नेभिगेशन
सूचना प्रविधि

नाडा अटो शोमा रोबोट र उड्ने कार हेर्नेको भीड

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो २०२५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेपछि यो वर्षको नाडा अटो शो औपचारिक रूपमा सुरु भएको हो ।

‘गो फर मोर’ नारा तय गरिएको शोको पहिलो दिन नै अटो शोमा अवलोकनकर्ताको भीड उर्लिएको छ । विशेषगरी अटो शोकै मुख्य आकर्षणका रूपमा रहेको उड्ने कार र युनिट्री रोबोट्स हेर्नेको भीड लागेको छ । डिपलको उड्ने कार मोरङ अटो वक्र्स (एमएडब्ल्यू) ले चीनबाट अटो शोमा प्रदर्शनका लागि ल्याएको हो ।

अटो शोमा चार पांग्रे, तीन पांग्रे, दुई पांग्रे, हलुका व्यवसायिक सवारी साधन हेर्न तथा बुझ्न आउनेहरूको भीड देखिएको छ । साथै स्वदेशमै उत्पादित लुव्रिकेन्ट, हेलमेट, स्पेयर्स पार्टस् गरी ७५ वटा भन्दा बढी स्टल राखिएका छन् । सवारी साधनका मात्रै ३० वटा स्टल छन् ।

सक्षम युवाका लागि म प्रधानमन्त्री पद त्याग्न पनि तयार : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अटोमोबाइल्सको भविष्य उज्वल रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को मंगलबार उद्घाटन गर्दै ओलीले सो बताएका हुन् ।

अबको युग प्रविधिको युग भएकाले नेपालले पनि यसमा फड्को मारिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले नेपालको अटो मोबाइल्स क्षेत्रलाई युवापिढीले हाँकिरहेको बताउँदै नाडाको नेतृत्वमा पनि युवा हुनुले यो क्षेत्रले अझै प्रगति गर्ने आशा व्यक्त गरे ।

अब पेट्रोलियम सवारीभन्दा विद्युतीय सवारी तथा ग्रीन हाइड्रोजनबाट चल्ने सवारीको प्रवर्द्धनमा लाग्नुपर्ने प्रधानमन्त्रीले बताए । उनले अटो मोबाइल्स क्षेत्रको प्रवद्र्धन गर्न सरकारले नीतिगत सहयोग गरिरहेको बताए ।

‘चालू आर्थिक वर्षको बजेटले पनि अटोमोबाइल्स क्षेत्रलाई सम्बोधन गरेको छ,’ उनले भने, ‘मौद्रिक नीति पनि अटो क्षेत्रमैत्री आएको छ । त्यसकारण पनि अब व्यावसायीले निरास हुनुपर्ने आवश्यकता छैन ।’

उनले अहिले गाडी तथा तिनको पाटपूर्जा आयात गरेर बिक्री गर्ने कार्य भइरहे पनि भविष्यमा देशभित्रै फलाम तथा स्टिल उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए । सरकारले स्टार्टअप, इनोभेसन र उत्पादनलाई सधैं प्रोत्साहन गर्दै आएको बताउँदै उनले युवालाई जिम्मेवारी दिएर अगाडि बढाउनुपर्ने बताए ।

‘मलाई पनि प्रधानमन्त्रीको पद ओगटेर बसिरहन मन छैन,’ उनले भने, ‘कोही नेतृत्व लिन आउँछ भने सक्षम युवाका लागि म प्रधानमन्त्री पद त्याग्न पनि तयार छु।’ उनले सवारी साधनको संख्या थपिँदै जाँदा पूर्वाधार विकास र विस्तार कार्यलाई प्राथमिकतामा राखेर सडक पूर्वाधार पनि राम्रो हुँदै जाने उनको भनाइ छ ।

नेपाली युवामा प्रविधिप्रतिको चेतना बढ्दै गएकाले अहिले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि मोटरसाइकल बनाउन थालिसकेको र यो देशकै लागि गर्वको कुरा भएको पनि उनले बताए । 

नाडाका अध्यक्ष करण चौधरीले देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएकाले यो जनशक्तिलाई रोक्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले पलायन भइरहेको जनशक्तिलाई रोक्न नाडाले सीप विकास गरी रोजगारीको अवसर दिने कार्यक्रमका लागि श्रम मन्त्रालयसँग सम्झौता भइसकेको बताए ।

नाडा अटो शो सवारी – साधनको प्रदर्शनीमात्र नभई व्यवसायिक थलो भएको पनि चौधरीले बताए । सवारी साधनको कुल बिक्रीमध्ये ४० प्रतिशत नाडा अटो शोबाट नै बिक्री हुने गरेको उनको भनाइ छ । सवारी–साधनको एसेम्बलिङका लागि आवश्यक स्पेयर पार्टस नेपालमै उत्पादन भइरहेको बताउँदै उनले अटो शोमा ‘मेड इन नेपाल पेभिलियन’ पनि राखिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्