नेभिगेशन
अचम्मको संसार

संसारकै पहिलो चुम्बनको खोजी

लण्डन – मान्छेले चुम्बन गर्न कहिलेदेखि थाल्यो ? यो जिज्ञासा धेरैलाई छ । झन् वैज्ञानिकहरूलाई नहुने कुरै भएन । यतिबेला बेलायतका केही प्राइमेट जीवसम्बन्धी अध्येताहरू यसैको खोजीमा लागेका छन् ।

धेरैलाई यो चुम्बन कला आधुनिक मानिसको खोज ठान्छन् र उति पुरानो खोज होइन भन्ने लाग्छ । तर एउटा अध्ययनले नियान्डरथलसम्म यसको जरो पुग्ने अनुमान गरेको छ । वैज्ञानिकहरूका अनुसार, यो चुम्बन गर्ने कला मान्छेहरूभन्दा निकै पुरानो हुन सक्ने निष्कर्ष निकाल्न सकिन्छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनअनुसार, चुम्बन ‘मानव र अन्य ठूला बाँदरहरूको साझा पूर्वजमा करिब २१ मिलियन वर्ष पहिले विकसित भएको’ हो र नियान्डरथलहरूले पहिलो पटक चुम्बनको प्रयोग गरेको हुनसक्छ । नियान्डरथलहरू करिब ४ लाख ३० हजार वर्ष पहिले यो धर्तिमा देखापरेका थिए । होमो सेपियन्स (जो अहिलेका मान्छे हुन्) जाति करिब तीन लाख वर्ष पहिले एउटै साझा पूर्वजबाट विकास भएका हुन् । दुवै प्रजातिहरू करिब २६ सयदेखि ५४ सय वर्षसम्म युरोपमा सँगै जीवनयापन गर्न थालेका थिए । अन्ततः करिब ४० हजार वर्ष पहिले पछिल्लो नियान्डरथलको विलुप्त हुन पुगे ।

नियान्डरथल र होमो सेपियन्ससँगै हुँदा आपसी प्रजनन गरिरहेको हालैको अध्ययनबाट देखिएको छ । तर यी अन्तरक्रियाहरू शुद्ध जनावरको स्वाभावबाट बाहिर गएर माया प्रेमका सानातिना संकेतहरू पनि समावेश हुनसक्ने वैज्ञानिकहरूले बताएका छन् । अघिल्ला अध्ययनहरू अनुसार आधुनिक मानव र नियान्डरथलहरूले केही समान किसिमका मुखका जीवाणुहरू साटासाट गर्थे । सम्भवतः खानाका माध्यमबाट वा बालबालिकालाई खाना नरम पार्न चबाउने काम गर्दा यी जीवाणुहरू सरेको हुनसक्छ । यो पछिल्लो अध्ययनले भने मानव र नियान्डरथलहरू एक अर्कालाई चुम्बन गर्थे भन्ने संकेत दह्रोसँग दिएको छ ।अक्सफोर्डको जीवविज्ञान विभागकी विकासवादी जीवविज्ञानी म्याटिल्डा ब्राइन्डल भन्छिन्, ‘विकासवादी दृष्टिकोणको परीक्षण गर्ने क्रममा चुम्बनको कोणबाट पहिलो पटक सोचिएको छ ।’ मानवजातिले चुम्बन गर्न कसरी र कहिले सिक्यो भन्ने जिज्ञासाले अध्ययनले स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि चुम्बनले रोग सर्न सक्ने जोखिम ल्याउँछ । चुम्बनको विकास सरसफाइ वा आमा तथा सन्तानको आहार र पालनपोषणसँग सम्बद्ध हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

अध्ययनकर्ताहरूले चुम्बनलाई ‘खाना साटासाट नगरी गैर–आक्रमक, मुखदेखि मुख सम्पर्क’ भनेर परिभाषित गरेका छन् । चिम्पान्जी, बोनोबो र ओराङगुटानका व्यवहारहरू हेरेर चुम्बनको शुरूवात बुझ्ने प्रयास गरिएको हो । चुम्बनलाई विकासवादी गुणको रूपमा लिँदै, उनीहरूले प्राइमेट परिवार वृक्षको एक जटिल मोडेल चलाएर विभिन्न विलुप्त पूर्वजहरूले पनि चुम्बन गरेको सम्भावना मूल्यांकन गरिएको थियो ।

यो मोडेललाई एक करोड पटक चलाएर सबैभन्दा सही अनुमानहरू प्रदान गरिएको वैज्ञानिकहरूले दाबी गरेका छन् ।

हामीले चुम्बन कहिले लिएका हौं भन्ने मिति १६.९ मिलियन देखि २१.५ मिलियन वर्षको बीचमा पर्ने मोडलको अनुमानलाई वैज्ञानिकहरूले सटिक मानेका छन् । र, जब विभिन्न आधुनिक मानव प्रजातिहरू सँगै थिए तब के उनीहरूबीच चुम्बन हुन्थ्यो ? भन्ने प्रश्नमा वैज्ञानिकहरूको जवाफ छ, ‘हाम्रो अध्ययनमा पहिलेको अनुसन्धानहरूसँग मिलेर के देखाउँछ भने मानव र नियान्डरथलले मुखका जीवाणुहरू साटासाट गर्थे । भनाइको अर्थ मानव र नेन्डरथलहरूले एक अर्कालाई चुम्बन गर्थे ।’ इभोल्युसन एन्ड ह्युमन बिहेभियरमा यो अनुसन्धान प्रकाशित भएको छ । अनुसन्धानका लेखकहरूले भनेका छन्, ‘यो अध्ययन चुम्बन कसरी विकसित भयो भन्ने मात्र हो । जनावरहरूले किन चुम्बन गर्छन् भन्नेमा अनुसन्धान भएको होइन । यसले चुम्बनको प्रक्रिया वा कार्यको बारेमा केही भनेको छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्