अमेरिकाको सान एन्टोनियोको सार्वजनिक पुस्तकालयमा ८२ वर्षपछि एउटा पुस्तक फिर्ता गरिएको छ । पुस्तकभित्र एउटा टिप्पणी पनि लेखिएको छ, हजुरआमाले अब यसको पैसा तिर्न सक्नुहुन्न ।
फिर्ता गरिएको पुस्तक फ्रान्सिस ब्रुस स्ट्रेनले लेखेका हुन् । उनी वैवाहिक तथा पारिवारिक समस्याका बारेमा सल्लाह दिने थेरापिस्ट थिए । पुस्तकको नाम हो, ‘योर चाइल्ड, हिज फ्यामिली एन्ड फ्रेन्ड्स’ । यो पुस्तक सन् १९४३ को जुलाईमा पुस्तकालयबाट लगिएको थियो ।
पुस्तक लगिएको ८२ वर्षपछि यो पुस्तक अघिल्लो महिना ओरेगनस्थित एक व्यक्तिले फिर्ता गरेको पुस्तकालयले जनाएको छ । ‘हालै मेरा बा बितेपछि उहाँले पोको पार्नुभएको केही बाकसहरू देखेँ,’ चिठ्ठीमा लेखेका छन्, ‘शायद उहाँले यो पुस्तक फिर्ता गर्न भ्याउनुभएन वा बिर्सिनुभयो कि भनेर फिर्ता गरेँ ।’
यो पुस्तकमा अभिभावकलाई आफ्ना बालबालिकाले व्यक्तिगत सम्बन्ध कसरी व्यवस्थित गर्ने भन्नेबारे सिकाउने उद्देश्यले लेखिएको थियो । यो पुस्तक जसले पुस्तकालय फर्काए, त्यो बेला उनका बुवाको उमेर ११ वर्षको मात्र थियो । पत्रमा लेखिएको छ, ‘यो पुस्तक मेरी हजुरआमा मारिया डेल सोकोरो आल्द्रेते फ्लोरेस (कोर्टेज) ले लग्नु भएको हुनुपर्छ । त्यो वर्ष उहाँ मेक्सिको सिटीमा अमेरिकी दूतावासमा काम गर्न जानुभएको थियो । सम्भवतः पुस्तकालयबाट पुस्तक लगेपछि जागिरको व्यस्तताले उहाँले फर्काउन बिर्सनुभएको पनि हुनसक्छ ।’
त्यसबेला यो पुस्तक निकै लोकप्रिय थियो । सिनसिनाटी इन्क्वायररले सन् १९४३ को जून महिनामा यसलाई ‘बालबालिकाको परिवार र बाहिरी संसारसँगको व्यक्तिगत सम्बन्धबारे पूर्ण मार्गदर्शक पुस्तक’ भनी टिप्पणी गरेको थियो । पुस्तकका बारेमा न्यूयोर्क टाइम्स पत्रिकाले लेखेको छ, ‘यो किताबमा भावुक नभई बुद्धिमानीपूर्ण, संवेदनशील रूपमा यौन शिक्षाबारे प्रस्तुति दिइएको पुस्तक हो । दुई सन्तानकी आमा यी लेखिकाले निकै सुन्दर प्रस्तुति दिएकी छन् ।’
पुस्तक फिर्ता गर्ने व्यक्तिले पत्रमा लेखेका छन्, ‘मैले किताब फिर्ता गरेको छु र पुस्तकालयले विलम्ब शुल्क नलिइयोस् भनी आग्रह गर्छु । यसको शुल्क अब हजुरआमाले तिर्न सक्नुहुन्न ।’
सन् २०२१ यता पुस्तकालयले विलम्ब शुलक हटाइएको जनाएको छ । पुस्तकको भित्री कभरमा ढिला गरी पुस्तक फिर्ता गरे दैनिक तीन सेन्ट जरिवाना गरिने चेतावनी लेखिएको छ । मुद्रास्फीति हिसाब नगर्दा पनि यो जरिवाना आज करिब ९०० अमेरिकी डलर पुग्ने देखिन्छ ।
अमेरिकी श्रम तथ्यांक ब्यूरोको इन्फ् लेशन क्यालकुलेटरअनुसार, १९४३ को जुलाईमा ३ सेन्ट आजको मूल्यमा ५६ सेन्ट हुन्छ । त्यस हिसाबले कुल जरिवाना १६ हजार डलरभन्दा बढी हुन्छ । पुस्तकालयले अझै पनि पुस्तकको अवस्था ‘राम्रो’ रहेको जनाएको छ । यो पुस्तक अगस्ट महिनाभरि शहरको केन्द्रीय पुस्तकालयमा प्रदर्शनीमा राखिने बताइएको छ । त्यसपछि, यो ‘फ्रेण्ड्स अफ सान एन्टोनियो पब्लिक लाइब्रेरी’लाई दान दिइनेछ भने पुस्तकालयलाई दान दिइने छ ।
अमेरिकामा यस्ता दुर्लभ घटनाका कथा बोकेका पुस्तकहरूलाई बढाबढमा किन्ने चलन छ । त्यसमाथि, ८२ वर्ष लामो समयपछि पुस्तक फिर्ता गर्नु लामो समय हो, तर विश्व कीर्तिमानी समय भने होइन । गिनिज वर्ल्ड रेकर्ड्सअनुसार सबैभन्दा ढिलो फिर्ता गरिएको पुस्तक ‘सिड्नी ससेक्स कलेज, क्याम्ब्रिज विश्वविद्यालय, बेलायतमा १९५६ मा फिर्ता गरिएको पुस्तक थियो । सो पुस्तक सन् १६६८ मा करिब २८८ वर्षपछि पुस्तक फिर्ता गरिएको थियो तर त्यसबेला कुनै जरिवाना तिराइएको थिएन ।