नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना गरिने ‘नाडा अटो शो २०२५’को मुख्य नारा ‘गो फर मोर’ दिइएको छ । शोमा चार पांग्रे रोबोट्स र डिपल इभिटिओल युभिए (उड्ने ट्याक्सी) मुख्य आकर्षणको रूपमा रहनेछन् ।
नाडाले अटो शोमार्फत नयाँ प्रविधि, विद्युतीय सवारी, स्मार्ट मोबिलिटी समाधान र व्यवसायिक अवसरको प्रस्तुति गर्ने लक्ष्य राखेको छ । नेपालमै बनेका टायर, ब्याट्री, लुब्रिकेन्टलगायत अटो पार्टस प्रदर्शनमा राखिनेछन् ।
विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य नाडाको छ । अवैध आयात रोक्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने माग गरिएको छ । अटो शोले बिक्री, रोजगारी र अर्थतन्त्र दुवै चलायमान गराउने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।
प्रदर्शनीबाट नेपाली अटोमोबाइल उद्योगमा नवप्रवर्तन र व्यापारिक सम्भावनालाई प्रवद्र्धन गर्नुका साथै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यहाँ अटो शोको तयारी, प्रमुख आकर्षण र यसले ल्याउने सम्भावित अवसरका बारेमा नाडा कार्यसमिति पदाधिकारीहरूको भनाइ समेटेका छौं ।
अर्थतन्त्र चलायमान हुन्छ
- सचिव, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
१७औं संस्करणको नाटा अटो शो २०२५ आजबाट सुरु हुँदैछ । हामीले यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छौं । अहिले बर्खायाम भएकाले दैनिक पानी परिरहेको हुँदा प्रदर्शनी स्थलहरूपमा पानी चुहिने समस्या नहोस् भनेर ‘वाटर प्रुफिङ’ गरेका छौं ।
भृकुटीमण्डप गेटबाट भित्र प्रवेश गर्ने बितिक्कै नै ‘वाटर प्रुफिङ’ गरेका छौं । भृकुटीमण्डप परिसरभित्र प्रवेश गरिसकेपछि नाडा शो हेर्न आउने अवलोकनकर्ता दर्शक तथा ग्राहकलाई पानी परेको बेलामा पनि कता गएर ओत लागौं भन्ने समस्या यसपटक नहुने गरि तयारी गरेका छौं ।
अटो शोको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रम सकिएपछि सर्वसाधारणका लागि टिकट खुल्ला गरिनेछ । साँझ ६.३० बजेसम्म अवलोकनकर्ताले टिकट काटेर प्रदर्शनी स्थलमा प्रवेश गर्न सक्नेछन् । साँझ ७ बजेसम्म अटो शोका सो रुमहरू खुल्नेछन् ।
२ लाख भन्दा बढी अवलोकनकर्ता आउने सम्भावना रहेको छ । तर, हाम्रो तयारी र भृकुटीमण्डपको क्षमतालाई आधार मान्दा १ लाख भन्दा बढी अवलोकनकर्ता आउने छन् । नाडा शोमा दुई पांग्रे चार पांगे सवारी साधन प्रदशर्नीमा राखिँदैछ । यसपटक सवारी साधनका साथै अटो पार्टस् (गाडीमा लाग्ने उपकरण–अटो कम्पोनेन्टस्) का स्टलहरू पनि राख्दैछौं । अहिले नेपालमा गाडीका धेरै पार्टस् बनिरहेका छन् ।
नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री लगायतका अटो पार्टस्को प्रदर्शनीका लागि पनि स्टलहरू राख्दैछौं । यी बाहेक पनि नेपालमा उत्पादन भएका पार्टस् पनि प्रदर्शनीमा राखिनेछ । यसपटक गार्डेन एरियामा पूर्णरूपमा अटो कम्पोनेन्ट्का स्टलहरू राखिनेछ । अटो कम्पोनेन्ट्सको अवलोकनपछि मात्रै प्रदर्शनी हुने मुख्य हलमा प्रवेश गर्न सकिने गरी स्टलहरू राख्दैछौं ।
मुख्य हलमा चार पांग्रे विद्युतीय गाडीहरू प्रदर्शनीका लागि राखिनेछ । त्यसपछि आउने लाइनमा हेरिटेज भेइकलहरूका स्टलहरू राखिनेछ । हेरिटेज स्टलपछि कर्मसियल भेइकलको सेक्सन सुरु हुनेछ । त्यसपछि भने दुई पांग्रे सवारी साधनको स्टलहरू सुरु हुनेछन् ।
दुई पांग्रेपछि क्याफेट एरिया हुनेछ र त्यहाँबाट बाहिर निस्कने निकाश द्वार हुनेछ । यसपटक प्रदर्शनीमा १९ वटा सवारी साधन लन्च हुँदैछन् । जसमा १४ वटा लाइट कमर्सियल भेइकल छन् । ५ वटा दुई पांग्रे सवारी साधन लन्च हुँदैछन् । प्रदर्शनीमा ६० वटा स्टल कम्पोनेन्ट्सको स्टलहरू राख्दैछौं । यी स्टलहरू ४० वटा कम्पनीले लिएका छन् । शोको मुख्य आकर्षण विद्युतीय फ्लाइङ कार (उड्ने कार) र चार पांग्रे रोबोर्टस् रहने छन् ।
प्रदर्शनीमा राखिने उड्ने कार काठमाडौं ल्याइसकेका छौं । फ्लाइङ ट्याक्सीमा पाइलट चाहिँदैन । २ जना बस्न मिल्छ । यसलाई ड्रोन जसरी नै उडाउन सकिन्छ । अटोमोबाइल्स क्षेत्रमा नयाँ प्रविधि के के आइरहेको छ ? के कस्ता परिवर्तनहरू भइरहेका छन् भन्ने देखाउनका लागि उड्ने कारलाई अटो शोमा प्रदर्शनीमा राख्न लागेका छौं ।
उड्ने कारलाई प्रदर्शनीमा देखाउनका लागि मात्रै राखिनेछ । यो उडाएर देखाउन सरकारको अनुमति लिनुपर्ने हुन्छ । यो उड्ने कार ३० दिनका लागि धरौटीमा ल्याइएको हो । प्रदर्शनी सकिएपछि फिर्ता हुनेछ ।
नेपाली बजारमा अटोमोबाइल्स क्षेत्रमा अहिले विद्युतीय गाडीको ट्रेण्ड छ । हाम्रो प्रसारण प्रणालीमा उपलब्ध सबै विद्युत स्वच्छ ऊर्जा भएकाले पनि विद्युतीय गाडीको बजार बढिरहेको छ । अटो शो हरेक वर्ष आयोजना गर्दा अटोमोबाइल्स क्षेत्रको प्रवर्धन हुने गरेको छ ।
प्रदर्शनीमा नै धेरै ग्राहक आएर बुझ्ने तथा विभिन्न अफर पाउने हुँदा गाडीको बिक्रीसँगै बुकिङ बढ्ने गरेको छ । यसले देशको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने गरेको छ ।
अटो शो पछि गाडीको बिक्री बढ्ने तथा बैंकमा कर्जा सुविधा लिएर गाडी खरिद गर्नेको संख्या बढ्ने र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।
सरकारले नीतिगत रूपमा सहयोग गर्नुपर्छ
- सहकोषाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
