नेभिगेशन
नेपाल

क्लाउडफ्लेयरमा चार घण्टा अवरोध, इन्टरनेट जगतमा भूकम्प

काठमाडौं । चर्चित अनलाइन न्यूज पोर्टल, सामाजिक सञ्जाल र विभिन्न सेवा प्रदायकका वेबसाइटहरू मंगलबार साँझ एक्कासि खुल्न छोडे । फाट्टफुट्ट खुलेका पनि बन्द भए । कम्प्युटरका स्क्रीनमा देखियो – इन्टरनल सर्भर इरर ।

समाचार पढ्न खोज्ने पाठकहरूको मोबाइल र कम्प्युटर स्क्रिनमा ‘क्लाउड इरर’ वा ‘५०० इन्टर्नल सर्भर इरर’ जस्ता सन्देश देखिए । नेपालका चलेका धेरैजसो अनलाइन पोर्टल खुलेनन् । अत्यधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल ‘एक्स,’ सांगीतिक साइट ‘स्पोटिफाइ,’डिजाइनका लागि चलाइने ‘क्यान्भा’, च्याटजीपीटी सञ्चालक ‘ओपनएआई’ चलेनन् ।

शपिफाइ, क्लाउड, टीमोबाइल, एटी एण्ड टी लगायत धेरैजसो साइट अवरुद्ध भए । सबैमा इरर देखियो । धेरैले यसलाई आफ् नो इन्टरनेट वा वाइफाईको समस्या ठाने, तर वास्तविकतामा यो इन्टरनेटको विश्वव्यापी पूर्वाधारमा आएको एक गम्भीर समस्या थियो । करिब ४ घण्टा यो समस्या रह्यो ।

मंगलबार साँझ देखिएको यो समस्याको मुख्य कारण अमेरिकी कम्पनी ‘क्लाउडफ् लेयर’को सिस्टममा आएको प्राविधिक गडबडी (आउटेज) थियो । क्लाउडफ्लेयरका कारण संसारका ३३० सहरमा समस्या आएको खबर अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरूले दिएका छन् ।

क्लाउडफ्लेयर विश्वकै सबैभन्दा ठूलो ‘कन्टेन्ट डेलिभरी नेटवर्क’ (सीडीएन) र सुरक्षा सेवा प्रदायक कम्पनी हो । यसले वेबसाइटहरूलाई ह्याकरबाट बचाउनुका साथै साइट छिटो खुल्न मद्दत गर्छ ।

संसारभरका लाखौं बेवसाइट समस्या आएपछि क्लाउडफ्लेयरले आफ्नो साइटमा ‘आएको प्राविधिक समस्याबारे जानकार रहेको र मर्मत भइरहेको’ सूचना जारी गरेको थियो । सिस्टम चल्न थालेपछि भने कम्पनीले ‘अब समस्या पत्ता लागेर निदान गरियो । यद्यपि केही साइट खुल्नमा कठिनाइ देखिन सक्छन् । हामी मर्मत गरिरहेका छौं,’ भनेर सन्देश अपडेट गर्‍यो ।

के हो समस्या ?

इन्टरनेटको भाषामा क्लाउड फ्लेयरलाई ‘ट्राफिक पुलिस’ मानिन्छ । जब हामी कुनै वेबसाइट खोल्छौं, हाम्रो अनुरोध सिधै वेबसाइटको सर्भरमा नगई पहिला क्लाउडफ् लेयरको नेटवर्क हुँदै जान्छ । यही ‘बीचको बाटो’ (गेटवे)मा समस्या आउँदा वेबसाइटको मुख्य सर्भर ठीक भए पनि प्रयोगकर्ताले साइट हेर्न नपाएका हुन् ।

यो समस्या नेपालमा मात्र देखिएको होइन । क्लाउडफ्लेयरको सेवा लिने विश्वभरका लाखौं वेबसाइटहरू, ई–कमर्स प्लेटफर्म र च्याटजीपीटी, डिस्कर्डजस्ता लोकप्रिय एपहरूमा पनि प्रभावित भए । साइट र एपहरू खुलेनन्, खुले पनि ढिला चले । नेपालमा मुख्यगरी धेरै ट्राफिक हुने न्यूज पोर्टलहरूले सुरक्षाका लागि क्लाउडफ् लेयर प्रयोग गर्ने हुनाले तिनीहरू बढी प्रभावित भएका छन् ।

साइबर सुरक्षा जानकारहरूका अनुसार एउटै सेवा प्रदायकमा धेरै निर्भर हुँदा (सेन्ट्रलाइजेसन अफ इन्टरनेट) यस्तो जोखिम निम्तिने गर्छ । यद्यपि, यो कुनै साइबर आक्रमण (ह्याकिङ) भने होइन । क्लाउडफ्लेयरले समस्या पहिचान भइसकेको र मर्मत कार्य भइरहेको जानकारी दिँदादिँदै पनि यो घटना इन्टरनेटको जगत हल्लाएको छ ।

