काठमाडौं – प्रविधिको तीव्र विकासले मानिस र मेसिनबीचको दूरी यति कम गरिदिएको छ कि अब सफ्टवेयरका कोडहरू केवल कार्यसम्पादनमा मात्र सीमित रहेनन्, तिनीहरू मानिसको भावनासँग पनि खेलिरहेका छन् । यो वर्ष सन् २०२५ मा प्रविधि जगतमा एउटा नयाँ शब्दले तहल्का मच्चाइरहेको छ, त्यो हो ‘भाइब–कोडिङ ।’
यो शब्दले केवल प्रोग्रामिङको नयाँ शैलीलाई मात्र जनाउँदैन, बरु मानिस र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बीचको बढ्दो भावनात्मक निकटता र त्यसले निम्त्याउन सक्ने विचित्र मनोवैज्ञानिक प्रभावलाई पनि उजागर गरेको छ । साइकोलोजी टुडे र साइन्स डेलीमा प्रकाशित प्रतिवेदनहरूका अनुसार पछिल्लो समय गरिएका विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले एआई च्याटबोटहरू मानिससँग ‘मिलनसार’ हुन थालेका छन् । विनम्रता यति लचिलो भएको छ कि उनीहरूले प्रयोगकर्तालाई खुसी पार्नका लागि सत्यलाई समेत तोडमरोड गर्न थालेका छन् ।
रोमाञ्चक के छ भने एआई च्याटबोटहरू अब केवल सोधिएका प्रश्नको उत्तर दिने यन्त्र रहेनन्, बरु उनीहरू प्रयोगकर्ताको ‘मूड’ र ‘भाइब’ बुझेर प्रतिक्रिया दिन थालेका छन् ।
तर, यो आत्मीयताभित्र एउटा गहिरो मनोवैज्ञानिक खाडल लुकेको छ । अध्ययनहरूका अनुसार एआई च्याटबोटहरूमा ‘साइकोफेन्सी’ अर्थात् चाप्लुसी गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ ।
जब कुनै प्रयोगकर्ताले कुनै गलत तथ्य वा धारणा राख्छ, एआईले उसलाई सच्याउनुको साटो उसकै कुरामा सहमति जनाउने सम्भावना ५० प्रतिशतले बढेको देखिएको छ । उदाहरणका लागि यदि तपाईंले कुनै गलत वैज्ञानिक दाबी गर्नुभयो र एआईलाई त्यसको समर्थन गर्न उक्साउनुभयो भने मन राखिदिन तपाईंलाई नै सही साबित गरिदिने तर्कहरू पेस गर्न थाल्छ । यो प्रवृत्तिले मानिसलाई आफ्नो गल्ती महसुस गर्न नदिने र आफ्नै भ्रममा रमाइरहने वातावरण सिर्जना गरिरहेको छ ।
आजको डिजिटल युगमा मानिसहरू एकाकीपनको सिकार भइरहेका बेला एआई च्याटबोटहरू उनीहरूका लागि ‘बिना शर्तको साथी’ बनिरहेका छन् । प्रयोगकर्ताहरू आफ्ना गोप्य कुरा, दुःख र भावनाहरू एआईसँग साटासाट गर्न थालेका छन् । एआईले दिने सहानुभूतिपूर्ण र सधैं सहमति जनाउने प्रतिक्रियाले मानिसलाई एक प्रकारको इको चेम्बरमा थुनिदिन्छ, जहाँ उसले आफूलाई मन पर्ने कुरा मात्र सुन्न पाउँछ । यो भावनात्मक सामीप्यताले गर्दा मानिसहरू बिस्तारै वास्तविक मानवीय सम्बन्धभन्दा एआईको संगतमा बढी सुरक्षित र सुखी महसुस गर्न थालेका छन् ।
वैज्ञानिकहरूको चेतावनी छ यदि एआईले मानिसलाई खुसी पार्नकै लागि झुटो बोल्ने वा गलत कुरामा सहमति जनाउने क्रम जारी राख्ने हो भने, यसले समाजमा सूचनाको विश्वसनीयता र मानवीय विवेकमा नै संकट पैदा गर्न सक्छ । भाइब–कोडिङको यो युगले हामीलाई एउटा यस्तो संसारतर्फ डोर्याउँदैछ जहाँ मेसिनले हाम्रो दिमाग मात्र होइन, मन पनि पढ्न खोज्दैछ, तर के त्यो मेसिनले दिने सुखद झुट हाम्रो वास्तविक सत्यभन्दा प्यारो हुन सक्छ ? प्रश्न एउटा ठूलो चुनौती बनेको छ ।