काठमाडौं । नेपालको राजनीतिमा अस्थिर नेताका रूपमा हेरिने बाबुराम भट्टराईले आइतबार पुनः नयाँ पार्टी गठन गरेका छन् । लामो भूमिगत जीवन, सशस्त्र द्वन्द्वपछिको शान्तिपूर्ण राजनीतिक अवतरणसँगै पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका ७१ वर्षीय भट्टराईले मध्यावधि निर्वाचनको संघारमा केही पुराना– नयाँ सहयात्री जोडेर नयाँ दल बनाएका हुन् ।
२०७२ असोज ३ गते नयाँ संविधान जारी भएको ६ दिनपछि अर्थात असोज ९ गते नेकपा एकीकृत माओवादी पार्टी परित्याग गरेका उनले त्यसयता वैकल्पिक शक्ति निर्माणको प्रयास जारी राखेका छन् । तर, उनको प्रयासले आकार लिन सकेको छैन । भट्टराई स्वयंले आफूलाई गतिशिल नेताका रूपमा दाबी गर्दै आए पनि राजनीतिक वृत्तमा भने उनको फिक्का प्रयासलाई लिएर ‘अस्थिर नेता’का रूपमा उनको चर्चा हुने गर्छ ।
१० वर्ष लामो सशस्त्र द्धन्द्वको नेतृत्व गर्ने माओवादी पार्टीका शीर्ष नेता भट्टराईले शान्तिप्रक्रियामा आएपछि आफैंले बनाएको पार्टी परित्याग गरे । उनले पार्टीमात्रै परित्याग गरेनन्, मर्न मार्न तयार भएर अंगालेको विचार नै परित्याग गरेको घोषणा गरिदिए । त्यसयता पार्टी निर्माण, एकता, विभाजन र पुनः एकताको घुम्तीमा उनी भौतारिइरहेका छन् । आइतबार उनले माओवादीबाट अलग्गिएका जनार्दन शर्मा, राम कार्की, सुदन किराँती र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारसँग एकता गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् ।
अस्थिरताको एक दशक
भट्टराईले संविधान जारी भएपछि माओवादी ‘रातो स्टिकर’ लागेको बस्न नमिल्ने घर भन्दै पार्टी परित्याग गरे । ०७३ जेठ ३० गते दशरथ रंगशालाबाट उनले नयाँ शक्ति पार्टीको घोषणा गरे । निर्वाचनमा उक्त पार्टीबाट भट्टराई मात्रै निर्वाचित भए । नयाँ शक्तिले राष्ट्रिय पार्टीको मान्यता पाउन सकेन ।
भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा साथ दिएका साथीहरू जोगाउन सकेनन् । पूर्वमाओवादी नेता देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, मुमाराम खनाल, खिमलाल देवकोटा, नवराज सुवेदी, रामकुमार शर्मा, रामरिझन यादव, कल्पना धमलालगायतले साथ दिए । तर, पछि धेरै माओवादीमै फर्किए ।
खनालसहितका नयाँ शक्ति छाड्ने नेताको निष्कर्ष थियो–बाबुरामबाट नयाँ वैकल्पिक शक्तिको निर्माण सम्भव छैन । अन्ततः उनीहरूको दाबी बाबुराम स्वयंले प्रमाणित गरे ।
नयाँ शक्ति बनाएपछि पनि बाबुराम अस्थिर नै देखिए । ‘नयाँ वैकल्पिक शक्ति बनाउँछु’ भन्ने बाबुरामको सैद्धान्तिक स्खलन त्यतिबेला देखियो, जब उनी माओवादी र एमालेबिच पार्टी एकता हुँदा ऐक्यबद्धता जनाउन पुगे । ०७४ असोज १७ गते एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै गर्दा नयाँ शक्ति पार्टीका संयोजकका रूपमा भट्टराई पनि हात उठाएर ऐक्यबद्धता जनाउन पुगे । तर, उनी त्यहाँ केही घण्टा पनि टिकेनन् । तर, भट्टराईले लगत्तै वाम गठबन्धन छाडे र कांग्रेससँग चुनावी सहकार्य गर्न पुगे । कांग्रेसको समर्थनपछि बाबुराम नयाँ शक्तिकै उम्मेदवार बनेर गोरखा–१ बाट निर्वाचित भए ।
दशरथ रंगशालाबाट निकै धुमधामका साथ सुरु गरेको नयाँ शक्ति पार्टी भने उनले तीन वर्ष पनि जोगाउन सकेनन् । ०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग नयाँ शक्ति विलय भयो । उक्त पार्टीमा पनि यादवसँग भट्टराईको सहकार्य लामो जम्न सकेन । उनले ०७९ साउन १२ मा नेपाल समाजवादी पार्टी गठन गरे । तर, यो पार्टी नाममा मात्र सीमित थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुनः सक्रिय देखिएका भट्टराईले पुराना दलहरूमाथि जनआक्रोस बढिरहेका बेला आफ्नो भूमिका बढाउन प्रयास गरेका छन् ।
