नेभिगेशन
नेपाल

आज भाइटीका : बिहान ११ बजेर ३९ मिनेट जाँदा उत्तम साइत

काठमाडौँ, ६ कार्तिक – आज यमपन्चकको पाँचौ दिन, दिदीबहिनीको माया र दाजुभाइको स्नेह साटासाट हुने क्षण - भाइटीका । यो केवल नेपालमा होइन, विश्वभर एउटै समयको प्रतीक बनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटलाई यस वर्षको भाइटीकाको उत्तम साइत घोषणा गरेको छ ।

तर यो साइत केवल काठमाडौंसम्म सीमित छैन । विदेशमा रहेका लाखौँ नेपाली दिदीबहिनी र दाजुभाइहरूले पनि आफ्ना देशको समयअनुसार शुभ साइतमा भाइटीका मनाउने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अमेरिका, अष्ट्रेलिया, जापानदेखि यूरोपका विभिन्न देशमा समेत भाइटीकाको उपयुक्त साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार २२ र २३ अक्टोबरका दिन विश्वका विभिन्न देशमा भाइटीका लगाउने शुभ समय जुरेको छ । भारतको दिल्लीमा बिहीबार बिहान ११:५५ मा भाइटीकाको उत्तम साइत रहनेछ भने अमेरिकामा यही साइत २२ अक्टोबरका दिनका लागि उपयुक्त देखिएको छ ।

अमेरिकाका प्रमुख सहरहरूमा साइत फरक–फरक समयमा परेको छ - न्यूयोर्कमा बिहान ११:५५, वासिङ्टन डीसीमा ११:४१, टेक्सासमा ११:५७ र क्यालिफोर्नियामा ११:४९ मा भाइटीका लगाउने शुभ समय मिलेको छ। क्यानडाको टोरन्टोमा ११:२३ र भ्यानकुभरमा ११:३५ मा पनि शुभ साइत जुरेको छ ।

अष्ट्रेलियामा पनि दिदीबहिनी र दाजुभाइबीचको माया साटासाट हुने बेला नजिकिँदैछ - सिड्नीमा ११:२५, मेलबर्नमा ११:२५, ब्रिसबेनमा ११:४३, एडिलेडमा ११:५३ र पर्थमा १०:३४ मा भाइटीकाको उत्तम समय निर्धारण गरिएको छ ।

युरोपमा पनि नेपाली समुदायले आफ्नै साइत पाएका छन् - लण्डनमा ११:३७, पेरिसमा ११:२१, फ्र्याङ्कफर्टमा ११:३१, ओस्लोमा ११:४३ र लिस्बनमा ११:२९ मा भाइटीका लगाउन सकिनेछ ।

एशियाली देशहरूमा पनि उत्साह उस्तै छ - मलेसियाको क्वालालम्पुरमा ११:५७, थाइल्यान्डको बैंककमा ११:४१, सिंगापुरमा ११:५८, जापानको टोकियोमा ११:४२, दक्षिण कोरियामा ११:२१ र इजरायलको तेल अभिवमा ११:०१ मा भाइटीकाको शुभ साइत रहेको छ ।

Bhaitika_international-1761173123.jpg
यी समय फरक देखिए पनि भावना एउटै छ - संसारका जुनसुकै कुनामा रहे पनि दिदीबहिनीको टीका र दाजुभाइको असीम माया एउटै धागोले जोडिएको छ ।

यो वर्ष पनि संसारका नेपालीहरूले डिजिटल माध्यमबाट ‘भर्चुअल भाइटीका’ मनाउने तयारी गरेका छन् । कतिपयले भिडियो कलमार्फत् टिका लगाउँदै छन् भने कतिपय दिदीबहिनीले विदेशमा रहेका दाजुभाइका नाममा टिका र माला घरमै अर्पण गर्ने तयारी गरेका छन् ।

नेपाली संस्कृति आज सीमाना नाघेर विश्वभर फैलिएको छ । काठमाडौंदेखि क्यानडाको टोरन्टोसम्म, सिड्नीदेखि साउदीसम्म — दाजुभाइ र दिदीबहिनीको आत्मीय सम्बन्धलाई एउटै शुभ साइतले बाँधिदिएको छ ।

भाइटीका केवल पर्व होइन, नेपाली पहिचान र सम्बन्धको साझा सूत्र बनेको छ — समय फरक भए पनि भावना एउटै रहन्छ, “दिदीको टीकामा दाजुभाइको आयु र माया सधैं समर्पित । सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा तिहारको शुभकामना !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्