अटो शोमा प्रदर्शनीमा राखिएका दुई पांग्रे र चारपांग्रे सवारी साधन हेर्ने, बुझ्ने खरिद गर्ने तथा बुकिङ गर्ने अवसर पाउने छन् । सवारी साधनमा स्पेयर्स पार्टस्काबारेमा पनि जानकारी पाउने छन् । नेपालको परिवेशमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभइ अटोमोबाइल्स क्षेत्रलाई चलायमान बनाउने एउटा ठूलो मेला नै हो ।
प्रदर्शनमा आउने अवलोकनकर्ताले कुनै सवारी साधन खरिद गर्ने हो भने त्यसको बुकिङ नाडा अटो शोमा नै गर्न सक्नेछन् । विभिन्न ब्राण्डका गाडी आयातकर्ता कम्पनीले नाडा अटो शोको मौकामा विभिन्न मूल्यमा छुट तथा अफर पनि दिने गर्छन् । यो फाइदा ग्राहकले नाडा अटो शोमा पाउन सक्नेछन् । अटोमोबाइल्स प्रेमी, गाडी प्रेमी, प्रविधि प्रेमी सबै नाडा अटो शो अवलोकन गर्न आउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं ।
नाडा अटो शोमा सवारी खरिद तथा बुकिङका लागि मात्र नभइ गाडीका बारेमा बुझ्न तथा कम्पोनेन्टस्हरूका बारेमा बुझ्न आउन सक्नेछन् । त्यसकारण, नाडा अटो शो अटोमोबाइल क्षेत्रको सम्पूर्ण जानकारी एक स्थानमा पाउन सकिने स्थान पनि बन्न सक्नेछ भन्ने हामीले विश्वास लिएका छौं । दुई पांग्रे चार पांग्रे सवारी साधन खरिद गर्ने मन बनाएर आउने ग्राहकका लागि पनि धेरै कुरा बुझेर खरिदको निर्णय गर्न सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।
विश्वका लागि विद्युती सवारी नयाँ प्रविधि हो । नेपालको परिवेशमा विद्युतीय सवारी देशको विद्युतीय ऊर्जाको उपयोगबाट चल्ने हुँदा देशको इन्धन भन्ने छ । त्यही कारण पनि अहिले विद्युतीय सवारीको उपयोग नेपालमा बढेको छ । विश्वले पनि यसलाई नजिकबाट हेरिरहेको छ । सरकारले पनि अहिले आन्तरिक विद्युत खपत बढाउनका लागि विद्युतीय सवारी साधन प्रवद्र्धन गरिरहेको छ ।
त्यही कारण अहिले विद्युतीय सवारी साधनको बिक्री नेपालमा बढेको छ । नेपाली बिक्रेताहरूले समेत ट्रेण्डलाई पछ्याउँदै विद्युतीय सवारीलाई बढावा दिएका छन् । विद्युतीय सवारी साधनका चार्जिङ स्टेसनहरू पनि धेरै बनेका छन् । नेपालमा विद्युतीय सवारीको उपयोग बढेको देखेर विश्व नै चकित बनेको छ । सरकारले पनि अटोमोबाइल क्षेत्रलाई नीतिगतरूपमा सहयोग गरेको छ ।
चालू आर्थिक वर्षमा अटो मोबाइल्स क्षेत्रका लागि कर नबढाउनु पनि ठूलो सहयोग र विद्युतीय सवारी साधनको प्रवर्धनमा सहयोग गरेको भनेर हामीले बुझेका छौं । मौद्रिक नीति पनि अटो मोबाइल क्षेत्रलाई सहयोग पुग्ने गरी नै आएको छ ।
मौद्रिक नीतिमा भएको प्रावधानको सफल कार्यान्वयन हुन सक्यो भने देशको अर्थतन्त्रलाई चलायमान बनाउन पक्कै पनि सहयोग पुग्नेछ । अहिलेको वातावरणले अटोमोबाइल्स क्षेत्रको भविश्य उज्ववल देखाउँछ ।
व्यवस्थापन चुस्त पारेका छौ ...