नौ बाम घटकसँग गरेको पार्टी एकीकरणको सहमतिप्रति असन्तुष्ट भएर माओवादी केन्द्र छाडेका जनार्दन शर्मा, राम कार्की, सुदन किराँती र रास्वपा त्यागेका सन्तोष परियारसहित मिलाएर भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन ।’ जेनजी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको उनको भनाइ थियो ।
नयाँ दलमा आफू अभिभावकीय भूमिकामा रहने उनले प्रष्ट पारेका छन् । यसअघि नयाँ शक्ति, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीमा नेतृत्व गर्दा बाबुरामका लागि परिणममुखी हुन सकेको थिएन । न त उनले समकालीन राजनीतिमा आफ्नो औचित्य नै पुष्टि गर्न सके । अहिले नवगठित दल प्रगतिशील लोकतान्त्रिक पार्टीमा आफ्ना लागि अभिभावकीय भूमिकामा रोजेका छन् ।
तर, भट्टराईलाई नजिकबाट चिन्नेहरू भने उनको भनाइ र गराइमा संगति नदेखिने बताउँछन् । नयाँ शक्ति बनाउँदा साथ दिएका मुमाराम खनाल भट्टराई आफ्नै कुरामा नटिक्ने अन्तरविरोधी र अस्थिर स्वभाव भएका नेता भएको बताउँछन् । ‘उहाँ अब नेतृत्व हस्तान्तरण गरें पनि भन्नुहुन्छ, फेरि पार्टीमा आफैं निर्णायक बनेर सक्रियता देखाउनुहुन्छ,’ खनाल भन्छन्, ‘उहाँ एक थोक भन्नुहुन्छ, अर्कै थोक गर्नुहुन्छ । अहिले पार्टी छाडेका मान्छे एकै ठाउँ हुनुभएको छ । कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवाहबाट जम्मा हुनुभएका साथीहरू कसरी अगाडि बढ्नुहुन्छ त्यो भने अहिले नै भन्न हतारो हुन्छ ।’
माओवादी परित्याग गरिसकेका बाबुराम, माओवादी विचारधारा जोगाउन भन्दै प्रचण्डको साथ छाडेका जनार्दन र डेलिभरीको राजनीति हुनुपर्छ भन्ने सन्तोषको गठजोडमा बाबुराम कति समय अडिएलान् ? उनलाई आफ्नै विगतले राष्ट्रिय राजनीतिमा अस्थिर बनाएको छ । भट्टराईले २०५२ माघ २१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई ४० बुँदे मागको सूची दिएका थिए । राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जनसँग सम्बन्धित मागहरूमा उद्योग, व्यवसायमा विदेशी पुँजीको प्रभुत्व बन्द गर्ने, सन् १९५० को नेपाल–भारत सन्धिलगायत विभेदकारी सन्धिहरू खारेज र सामन्ती व्यवस्थाको नियन्त्रणमा रहेको जमिन जफत गरी भूमिहीनलाई वितरण गरिनुपर्ने लगायतका माग थिए । सरकारले माग सम्बोधन गरेन । उनी आफ्नो दलसँगै भूमिगत भए । नेकपा (माओवादी)को नेतृत्वमा सोही वर्ष फागुन १ देखि ‘जनयुद्ध’ घोषणा भयो । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग दशक लामो सशस्त्र द्वन्द्व सकियो । प्रचण्ड, बाबुरामसहित माओवादी नेताहरू शान्तिपूर्ण राजनीतिमा आए । खुला राजनीतिमा आएसँगै आफ्नो दलको नेतृत्वमा आउने चाहना उनको पूरा हुने भएन । सत्ताका लागि माओवादीले अन्य दलसँग गरेको साझोदारीप्रति उनी असहमत थिए । अध्यक्ष प्रचण्डसँगको वैचारिक मतभेद बारम्बार चर्चामा आइरह्यो । उनलाई पार्टीमा एकपटक प्रचण्डले निष्कासनको कारबाही पनि गरेका थिए । मतभेदमा सम्झौतापछि उनी फेरि पार्टीमा अडिए ।
२०६८ भदौ १२ मा भट्टराई नेपालको ३६औं प्रधानमन्त्री भएका थिए । एकीकृत नेकपा (माओवादी)बाट निर्वाचित उनलाई सरकारमा तत्कालीन पार्टीहरू मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), तमलोपा, तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीको समर्थन थियो । उनले २०६९ चैत १ सम्ममात्रै देशको नेतृत्व गर्न पाएका थिए । आफ्नो कार्यकालमा सडक विस्तारका केही महत्त्वाकांक्षी काम भने गर्न भ्याएका थिए । त्यसअघि २०६५ मा एक वर्ष अर्थमन्त्री पनि भएका थिए ।
त्यसो त नेपाली राष्ट्रिय राजनीतिमा आएका नेताहरूमध्ये भट्टराई उच्च शिक्षा हासिल गरेका व्यक्ति हुन् । उनले २०४२ मा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । आफूलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने पार्टी छाडेयता भट्टराई बेग्लाबेग्लै दल बनाउँदै एक्लिँदै हिँड्न रुचाउने देखिएका छन् । पछिल्लो नयाँ दलमा पनि उनी कति टिक्छन् भन्ने समयले नै देखाउनेछ ।