै आन्दोलनहरूमा युवाहरू अग्रपंक्तिमा थिए । तर, जेनजी आन्दोलनको विशेषता भनेको यसले डिजिटल सञ्जालको प्रयोगलाई रणनीतिक हतियार बनाएको हो ।
‘डिजिटल प्लेटफर्महरूले सशक्त जनसम्पर्क र सूचना आदानप्रदान सुनिश्चित गर्छन् । सफल आन्दोलनहरू भर्चुअल र भौतिक दुवै स्तरमा लडिन्छन्,’ नाडेल बताउँछन् ।
नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारी भन्छन्, ‘हामी केवल नेपाली होइनौं, हामी विश्व नागरिक हौं भन्ने महसुस भयो । डिजिटल स्पेसले हामीलाई जोड्यो र सशक्त बनायो ।’
जेनजीको विद्रोह कि पुनर्निर्माणको प्रारम्भ ?
आजको जेनजी आन्दोलन केवल आक्रोश होइन । यो नयाँ राजनीतिक संस्कृतिको संकेत हो । नेतृत्वविहीन तर संगठित, भावनात्मक तर तथ्यमा आधारित, स्थानीय तर वैश्विक । यो आन्दोलनले युवाहरूको चेतना र सामथ्र्यको परिचय दिएको छ ।
यो विद्रोह हो । तर, केवल नष्ट गर्नका लागि होइन । यो पुनर्निर्माणको सुरुवात पनि हो । जहाँ न्याय, समानता र उत्तरदायित्व प्राथमिकता होस् । जब एक झण्डा जापानी मंगाबाट सुरु भएर पेरुका सडकमा फहरिन्छ । तब हामी बुझ्न सक्छौं–आजको प्रतिरोध कुनै एक देशको होइन, यो पुस्ताको हो ।
देशैपिच्छे आक्रोशका रूप
मोरक्को : नेतृत्वविहीन क्रान्ति
‘जेनेरेसन जेड २१२’ नामक समूहले मोरक्कोमा नेतृत्वविहीन आन्दोलन सञ्चालन गर्यो । उनीहरूको माग स्पष्ट थियो– राम्रो सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्यमा खर्च बढाउनुपर्ने । उनीहरूले सरकारको अतिक्रमण, भ्रष्टाचार र संसाधनको दुरुपयोगविरुद्ध आवाज उठाए ।
पेरु : भ्रष्टाचारको जरा हल्लाउने लहर
पेरुमा आन्दोलन पेन्सन ऐन र व्यापक सरकारी भ्रष्टाचारविरुद्ध केन्द्रित भयो । राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरजस्तो युवा ‘वन पिस’ झण्डा बोकेर आन्दोलनमा उभिएका थिए । ‘हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दैछौं,’ उनको भनाइ थियो ।
इन्डोनेसिया : सांसदहरूको भत्ता बन्यो आन्दोलनको कारण
इन्डोनेसियामा सांसदहरूको भत्ता र खर्चले युवाहरूमा आक्रोश पैदा गर्यो । आन्दोलन तातेपछि राष्ट्रपतिले आफ्ना प्रमुख मन्त्रीहरू हटाउनुपर्यो । यसले देखाउँछ– जनता झनै संवेदनशील र सचेत बन्दै गएका छन् ।
नेपाल : दक्षिण एसियाको जेनजी नेतृत्व
नेपालमा भएको जेनजी आन्दोलन अहिले दक्षिण एसियामा सबैभन्दा प्रभावशाली मानिएको छ । प्रधानमन्त्रीको राजीनामासँगै अन्त्य भएको यस आन्दोलनले श्रीलंकाको २०२२ आन्दोलन र बंगलादेशको २०२४ आन्दोलनबाट प्रेरणा लिएको थियो । नेपालमा आन्दोलन डिजिटल र भौतिक दुवै रूपमा व्यापक भयो ।
सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाए पनि, युवाहरूले भीपीएनको सहायताले टिकटक, इन्स्टाग्राम र एक्समार्फत सशक्त प्रतिरोधको शृंखला जारी राखे । सिंहदरबारदेखि सडकसम्म युवा जुटे, र डिजिटल माध्यममा आन्दोलनको योजना, सन्देश र रणनीति साझा गरे ।