- कार्यसमिति सदस्य, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
अटो शोमा मुख्य आकर्षण नै उड्ने कार र रोबर्टस् हुनेछन् । यसबाहेक पनि धेरै ब्राण्डका नयाँ गाडी पहिलो पटक नेपाली बजारमा लन्च हुँदैछन् । ग्राहकको आकर्षण तथा चासो धेरै भएकाले गर्दा हाम्रो प्रदर्शनीस्थल केही सानो हुने हो कि भन्ने लागेको छ ।
सरकारले नै प्रदर्शनीका लागि फराकिलो नयाँ ठाउँ तोकिदिनु पर्ने माग हामीले गर्दै आएका छौं । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । यसपटक सानै ठाउँ भए पनि ठूलोभन्दा ठूलो भीड नियन्त्रण हुने गरी नै अवलोकन गर्न सकिने व्यवस्था मिलाएका छौं । अटो शोको अवलोकनमा आउने महिलाका लागि पनि विशेष व्यवस्था गरेका छौं ।
भृकुटीमण्डप सबैका लागि सहज पहुँच भएको स्थान भएकाले हरेक प्रदर्शनी यही आयोजना हुँदै आएका छन् । तर, अवलोकनकर्ताको चाप हरेक वर्ष बढिरहेकाले यो ठाउँ अलि साँघुरो हुँदै गइरहेको छ । तर पनि यही स्थानलाई सही ढंगले व्यवस्थापन गरेर भूमिगत पार्किङ स्थल बनाएर जाने हो भने सही ढंगले व्यवस्थापन गर्न सकिन्छ । यहाँ आवश्यक संरचना विकास गरेर व्यवस्थित गर्ने हो भने सबै प्रकारका ठूला शोहरू यहाँ गर्न सकिन्छ ।
यहाँ पार्किङको केही असुविधा छ तर, यसपटक राइड सेयरिङ एपसँग सहकार्य गरेर आफ्नो सवारी साधनबाट नभइ राइड सेयरिङ एपबाट बुकिङ गरेर आउन सकिनेछ । हाम्रा पदाधिकारी पनि आफ्नो गाडी लिएर आउनुको सट्टा याङ्गोको ट्याक्सी चढेर आउने भन्ने कुरा छ ।
हामीले यसपटक पनि मानव जीवन रक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम गर्दैछौं । बुधबार र बिहीबार रक्तदान कार्यक्रम हुने तय भइसकेको छ । बाँकी दिनमा पनि रक्तदान कार्यक्रम गर्ने सम्बन्धमा छलफल भइरहेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक नियम पालना गर्न प्रवर्धन गर्न कार्यक्रम गरिनेछ । ट्राफिक प्रहरीलाई सम्मान गर्ने कार्यक्रम पनि हुनेछ ।
नलेज सेयरिङ पनि हुँदैछ
- संयोजक, नाडा अटो डायलग तथा वाताबरण कमिटी
नाडा अटो शोमा यसपटक नलेज सेयरिङ कार्यक्रम पनि हुँदैछ । सवारी साधनको अवलोकन गर्ने मात्र नभइ भविष्यको प्रविधिका बारेमा पनि छलफल हुनेछ । महत्वपूर्ण कुरा नीतिगत विषयमा पनि छलफल हुँदैछ ।
सरकारको प्रतिनिधिलाई राखेर अटोमोबाइल्स क्षेत्रका लागि राज्यले सही ढंगले नीतिगत रुपमा सहयोग गरिरहेको छ की छैन भन्नेबारेमा छलफल गर्नेछौं । नलेज सेयरिङ कार्यक्रममा सरकारका विभिन्न निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
पहिलो दिनको छलफलमा इन्टरनेशनल डेलिगेट्स् र नाडाका पदाधिकारी बसेर नेपाल र विदेशसँगको व्यापार कस्तो चलिरहेको छ भन्ने सन्र्दभमा छलफल हुनेछ ।
