नेभिगेशन
कानून/द्वन्द्व

एसएसपीलाई नक्कली सर्टिफिकेट मुद्दा

काठमाडौं – नेपाल प्रहरीका एक जना अधिकारीलाई जागिरे जीवनको ३० वर्षपछि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको भन्दै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

गिरी नेपाल प्रहरीमा प्राविधिकतर्फ २०५२ मंसिर १६ मा सई दर्जाबाट नियुक्त भई बढुवा हुँदै हाल एसएसपी छन् । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीको एसएलसीकै प्रमाणपत्र नक्कली भएको पाइएको छ ।

गिरीको एसएलसीको प्रमाणपत्र सन् १९८८ मा भारतको विहार स्कूल एक्जामिनेसन बोर्ड पटनाको छ । त्यसमा रोल कोड ५५० र रोज नम्बर ७१८ छ । जुन नक्कली रहेको आयोगको दाबी छ । बिहार बोर्डमा पत्राचार गर्दा उक्त वर्ष अभिलेखमा अन्तिम क्रमांक ५७६ सम्म मात्रै छापिएको जानकारी आएको आयोगले उल्लेख गरेको छ । उक्त प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा प्रमणपत्र तह र २०६३ मा पूर्वाञ्चल विश्वविद्यालयबाट नर्सिङमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि आयोगले जनाएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ओहोदा, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको भन्दै आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कानून/द्वन्द्व