इन्टरनेटको फास्ट ट्र्याकमै गडबडी

आफूले ब्राउज गरेका बेला नचल्दा धेरैलाई लाग्न सक्छ — मेरो मोबाइलमा डाटा छ, वेबसाइट चलेको छैन भने पक्कै वेबसाइट बिग्रियो । तर, आजको डिजिटल दुनियाँमा वेबसाइट र पाठकका बीचमा एउटा ठूलो पर्खाल हुन्छ, जसलाई ‘कन्टेन्ट डेलिभरी नेटवर्क’ (सीडीओएन) भनिन्छ । क्लाउडफ्लेयर यही प्रविधिको विश्वकै ठूलो कम्पनी हो ।

यसले मुख्यतः दुईवटा काम गर्छ । पहिलो, गतिका लागि ‘लोकल गोदाम’ (क्याचिङ) । मानौं, कुनै अनलाइन पोर्टलको मुख्य कम्प्युटर (सर्भर) अमेरिका वा सिंगापुरमा छ । नेपालबाट सिधै अमेरिकाको सर्भरमा जोडिँदा वेबसाइट खुल्न समय लाग्छ । क्लाउडफ्लेयरले त्यो वेबसाइटको एउटा नक्कल (कपी) काठमाडौं वा नजिकैको डाटा सेन्टरमा राख्छ । जब तपाईं साइट खोल्नुहुन्छ, अमेरिका जानुपर्दैन, नजिकैको ‘लोकल गोदाम’ बाट तुरुन्तै खुल्छ । यसलाई ‘क्यासिङ’ भनिन्छ ।

दोस्रो, सुरक्षाका लागि ‘डिजिटल मास्क’ (सेक्युरिटी) । ह्याकरहरूले वेबसाइटलाई आक्रमण गर्न खोज्दा उनीहरूले वेबसाइटको असली घर (आईपी एड्रेस) पत्ता लगाउनुपर्ने हुन्छ । क्लाउडफ्लेयरले वेबसाइटको असली ठेगाना लुकाएर आफ्नो ठेगाना दिन्छ । ह्याकरले आक्रमण गरेमा त्यो क्लाउडफ्लेयरको बलियो पर्खालमा ठोक्किन्छ र वेबसाइट सुरक्षित रहन्छ ।

मंगलबार के भयो ? वेबसाइटको ‘असली घर’ (सर्भर) सुरक्षित छ, तर घरसम्म पुग्ने ‘मूल बाटो’ (क्लाउडफ्लेयर)मा गडबडी आएको थियो । त्यसैले प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘क्लाउड इरर’ देखेका हुन् ।

संसारभर नगण्यको दबदबा

क्लाउडफ्लेयरजस्तै कन्टेन्ट डेलिभरी नेटवर्क र सुरक्षा दिने कम्पनीहरू दर्जनौं छन् । तर, ठूलो बजार हिस्सा ४–५ कम्पनीले मात्रै ओगटेका छन् । कम्पनी पनि दुई थरिका छन् – धेरै ग्राहक भएका र धनी ग्राहक भएका । क्लाउडफ्लेयर धेरै ग्राहक भएको कम्पनीमा पर्छ ।

क्लाउडफ्लेयरले विश्वभरका साइटमध्ये २० प्रतिशतभन्दा बढीलाई सेवा दिन्छ । सन् २०२४ को तथ्यांकअनुसार यसलाई पैसा तिर्ने ग्राहक करिब २ लाख १० हजार छन् । निःशुल्क सेवा लिने लाखौं वेबसाइट र ब्लगहरू छन्, जसमा नेपालका पनि धेरै न्यूज पोर्टलहरू छन् । क्लाउडफ्लेयरको विशेषता सानादेखि ठुला सबैका लागि सजिलो र सस्तो भएकाले सेवा लिने धेरै भएका हुन् ।

अर्को कम्पनी हो, अकामाइ । बजार हिस्सा थोरै भए पनि यसको ग्राहक संख्या हजारौं छ । क्लाउडफ्लेयरका तुलनामा ग्राहक निकै कम भए पनि यसले विश्वको इन्टरनेट ट्राफिकको ठूलो हिस्सा धान्छ । फेसबुक, माइक्रोसफुट, ठुला बैंकहरू र विश्वका फोर्चुन ५०० कम्पनीमध्ये धेरैजसो यसका ग्राहक छन् । यसको सेवा महँगो र व्यापारिक छ । नेपालका बैंक तथा ठुला कर्पोरेट हाउसहरूले पनि यसको सेवा लिएका छन् ।

तेस्रो ठूलो कम्पनी हो अमेजन क्लाउड फ्रन्ट । यो खासगरि वेब डेभलपर र एप बनाउने कम्पनीमाझ लोकप्रिय छ । चौथो कम्पनी हो फास्टली । संख्यामा यसका ग्राहक थोरै भए पनि प्रवधिमा बलियो मानिन्छ । न्यूयोर्क टाइम्स, भिमेओजस्ता ठुला मिडिया कम्पनी यसका ग्राहक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्