दोस्रो दिन अटोमोबाइल्स क्षेत्रको भविष्यका बारेमा तथा विद्युतीय सवारीबारे छलफल हुनेछ ।
यस्तै, बिहीबार २ वटा नलेज रेयरिङ कार्यक्रम छन् । एउटा हेबी इक्वीपमेन्ट व्यवसायी महासंघ र निर्माण व्यवसायी महासंघसँग मिलेर गरिरहेका छौं । यो सेसनमा सडक पूर्वाधारका बारेमा छलफल हुनेछ ।
अर्को, बैंक, अटोमोबाइल, नेपाल राष्ट्र बैंकको नीति, अर्थमन्त्रालयको नीतिका सम्बन्धमा छलफल हुनेछ । त्यसमा अर्थमन्त्रालय, भन्सार विभाग, यातायात व्यवस्था विभागका प्रतिनिधि, बैंकर्स एसोसिएसन र व्यवसायी सहभागी हुनेछन् ।
शुक्रबार सार्वजनिक यातायातका सम्बन्धमा छलफल हुनेछ । यातायात व्यवसायी महासंघ, साझा यातायात, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिले छलफल गर्नेछन् ।
शनिबारका लागि ‘मेड इन नेपाल’ सत्र छ । त्यसमा नेपाली उत्पादन प्रयोग र बजारको अवस्थाबारे विस्त्रित बहस हुनेछ ।
अवैध माध्यमबाट आउने स्पेयरपार्टस रोक्न पहल गर्छौं
- केन्द्रीय उपाध्याक्ष तथा संयोजक, मधेश प्रदेश नाडा
काठमाडौ उपत्यका बाहिर पनि अटोमोबाइल्स क्षेत्रको विकास राम्रो भइरहेको छ । मधेश प्रदेशमा भारतीय सीमासँग जोडिएका जिल्लाका व्यापारीहरूको ठूलो समस्या ‘ग्रे च्यानल’बाट आयात भइरहेका स्पेयरपार्टसका कारण छ ।
सीमा क्षेत्रको जाँच सही ढंगले नहुँदा गैर कानूनीरूपमा भित्रने सामाग्रीको परिमाण बढिरहेको छ । सवारी साधनको पार्टस् चोरी पैठारी भएर आउने हुँदा व्यापारिकलाई मर्का परिरहेको छ । अटोमोबाइल्स क्षेत्रका लागि चर्को भन्सार शुल्क र मूल्य अभिवृद्धि कर लगाइएको छ ।
यस्तो अवस्थामा चोरी पैठारीकै पार्टस्ले बजार लिइरहेको हुँदा ठूलो समस्या छ । हामीले यस सम्बन्धमा सम्बन्धित निकायमा बारम्बार जानकारी गराएका छौ तर, सुनुवाइ भएको छैन ।
लुब्रिकेन्ट आयात रोक्न आवाज उठाउँछौं
- सभापति, स्पेयर्स पार्टस् समिति, नाडा
सवारी साधनका लागि नेपालमै लुब्रिकेन्ट उत्पादन हुन थालिसकेको छ । हामी लुब्रिकेन्ट उत्पादनमा आत्मनिर्भर नै भइसकेका छौं । लुब्रिकेन्ट उत्पादन गर्ने उद्योगहरू एक दर्जन बढी छन् । यति हुँदाहुँदै पनि लुब्रिकेन्ट आयात भइरहेको छ । करिब ७ वटा ब्याट्री उद्योग पनि नेपालमा सञ्चालनमा आइसकेका छन् ।
विराटनगर र चितवनमा गरी टायर उत्पादन गर्ने उद्योग २ वटा छन् । स्पेयर्स पार्टस्मा पनि ब्रेक सु, क्लज प्लेट यहीं उत्पादन हुन थालिसकेको छ । हेल्मेट नेपालमै बन्न थालिसकेको छ ।
अहिले आयात गरेर बिक्री गर्ने आयातकर्ताहरू नेपालकै उत्पादन बिक्री गर्न लागिरहेका छन् । त्यसकारण, अबको २ देखि ३ वर्षमा दुई पांग्रे र चार पांग्रे सवारी साधनका स्पेयर्स पार्टस् सबै यहीं पाइन्छ । धेरै भन्दा धेरै नेपाली उत्पादनको उपयोग गर्ने नीति ल्याएर सरकारले पनि सहयोग गर्नुपर्छ ।